संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।
त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति रह्याे । पशुपतिको बागमती किनार क्षेत्र भिडले खचाखच थियो । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको थियो ।
नेम्वाङको गत मंगलबार निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

एक दिन एमाले केन्द्रीय कार्यालय च्यासलमा र अर्को एक दिन बालुवाटारस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखेपछि बिहीबार नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाट पुर्याइएको थियो । बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसार प्रक्रिया पूरा गरेपछि नेम्वाङको शवयात्रा सुरु भएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो ।
शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली संलग्न थियो । एमाले पार्टीका कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारण पनि शवयात्रामा सहभागी थिए । नेम्वाङको पार्थिव शरीरलाई आर्यघाट पुर्याएर फूलले सजाइएको चितामा राखिएको थियो ।

नेम्वाङको अन्तिम बिदाइमा सहभागी हुन सर्वसाधारण हातमा फूल लिएर लामबद्ध भएका थिए । अन्तिम बिदाइको दृष्य क्यामरामा कैद गर्न चाहनेहरु र समाचार संकलन गर्ने पत्रकारहरु पनि उल्लेख्य संख्यामा पशुपतिमा पुगेका थिए ।
विशेष रुपले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखेपछि सुरुमा परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । त्यसपछि अन्य विशिष्ट व्यक्ति, र सर्वसाधारणले पुष्पगुच्छा चढाएर श्रद्धा व्यक्त गरेका थिए ।



सम्बन्धित खबर
नेपाल फर्किनेलाई स्वागत भइहाल्छ, अरू देशको नागरिक भइसकेकालाई नागरिकता दिन सकिँदैन: देउवा
जेलबाट रवि लामिछानेले कार्यकर्तालाई के पठाए सन्देश ? (पूर्णपाठ)
महामन्त्रीमा मुकुल ढकाल सार्वजनिक भएपछि रास्वपाले गर्यो जिम्मेवारी हेरफेर
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
आजको मौसम पूर्वानुमान
शीर्ष तीन दलका नेताको बैठकमा के भयो छलफल ?
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ