समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ को जन्मदिनमा फोनिज गण्डकीलाई २ लाखको अक्षयकोष सहयोग

समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ को जन्मदिनमा फोनिज गण्डकीलाई २ लाखको अक्षयकोष सहयोग

Milan Foundation Nepal photo

पर्वत । पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा जन्मिएर हाल हङकङमा बस्दै आएका समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले ६ लाख रुपैयाँ राशिका पाँच वटा अक्षयकोष स्थापना गरेका छन् ।

जन्मदिन बाहेकको समयमा पनि केही न केही सामाजिक सेवा गर्दै आएका उनले आफ्नो हरेक जन्मदिनमा नबिराई केही न केही सामाजिक काम गर्दै आएका छन् । यस पटकको ५७ औँ जन्मोत्सवमा भने उनले एकै दिनमा हालसम्मकै ठूलो धनराशि सामाजिक सेवाका लागि खर्चिएका हुन् ।

मोदी गाउँपालिका–५, मोदीखेतस्थित लालटिन रिसोर्टमा शनिबार उनी संस्थापक संरक्षक रहेको संस्था मिलन फाउण्डेशन नेपालको तर्फबाट आयोजना गरिएको एक कार्यक्रममा अक्षयकोषसहित आर्थिक सहयोग गरिएको हो । समाजसेवी गुरुङ हाल हङकङमा नै रहेको भएपनि उनी संरक्षक रहेको संस्थाले उनबाट प्राप्त भएको रकमबाट ती अक्षयकोष स्थापना गरेको हो ।

समाजसेवी गुरुङको सक्रियतामा कृषकहरूको समूहदेखि नौमती बाजाको संरक्षणको लागि पनि समूह निर्माण गरिएका छन् ।

फाउण्डेशनसहित अहिलेसम्म १८ वटा संस्थाहरू स्थापना भइसकेका फाउण्डेशनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले बताइन् । ती सबै संस्थाहरूलाई नियमन र सञ्चालन गर्ने गरी ‘मिलन ग्रुप अफ नेपाल’ नामक संस्था स्थापना गरिएको छ । सोही संस्थामा आबद्ध रहेका संस्थाहरूमध्ये सबैभन्दा बढी सक्रिय रहँदै आम नागरिकको जनजीविका चलाउन सहयोगी भूमिका निर्माण गरेका पाँच वटा संस्थाहरूमा अक्षयकोषको स्थापना गरिएको उनको भनाइ छ ।

शनिबार आयोजित कार्यक्रममा मोदी गाउँपालिका–५ बाजुङका मिलन–शील दलित कृषक समूह, मिलन बहुउद्देश्यीय महिला कृषक समूह, मिलन प्रगतिशील महिला कृषक समूह र पातीचौरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा एक/एक लाख रुपैयाँ मूल राशि रहेको अक्षयकोष स्थापना गरिएको छ । उक्त रकम ती संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई अक्षयकोषको कार्यविधिसहित हस्तान्तरण गरिएको छ । यस्तै, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), गण्डकी प्रदेशका लागि दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । उक्त रकम अध्यक्ष रूद्रबहादुरश्रीस र उपाध्यक्ष खिमा गुरुङलाई हस्तान्तरण गरिएको छ । रकम ग्रहण गर्दै अध्यक्ष श्रीसले अक्षयकोषको ब्याजबाट आउने रकमले हरेक वर्ष एक जना पत्रकारलाई नगदसहित सम्मान गरिने बताए ।

गुरुङले आर्थिक सहयोग अन्तरगत विगतको सहयोगलाई निरन्तरता दिँदै सडक बालबालिकाहरूको पालनपोषण तथा संरक्षणमा काम गर्दै आइरहेको काठमाण्डौंको महिला तथा बाल विकास मञ्चलाई ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् । यस्तै, यस वर्षको तिहारमा पोखरामा मौलिक र सांस्कृतिक देउसी भैलो प्रदर्शन गरेको युवाहरूको समूहलाई २० हजार रुपैयाँ सहयोग गरिएको छ ।

कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले आफू र आफ्नो परिवारको लागि मात्रै काम गर्ने व्यक्तिहरू धेरै भए पनि आफ्नो खर्च कटौती गरेर समाजको लागि योगदान गर्ने व्यक्तिहरू बिरलै पाइने बताए । गाउँपालिकाले गर्नुपर्ने जस्तै कामहरू एक्लो व्यक्तिले गरिरहेको देखेर आफूहरू पनि खुसी भएको बताउँदै उनले ‘मिलन ग्रुप अफ नेपाल’ मा आबद्ध रहेका संस्थाहरूले कृषि फार्मदेखि कृषि सहकारी सञ्चालन गरेर जीविकोपार्जनमा पु¥याएको योगदानमा आफूहरू पनि सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

मिलन फाउण्डेशन नेपालकी कार्यवाहक अध्यक्ष देवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मोदी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष मनबहादुर अधिकारी, वडा नं. ६ का वडाध्यक्ष दीपेन्द्रजंग लामिछाने, भूमि आयोग, पर्वतका सदस्य मनबहादुर पौडेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एवं मिलन फाउण्डेशन नेपालका सल्लाहकार रूद्रबहादुर श्रीस, फोनिज, गण्डकीका उपाध्यक्ष एवं गोर्खाली रेडियोकी स्टेशन म्यानेजर खिमा गुरुङ, मिलनशील दलित कृषक समूहका अध्यक्ष ताराबहादुर दर्जीलगायतले समाजसेवी दुर्गा गुरुङ “मिलन”को व्यक्तित्व र सामाजिक योगदानका बारेमा चर्चा गरेका थिए । सो अवसरमा मिलन ग्रुप अफ नेपालका महासचिव सागर पौडेल र मिलन फाउण्डेशन नेपालका सचिव अमरबहादुर अधिकारीले कार्यक्रमको बारेमा बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ