मुस्ताङको कोरला नाका आजदेखि खुला

सहजता

मुस्ताङको कोरला नाका आजदेखि खुला

उपल्लो मुस्ताङका दुई पालिकाका बासिन्दाका लागि बाह्रै महिना खुल्ने

korala naka (1)

तस्वीरः सुन्दरकुमार थकाली

जोमसोम । लगातार ४ वर्षदेखि ठप्प रहेको नेपाल–चीन सिमाना नाका मुस्ताङको कोरला आजदेखि खुल्ला भएको छ ।  नेचुङ—लेग्चे पोर्ट अन्तर्गतको बहुप्रतिक्षित यो नाका खुलेपछि मुस्ताङका स्थानिय हर्षित भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्र (सिपीसी)का सचिव वाङ जुनझेङको समुपस्थितिमा समुद्घाटन कार्यक्रम आयोजना गरी कोरला नाका खुला गरिएको हो ।

उद्घाटन समारोहमा सहभागी हुन पोखराबाट टोलीसमेत पुगेको छ । टोलीमा गण्डकी प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री दीपेन्द्र बहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, जनप्रतिनिधि, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि, पर्यटन व्यावसायीहरू सहभागी छन् ।

गतहप्ता चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेनमा नेपाल पक्ष चीन पक्षबीच भएको छलफलमा कोरलानाका खोल्ने तिथिमिति तय गरिएको थियो ।

छलफलमा प्रशासन, प्रहरी र स्थानीय जनप्रतिनिधि सम्मिलित थिए । कोभिड माहामारी तथा सुरक्षा संवेदनशीलताका कारण चीनले एक पक्षिय रुपमा बन्द गरेको थियो ।

तस्वीरः सुन्दरकुमार थकाली

सोहि क्षेत्रबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका निवर्तमान सभासदस्य इन्द्रधारा विष्टका अनुसार पर्वको छेको पारेर सो नाकामा नेपाल र चीन दुवैतिरका स्थानीय ३० किलोमिटरसम्म आवतजावत र व्यापार व्यवसाय गर्न पाउनेछन् ।

सो कार्यक्रममा सहभागिताका लागि लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीय व्यापारी र सर्वसाधारण स्थानीय बासिन्दाहरुलाई आमन्त्रण गरिएको छ ।

नेपालीहरु त्यहाँ पुग्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रदान गरेको सीमा पास कार्ड र नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य साथमा लैजानुपर्ने बताइएको छ ।

केही दिनका लागि सो नाका खुल्ने भएपछि लो–घेकर, दामोदरकुण्ड गाउँपालिकाका र लोमन्थाङ गाउँपालिकाकाका स्थानीय तथा मुस्ताङबासीहरु हर्षित् बनेका छन् । केहि वर्षदेखि नाका बन्द थियो ।

कुनै समय नेपाल पक्ष र चीन पक्षबीच आलोपालो सञ्चालन हुँदै आईरहेको दुई देशबीचका अल्पकालिन ब्यापार मेला पछिल्ला समयहरुमा चिनले आफ्नो तिब्बत भूमिमा दुई पटक सञ्चालन गर्ने गथ्र्यो । कोरलाको करिव ५ किमी तिब्बती भूमीमा लाग्ने अल्पकालिन व्यापार मेला बर्सेनि असार र भदौमा हुन्थ्यो ।

यसपटक साविक जस्तो नभई उत्तरी कोरलानाका उपल्लो मुस्ताङका दुई पालिकाका बासिन्दाका लागि बाह्रै महिना खुल्न लागेको हो । नाका खोल्ने तयारी अघि बढेपछि उपल्लो मुस्ताङका ९८० जना नागरिकले सीमा प्रस्थान अनुमतिपत्र लिईसकेका छन् । हिउँदयामको मौसम भएकाले धेरैजसो उपल्लो मुस्ताङी जाडो छल्न र घुम्ती व्यापारमा बेसी हिँडिसकेकाले दुई तिहाईले प्रस्थान अनुमति बोर्डर पास बनाएका छैनन् ।

चीनको तिब्बती बजारबाट उपल्लो मुस्ताङीहरुले खाद्यान्न, लत्ताकपडा, कस्मेटिक सामान, ईलेक्ट्रोनिक सामान, निर्माण सामाग्री, कृषि उपकरणका साथै भेडा च्यांग्रा आयात गरिने गरिन्छ । नेपालबाट पस्मिना, स्थानीय कृषि उत्पादन र यार्सा गुम्बाको निर्यात हुन्थ्यो ।

चीन आफैले राखिदियो कोरलानाकामा ‘प्रि—फाईप कन्टेनर घर’

कोरलानाकाको दशगजा क्षेत्रमा नेपाल पक्षको कुनै आवश्यक भौतिक संरचना निर्माण भएको छैन । उता चीनतर्फ सबै पूर्वाधार तयारी अवस्थामा छ ।

कोरलानाकाबाट हुँने आर्थिक तथा व्यापारिक कारोवारका लागि सीमाक्षेत्रमा सुरक्षा प्रवन्ध आवश्यकता पर्छ । तर, भन्सारको कारोबार तथा चेकजाँच लोमान्थाङ—२ नेचुङबाट हुनेछ । नेपालतर्फको सुरक्षा सहजताको महशुस गर्दै चीन पक्षले कोरलानाकामा प्रि—फाईप ५ थान अस्थायी कन्टेनर घर बनाइदिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा अस्थायी कन्टेनर चीनले दिएको हो ।

गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र लोमान्थाङका वडाध्यक्षहरुको रोहबरमा कोरलानाकामा व्यस्थापन गरिएको छ ।

चीनले झारेको उक्त कन्टेनरहरु कोभिड माहामारीको बेला चीन पक्षले प्रयोग गर्दैआईरहेको कन्टेनरहरु हुन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा चीन पक्षले कन्टेनर दिएको हो । शनिबार लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीन पक्षले दशगजा क्षेत्रको नेपाली भूमीमा पूर्वाधार बनाईदिएको हो ।

चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटक प्रतिकुल मौसम हुँदा बस्न मिल्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । नाका खोलेपछि सुरक्षा संवेदनशीलताको कुराहरु पनि जोडिन्छन्,यसैले प्राप्त कन्टेनरले सुरक्षाकर्मीलाई सुरक्षित बस्न सहयोग पुग्ने अध्यक्ष बिष्टको भनाई छ । ‘कोरलानाकामा हावाहुरी र हिमपात हुने र त्यहाँ सुरक्षाकर्मी बस्न समेत मुश्किल पर्छ ,अध्यक्ष बिष्टले भने,‘ कन्टेनर भएपछि यसले सामान्य रुपमा रहन सघाउ पु¥याउँछ ।

चीनले उपलब्ध गराएको प्रि—फाईप कन्टेनर चीन पक्षले क्रेनको सहायताले नेपाली भूमीमा जडान गरेको हो । कन्टेनर विशेषगरी तत्काल बस्न मिल्ने अस्थायी टहरा हो । कोरलामा राखिएको कन्टेनर २० फुट लम्बाई र १० फुट चौडाई साईजका छन् । कन्टेनरमा ढोका र भ्यालको व्यवस्था छ । सामान्यतया एकै कन्टेनरमा ४ वटा खाँट अट्न सक्ने क्षमताको छ भने हावाहुरी चल्दा १० जना व्यक्ति अटाउन सक्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ