मुस्ताङको ढाक्मरमा हिमचितुवाले एउटै खोरका ७७ च्याङ्ग्रा मार्‍यो, लाखौँ क्षति

क्षति

मुस्ताङको ढाक्मरमा हिमचितुवाले एउटै खोरका ७७ च्याङ्ग्रा मार्‍यो, लाखौँ क्षति

स्थानीय पशुपालक हिमचितुवाको त्रासमा

himchituwa-attack-chyangra

जोमसोम : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ को ढाक्मर गाउँमा हिमचितुवाले आक्रमण गरी ७७ वटा च्याङ्ग्रा मारेको छ। गएराति ढाक्मर गाउँ भित्रै खोरमा ४ वटा हिमचितुवा पसेर च्याङ्ग्रा मारेको ढाक्मरका स्थानीय छिरिङ गुरुङले जानकारी दिए ।

७७ वटा च्याङ्ग्रा मारेको र ३ जटा च्यांग्रालाई घाईते बनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टि गरेको छ । डीएसपी भोजराज पाण्डेका अनुसार खोरमा ८० वटा च्यांग्रा थिए ।

लोघेकर दामोदरकुण्ड—२ ढाक्मरका स्थानीय पशुपालक किसान मिङ्मार गुरुङले पालेका च्याङ्ग्रा खोरमा हिमचितुवाले विभत्स रुपमा च्याङ्ग्राहरु मारेको हो ।

शुक्रबार राति ४ वटा हिमचितुवा मिङ्मार गुरुङको खोरमा पसेर करिव ३० लाख मुल्य बराबरको च्याङ्ग्रा क्षति बनाएको स्थानीय गुरुङले बताए।

हिमचितुवा खोरमा पसेर ठुलो संख्यामा च्याङ्ग्रा मारेपछि स्थानीय पशुपालक किसान मिङ्मार गुरुङ अहिले चिन्तामा छन् । उनले गाउँभित्रको खोरमा तारबारसहितको च्याङ्ग्रा हुल्ने गोठ थियो । तर, तारबार सहितको खोर नाघेर हिमचितुवाले च्याङ्ग्रा मारेर छाडेको हो ।

च्याङ्ग्रा खोरमा पसेर केही च्याङ्ग्राको आन्द्राभुँडी निकालेर छोडेको छ भने केहीको रगत खाएर मारेको देखिन्छ ।  हिमचितुवाले च्यांग्रा मारेको स्थानीय र पशुधनी मिङ्मारले बिहानपख मात्र थाहा पाएका थिए ।

मुस्ताङमा हिमचितुवा र मानवबीचको निरन्तर द्वन्द्व रहे पनि यो अहिलेसम्मकै धेरै पशु क्षतिमध्ये एक हो । मध्यरातमा हिमचितुवा खोर भित्रै पसेर अहिलेसम्मकै ठूलो संख्यामा च्यांग्रा मारेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।

ढाक्मरमा हिमचितुवाले च्याङ्ग्रा मारेको खबर पाएपछि लोघेकर दामोदरकुण्ड—१ चराङबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । प्रहरी टोलीले अहिले मुचुल्का उठाएर विवरण तयार गरिसकेको डिएसपी पाण्डेले बताए ।  ढाक्मरका स्थानीयले जनप्रतिनिधि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप (लोमान्थाङं)लाई खबर गरेको थियो । एक्याप र जनप्रतिनिधि टोली पनि ढाक्मरतर्फ पुग्दैछन्।

हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो । मुस्ताङमा हिमचितुवा कति छन् भन्ने एकिन तथ्यांक छैन । स्थानीय छिरिङ गुरुङ ढाक्मर गाउँको पश्चिमतर्फको ठुलो रातो पहाडको ओढारहरुमा हिमचितुवा लुकेर बसेको बताउँछन्। स्थानीय मिङ्मार गुरुङले हिमचितुवाको भिडियो समेत मोवाईलमा कैद पनि गरेका छन् । स—साना छिद्र प्वालहरु रहेको अग्लो ढाक्मर पहाडको गुफामा हिमचितुवाको वासस्थान हुन सक्ने उनले अड्कल गरे ।

मुस्ताङमा परम्परागत रुपमा याकचौरी  र भेडाच्यांग्रा पालन गरिने गरिन्छ । गतवर्षसम्म मुस्ताङका ५ स्थानीय तहमा वन्यजन्तुको आक्रमणबाट १९ घरधुरीका ६५ पशुधनमा क्षति पुगेको थियो । एक्यापले नेपाल सरकारले कार्यान्वयनमा ल्याएको वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०८० अनुसार सम्बन्धी निकायहरुको अनुगमन र मूल्याङ्कन गरी राहत दिने गरेको छ ।

ढाक्मर गाउँमा हिमचितुवाले आतंकले स्थानीयबासीमा त्रास छाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ