मनाङमा ६ महिनामा ९ हजार पर्यटक

मनाङमा ६ महिनामा ९ हजार पर्यटक

tilicho

मनाङ । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिले अनुकूल मौसम छ । यस समयमा पर्यटक आगमनको उल्लेख्य सुरुआत भएको छ । मनाङ भ्रमणको अनुकूल वातावरण हुनासाथ यहाँ पर्यटकको आगमन वृद्धि भएको छ ।

विसं २०८० को वैशाखदेखि असोज मसान्तसम्म मनाङमा ९ हजार ७ सय ६२ बाह्य पर्यटक भित्रिएका छन् । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) मनाङका अनुसार यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दवै क्षेत्रको भ्रमण गर्ने गरेका छन् । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले ९ हजार २ सय २८ पर्यटकले अन्नपूर्ण पदमार्ग मात्र भ्रमण गरेका जानकारी दिए ।

५ सय २८ पर्यटकले नार्पाभूमिस्थित लार्केपास गरेका छन् । यस क्षेत्रबाट गोरखाको चुमनुम्री हुँदै पर्यटक गन्तव्यतर्फ निस्कने गर्दछन् । असोज मसान्तसम्ममा मात्रै ४ हजार ३ सय ५७ बाह्य पर्यटक भित्रिएका छन् । वैशाखमा ३ हजार २ सय ६६, जेठमा ६ सय ६१, असारमा २ सय ५९, साउनमा २ सय ९६, भदौमा ९ सय १३ बाह्य पर्यटक भित्रिएको तथ्यांकमा उल्लेख छ ।

गत वर्ष साउनदेखि मंसिरभित्र १ हजार ७२ पर्यटक आएका थिए । गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य पर्यटक बढेका छन् । ‘यहाँको मुख्य आयस्रोत नै पर्यटन क्षेत्र हुनुपर्छ । पर्यटकको आगमन बिना यहाँको राजस्वसमेत उठ्न मुस्किल हुन्छ । यसले नै यहाँका स्थानीयवासीलाई यही बस्ने वातावरण बनाएको छ,’ उनले भने । यहाँका स्थानीयवासीले होटल तथा पर्यटन व्यवसायसँगै कृषि क्षेत्रमा पनि आवद्ध छन् । हिउँद लाग्ने बेला र वर्षा सुरुआतक गरी २ सिजन मनाङ घुम्नका लागि अनुकूल मानिन्छ

आयातित वस्तुभन्दा यहाँका स्थानीयवासीले पर्यटकलाई यहीँ उत्पादित खाद्यवस्तु पर्यटकलाई उपलब्ध गराउने गरेका पाइन्छ । ‘सिजनमा यस वर्ष उल्लेख्य पर्यटकको आगमन भएको छ । यसले व्यावसायिकलाई उत्साह थपेको छ,’ पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले भने, ‘आजभोलि आन्तरिक पर्यटकको आगमन पनि वृद्धि भएको छ ।’

अहिलेको मौसममा मनाङका विभिन्न क्षेत्र भ्रमणका लागि अनुकूल वातावरण रहेको छ । अलिअलि हिमपात, सेता हिमाल टल्कने, डाँडापाखामा नै हिउँ रहँदा पर्यटकलाई लोभ्याउने गर्दछ । अहिले नेपालीमा घुम्ने, नयाँ नयाँ पर्यटकीय गन्तव्यमा पुग्ने प्रचलन बढ्दै गएको छ । जसले गर्दा मनाङका विभिन्न स्थानको भ्रमणमा आउने आन्तरिक पर्यटक समेत ह्वात्तै बढेका छन् ।

आन्तरिक पर्यटकको तथ्याङ्क त राखिने गरिएको छैन । तर, दैनिक रुपमा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको एक्यापका प्रमुख भुजेलले सुनाए । दैनिक रुपमा १ हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी बाबुराम गुरुङले जानकारी दिए । यसरी पर्यटक आउँदा बन्द व्यापार खुलाएर उत्साह थपिदिएको र अहिले यहाँका होटल व्यवसायीमा खुसीसँगै उत्साह बढेको उनको भनाइ छ ।

हिउँद लाग्ने बेलामा र वर्षायाम सुरुआतको समयमा गरी २ सिजन मनाङ घुम्नका लागि अनुकूल समय मानिन्छ । यसै समयलाई मध्यनजर गरी मनाङमा पर्यटक घुम्न आउने गर्दछन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी कोही मुस्ताङ त कोही पोखरा पुग्दछन् ।

अन्नपूर्ण पदमार्गमार्फत पदयात्रा गरी पर्यटक आ–आफ्नो गन्तव्यतर्फ जाने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका ७ मनाङे चौतारा हो । पर्यटकले यहाँबाट सुरु गरिएको यात्रा विशेष गरी मुस्ताङ पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ ।

काठमाडौँ, पोखरा, चितवन, बुटवल लगायतका स्थानदेखि बेँसीसहरसम्म सवारीसाधनमार्फत मनाङ आउन सकिन्छ । पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ