संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]

असुरक्षा महसुस

संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]

इन्स्पेक्टर मदन श्रेष्ठले भीडमा पुगेर अपशब्द बोल्दै भने - 'डाक्टरलाई साफ चुटेर आएँ, सबलाई ढुटो बनाएर रगतै रगत बनाएर आएँ ।'

Madan Shrestha

पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर डाक्टरमाथि कुटपिट हुँदा अस्पताल सोमबार रातिसम्मै अशान्त रह्यो ।

लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्त पोखरा ५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङले चिकित्सक अनिल शाहमाथि कुटपिट गरे । चिकित्सकका अनुसार डा. शाहले ‘होहल्ला नगरिदिनुस्, अरु बिरामीलाई डिस्टर्व हुन्छ’ भन्नासाथ गुरुङले उनीमाथि प्रहार गर्न सुरु गरेका थिए । तर, मृतक पक्ष भने यस कुरा मान्न तयार छैनन् ।

कुटपिट भएपछि प्रहरी बोलाइयो । प्रहरीले कुटपिट गर्ने गुरुङलाई नियन्त्रणमा लिए । गुरुङले प्रहरीकै बीचबाट सबैलाई पालैसँग फोन गर्दै केटाहरुको ठूलो समूह बोलाएको मनिपालमा अध्ययनरत एक विद्यार्थीले गण्डकन्यूजलाई बताए । ‘डाक्टरमाथि कुटपिट भएपछि हामीले सुरक्षाका लागि प्रहरी बोलाएका हौँ । उहाँहरु आउनुभयो । र, कुट्ने व्यक्तिलाई उता कोठामा राख्नुभयो । मोबाइल नियन्त्रणमा लिनुपर्ने थियो तर लिइएन । प्रहरीकै अगाडि सबैलाई बोलायो । अनि, ठूलो समूह आएर अस्पतालमाथि तोडफोड गरेको हो ।’ ति विद्यार्थीले भने ।

राति अबेरसम्मै मृतकका आफन्त र उनको समर्थनमा पुगेका युवाहरुको ठूलो भीड अस्पतालमा थियो ।  चिकित्सकहरुले भने डाक्टरमाथि हातपात गर्नेमाथि मुद्दा चलाउनुपर्ने माग राख्दै दबाब दिइरहेका थिए । एकातिर आफन्त र शुभचिन्तकको भीड मान्छे गुमाएका कारण आक्रोसित हुने नै भए । अर्कोतिर चिकित्सकले पनि नारा लगाउन थालेपछि प्रहरीले चिकित्सकहरुमाथि लाठी चार्ज गर्‍यो ।

दिउँसोदेखि नै जिल्ला प्रशासनको समन्वयमा अस्पताल व्यवस्थापन, पीडित परिवार र चिकित्सकबीच वार्ता बसिरहेको भए पनि टुंगो लाग्न सकेको थिएन । प्रहरी पनि अन्ततः बल प्रयाेग गर्ने मनसायमा पुगे ।

ती विद्यार्थीले युवाहरुको समूह हतियारसहित आएको  बताउँछन् । युवाको समूहले होहल्ला गर्दै सामानहरु फुटाउने, हेल्मेटले हान्ने, सीसा फोड्न थाले । मणिपालमा अध्ययनरत इन्टर्न विद्यार्थीहरु, कर्मचारीहरुले पनि माथिबाट पानीको बोत्तल मात्र फालेको उनले दाबी गरे । नर्स, चिकित्सकहरु निकै अतालिएका थिए । प्रहरीले वार्ड वार्डमै पुगेर चेकजाँच गरिरहेका डाक्टरमाथि समेत लाठीचार्ज गरेको डाक्टर पक्षको दाबी छ ।

प्रहरीले डाक्टर दिनेश कुमार बिकलाई कुटपिट गरेर नियन्त्रणमा लिएपछि चिकित्सकहरु झनै आन्दोलित भएका हुन् । डाक्टरको संरक्षणका लागि पुगेको प्रहरीले नै उल्टै डाक्टर कुटेपछि झनै माहौल बिग्रिएको थियो । अस्पतालमा कांग्रेसनिकट नेविसंघ र तरुण दलमा आवद्ध युवाहरू मृतकको तर्फबाट आन्दोलन गर्न पुगेका थिए । दिउँसो २ बजेदेखि सुरु भएको नाराबाजी र आन्दोलन राति ९ बजेसम्म चलेको थियो ।

प्रहरी निरीक्षकले नै डाक्टर कुटेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ । इन्स्पेक्टर मदन श्रेष्ठले आक्रोशित भीडसामु गएर अपशब्द बोल्दै डाक्टरमाथि कुटपिट गरेको कुरा बडो शानले सुनाएका छन् । सुरक्षा दिन पुगेको प्रहरीले नै अपशब्द बोल्दै डाक्टरलाई रगताम्य हुने गरी चुटेको बताउँदा चिकित्सकहरुले असुरक्षाको महसुस गरेको बताइरहेका छन् ।

इन्स्पेक्टर श्रेष्ठले यहाँ उल्लेख गर्नै नमिल्ने अपशब्द प्रयोग गर्दै आक्रोशित भीडमा गएर भनेका छन् –डाक्टरलाई साफ चुटेर आएँ, सबलाई ढुटो बनाएर रगतै रगत बनाएर आएँ । त्यसपछि भीडबाट ताली बज्छ । खै भिडियो हेरौं भनेर भन्छन् । इन्स्पेक्टर श्रेष्ठले ल अब हल्ला नगर्नुस्, आनन्दले बस्नुस् है तपाईंहरुलाई गाली गरेको छु मैले ? भनेर बाहिरिन्छन् ।

प्रहरीको यही रबैयाका कारण हो आज डाक्टरले दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने माग प्रमुखताका साथ उठान गरेको पनि हो । हामीसँग सम्पर्कमा आएका विद्यार्थीले पनि आज अस्पताल जाने अवस्थामा आफूहरु नरहेको बताए ।

‘हिजो रातिसम्मै आतंक मच्चियो । संरक्षण गर्ने प्रहरी नै पीडक पक्षतिर लागेर डाक्टरमाथि जाइलागे । आज त पढाइ पनि भएन । हामी पनि गएनौँ । केही होस्टलमै छन् । हामी फुलबारीमा कोठा लिएर बस्छौँ । खाना खान होटलसम्म पनि निस्कन सकेका छैनौँ । निकै अशान्ति र भयको वातावरणमा छौँ ।’ ती विद्यार्थीले भने ।

बिरामीको अप्रेसन गरिएको जानकारी नै दिइएन, बिरामी भेट्न पनि दिइएन — आफन्त

बिरामीका आफन्तले भने चिकित्सकबाट आफूहरुलाई अभद्र व्यवहार भएको बताएका छन् । उपचार गर्न लगेको बिरामी भित्र लगेको केही समयपछि नै मृत्यु भइसकेको जानकारी चिकित्सकले दिएपछि आफन्त आक्रोशित बनेका थिए । ‘केही सोधपुछ गर्न लाग्दा उल्टै डाक्टरहरु आएर घेर्न थाल्नुभयो,’ एक आफन्तले भने, ‘हातमा हतियार जस्ता सामान लिएर हामीलाई नै आक्रमण गर्न लाग्नुभयो ।’

अस्पतालमा उपचार सुरु गर्दा पनि समस्या के हो भनेर नभनिदिएको र सल्लाह नगरेको आफन्तको गुनासो छ । अप्रेसन गरिएको जानकारी नै आफूहरुले नपाएको उनीहरूले बताएका छन् । ‘एकपटक भेट्न पनि दिइएन,’ एक आफन्तले भने, ‘के के भयो भनेर बुझ्न जाँदा महिलामाथि नै डाक्टरबाट उल्टै अभद्र व्यवहार भयो ।’

तनाव उत्पन्न भएपछि जम्मा भएको भिडसँग चिकित्सकहरुको समूह आमनेसामने पनि भएको थियो । भुइँतलामा जम्मा भएको आफन्त र आक्रोशितको भिडलाई माथिल्लो तलाबाट चिकित्सक समूहबाट बोतल प्रहार गरेका थिए । शान्ति सुरक्षाका लागि खटिएका प्रहरीहरुलाई पनि उनीहरुले ‘हामीलाई तपाईहरुको सुरक्षा चाहिँदैन भन्दै च्याँठ्ठिएका थिए । हाम्रो मणिपालबाट तिनलाई निकाल्नोस् भन्दै अस्पतालका आवासीय र इन्टर्न चिकित्सकहरुले प्रहरीलाई थर्काएका पनि थिए ।

आफन्तहरुले चिकित्सकमाथि पनि छानबिन हुनुपर्ने माग राखेका छन् । ‘कुनुकन औषधि दिइएको थियो, अप्रेसन गर्दा किन जानकारी गराइएन, के उपचार गरिएको हो, छानबिनबाट खुल्नुपर्छ,’ उनीहरुले भनेका छन् ।

प्रहरीले पक्राउ गरेका डा. बिक रिहा

जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरीले नियन्त्रणमा लिएका डा. दिनेश कुमार बिकलाई रिहा गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.मिन बहादुर गुरुङको रोहबरमा डा. गिरीधारी शर्माको जिम्मामा डाक्टर विकलाई रिहा गरिएको प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार बिकले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षा संवेदनशीलतालाई मनन गरी चिकित्सक पक्षबाट होहल्ला, नाराबाजीमा संलग्न फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेशकुमार बिकलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमार्फत प्रहरीले जनाएको छ।

यद्यपी चिकित्सकलाई कुटपिटमा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका मृतक परिवार पक्षका विनय गुरुङमाथि भने अनुसन्धान जारी रहेको कास्की प्रहरीले बताएको छ ।

गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ ।

गण्डकीभरका स्वास्थ्यसेवा प्रभावित

आजदेखि गण्डकीभरका सबै अस्पतालमा भर्ना भएका बिरामी र ईमर्जेन्सीबाहेक सबै सेवा ठप्प छन् । नेपाल चिकित्सक संघ, गण्डकीले ३ बुँदे माग अघि सार्दै उक्त माग पूरा नभएसम्म ईमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् ।

नेपाल चिकित्सक संघ, गण्डकीका कार्यवाहक अध्यक्ष डा. सुनिल पनेरु र सचिव डा. सुशिल तिमल्सिनाले विज्ञप्ती जारी गर्दै ३ बुँदे माग पूरा नहुन्जेल ईमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्न बाध्य भएको बताएका छन् ।

मणिपालमा चिकित्सकमाथि हमलामा प्रहरी नै संलग्न भएकाले दोषी प्रहरीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने र कारबाही गरिएको लिखित जानकारी दिन माग गरिएको छ ।

यस्तै, दोषीहरुलाई गरिएको कारबाही सम्बन्धी जानकारी नेपाल सरकारको छाप सहित सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराउनुपर्ने साथै सार्वजनिक सञ्चार माध्यमद्वारा सम्पूर्ण जानकारी गराउनुपर्ने माग रहेको छ ।

एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), गण्डकीले पनि चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोडको घटनामा बिरोध जनाउँदै विज्ञप्ती जारी गरेको छ । (अफिन), गण्डकी अध्यक्ष डा. गिरधारी शर्मा र सचिव ऋषि खतिवडाद्वारा जारी विज्ञप्ति अनुसार ३ बुँदे मागमा पहिलो बुँदामा कुटपिट र अस्पताल चोडफोडमा उत्रने दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कारबाही गर्नुपर्ने रहेको छ ।

मणिपालका सम्पूर्ण आवासीय चिकित्सक तथा इन्टर्नहरुले पनि विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नभएसम्म काममा नफर्कने बताएका छन् ।

मृतक दुराको शव अस्पतालमा नै छ । दुवै पक्षबीच सहमति नजुट्दा उनको शव अस्पतालबाट निकालिएको छैन ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको रोहबरमा मंगलबार मृतकका आफन्त, चिकित्सक र अस्पताल प्रशासनबीच वार्ता भएको थियो । अस्पतालको सेवालाई निरन्तरता दिने र छानबिन गर्नुपर्ने देखिए गर्ने सहमति जुटेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । थप छलफल र वार्ताको वातावरण बनाउने जिम्मा कास्की प्रहरीलाई दिइएको छ । जिल्ला प्रशासनले अस्पताल प्रशासन र मृतकका आफन्तलाई नै छलफलमा जुट्न भनेको छ ।

हिजो मनिपाल अस्पतालमा चिकित्सक डा. अनिल शाहमाथि पोखरा ५ मालेपाटनका विनय गुरुङले कुटेपछि ठूलो भीड जम्मा पारी अस्पताल तोडफोड गरियो । अस्ति लमजुङ अस्पतालमा ड्यूटीमा रहेका डा. सन्दीप अधिकारीलाई बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका थिए ।

पछिल्लो समय अस्पतालमा डाक्टरमाथि कुटपिट तथा हातपातको घटना सार्वजनिक भइरहेका छन् । दुई साता अघि हेटौंडामा दुई चिकित्सक कुटिएपछि स्वास्थ्यकर्मी आन्दोलिन बनेका थिए । गत साता पनि कञ्चनपुरका स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो । स्वास्थ्य केन्द्रका अहेबमाथि मध्यराति ड्युटीमा खटिएको बेला हातपात भएको हो।

सम्बन्धित समाचारः

मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते

माओवादी स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले दिए राजीनामा

पोखरामा डाक्टर कुटिएको बिरोधमा माइतीघर मण्डलामा चिकित्सकहरूको विरोध प्रदर्शन

पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात

लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा

[अद्यावधिक गरिएको]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ