पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने, ११ देशका प्रतिस्पर्धीले भाग लिँदै

पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने, ११ देशका प्रतिस्पर्धीले भाग लिँदै

mountain bike race

पोखरा । पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो ।

तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले नेपालसहित ११ देशका ८८ जना प्रतिस्पर्धीले सहभागि जनाउने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् ।

खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रवन्ध निर्देशक छिमी उक्रेन गुरुङले जनाए । २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैँया लगानी भैसकेको र थप २० लाख लगानी लाग्ने गुरुङको भनाई छ । साथै उक्त क्षेत्रमा प्रतियोगितालाई निरन्तरता दिने उनले बताए ।

प्रतियोगिताको जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष किरण बरालले पर्यटन प्रवद्र्धनका लागि आर्बालाई चुनिएकोमा आभार व्यक्त गरे । प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै वडाध्यक्ष बरालले महानगरबाट पनि सहयोगको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले स्वास्थ्यका लागि खेलकुद आवश्यक भएकाले विभिन्न खेलकुद प्रतियोगिता भइरहनुपर्ने र यसलाई निरन्तरतालाई जोड दिनुपर्ने बताए । प्रतियोगितामा कास्की साइक्लिङ संघले साथ र सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

तीन दिन हुने प्रतियोगितामा मंसिर ७ र ८ गते अभ्यास खेल हुनेछभने ९ गते प्रतियोगिता हुनेछ । प्रतियोगिता समुन्द्री सतहबाट १४०० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ । उक्त एन्ड्युरो प्रतियोगिताले आगामी दिनहरुमा विश्वभर ठुलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीहरु आकर्षिक भई पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds