इजरायलमा १० नेपाली मारिएको पुष्टि, एक जना बेपत्ता

इजरायलमा १० नेपाली मारिएको पुष्टि, एक जना बेपत्ता

३ घाइतेको उपचार जारी, एक डिस्चार्ज

hamas-war_israel

Photo :

प्यालेस्टाइनको कट्टरपन्थी इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ। दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी मृत्यु हुनेमा सबै पुरूष हुन् । ती विद्यार्थीहरूको शनिबार दिउँसोबाट नेपाली दूतावाससँग सम्पर्क टुटेको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो। हमासले गरेको आक्रमणमा विशेष गरी सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्।

शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो। आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै, पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि उपचार भइरहेको छ । टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।

हमासले शनिबार गरेको आक्रमणको जवाफमा इजरायलले पनि आक्रमण गरिरहेको छ। अहिले पनि लडाइँ जारी छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबै पक्षका गरी ५ सयभन्दा बढी मानिसले लडाइँमा ज्यान गुमाएका छन्।

आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको बताएका थिए। मन्त्री साउदले संसदमा दिएको जानकारीअनुसार इजरायलमा अहिले चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेका छन् भने दुई सय ६५ जना विद्यार्थी अध्ययनरत छन्।

सुदूरपश्चिम विश्वविद्यालयमा सन्नाटा

यतिबेला कैलालीको टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ एग्रिकल्चर कृषि विज्ञान संकाय शोकमा डुबेको छ । शनिबार भएको विद्रोहीको आक्रमणमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि इजरायल गएका स्कुल अफ एग्रिकल्चरका विद्यार्थी परेका छन् ।

उनीहरू विद्रोही समूहको नियन्त्रणमा रहेको किवुज एलुमिनमा रहेको कृषि फार्ममा काम गर्थे । सोही ठाउँमा कार्यरत १७ जनामध्ये टीकापुरका विरेन्द्र चौधरी कुनै कुनै बेला सामाजिक सञ्जालमार्फत् सम्पर्कमा आउने गरेका छन् । उनका अनुसार चौधरीले आफू सेनाको घेरामा रहेको जानकारी दिने गरेका छन् । अन्य विद्यार्थी भने सम्पर्कविहीन छन् ।

उनका अनुसार सबै विद्यार्थी घरमा बसिरहेका छन् । उनीहरु सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमा बाजुराका रमेशबहादुर कार्की, रौतहटका विनोदप्रसाद साह, कैलालीका आभाष भट्टराई, कञ्चनपुरका नरेशसिँह भण्डारी, डडेल्धुराका लोकेन्द्र बिष्ट, कैलालीका रोहित नायक, रौतहटका निरञ्जन कुमार कुसहवा, कैलालीका अरविन्द कुमार चौधरी र बाँकेका उपेन्द्र जिसी रहेका छन्।

सम्पर्कमा आएका विद्यार्थीहरूले बंकर नभएका कारण आफू असुरक्षित रहेको बताउँदै आएका छन् । निरन्तर भिडन्त भइरहेकाले कुनै पनि बेला आक्रमणमा पर्ने सम्भावना रहेको ती विद्यार्थीले बताएका छन् ।

कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिष्टारका ४९ जना विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए । उनीहरूमध्ये १० जना छात्रा रहेका छन । उनीहरू १० महिनाका लागि इजरायल गएको न्यौपानेले बताए ।

विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो । कृषि विज्ञान संकायले कार्यक्रम अन्तरगत पहिलो पटक विद्यार्थी पठाएको थियो ।

इजरायल गएका टीकापुरका विद्यार्थी । तस्बिर : सामाजिक सञ्जाल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds