मुटु छिया छिया बनाउने गीत ‘आऊ न आमा आऊ’ [भिडियो]

मर्मस्पर्शी गीत

मुटु छिया छिया बनाउने गीत ‘आऊ न आमा आऊ’ [भिडियो]

सानैमा आमा बितेपछि बच्चाले भोग्नुपर्ने पीडा, सुप्रिम मल्ल ठकुरीको उत्कृष्ट गायन र अभिनय

सब फेरिए कोहि नि छैनन्, तिमी हुँदा जस्तो…
मेरै पीरले आँशु झार्दै हौली उतापनि…
आऊ न आमा आऊ
मिल्ने भए आमा एकचोटी आऊ न आमा आऊ
काँ लुकेर हेरिछौ आऊ न आमा आऊ…
तिम्रो साथमा लेर जाऊ न आमा जाऊ

सानै उमेरमा आमा बित्नू, बुवाले अर्की बिहे गर्नू, छरछिमेकले आमा टोकुवा भन्दै छिःछिः दूर दूर गर्नू, सौतेनी आमाले खान पनि नदिनू । बुवा पनि कान्छी आमासँगै लागेर हेला गर्नू । मामाघरमा आश्रय लिँदा माइजू र मामाले उस्तै हेला गर्नू ।

यस्तो पीडा सहन सक्ने पीडा हो ? त्यो पनि कलिलो ज्यान र बाल मस्तिष्कले ?

तर, यस्तै नारकीय पीडा व्यहोरिरहेका टुहुराहरु यही समाजमा छन् । यही दुःखद अवस्थालाई हूबहू उतारिएको गीत हो ‘आऊ न आमा आऊ’ ।

निकै प्रतिभाशाली बालगायक सुप्रिम मल्ल ठकुरीको मर्मस्पर्शी आवाजले मुटु रेटिन्छ । भ्वाईस अफ किड्सदेखि प्रत्यक्ष दोहोरीमा तहल्का पिटिरहेका सुप्रिमले यस गीतलाई शतप्रतिशत न्याय गरेका छन् ।

भर्खरै सार्वजनिक भएको यो गीत फ्रेस च्यानल दीपक अर्याल अफिसियलबाट सार्वजनिक भएकाले पनि धेरैले थाहा पाइसकेका छैनन् । भ्यूज काउण्टलाई छाड्ने हो भने तुलना नै हुन नसक्ने धेरै माथिको स्तरीय गीत बनेको छ ‘आऊ न आमा आऊ’

यति मीठो गीतको लय र संगीत संयोजन गरेका हुन् बहुप्रतिभाशाली कलाकर्मी तारानाथ आचार्यले । मुटु चसक्कै बिझ्ने शब्द दिपक अर्यालको हो ।

निशान बानियाँको कथा तथा निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सुप्रिम मल्ल ठकुरी स्वयं मूख्य भूमिकामा छन् । साथमा सारिका केसी, आशिर प्रताप जंग, रिना गुरुङ, अर्जुन नेपाली लगायतको जीवन्त अभिनय छ ।

सुरेश श्रेष्ठले खिचेको भिडियोलाई आर्ट सिने स्टुडियोका सुजन कोइरालाले काँटछाँट गरेका हुन् । निर्देशक बानियाँकै पानस फिल्मसले भिडियो उत्पादन गरेको हो ।

गीतका प्रस्तुतकर्ता दिपक यतिबेला जापान छन् । उनले नेपाली समाजसँग मेलखाने घटनाक्रमलाई गीतका रुपमा प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

उनी भन्छन् – ‘गीतमार्फत आमा गुमाएको एक बालकले आमाको अभावमा समाजमा भोग्नुपरेका विभिन्न विषयवस्तुलाई प्रस्तुत गर्ने प्रयास भएको छ । पक्कैपनि यसअघिका मेरा सिर्जना जसरीनै सबैको माया पाउने छु भन्ने विश्वास छ ।’

अर्यालका यसअघि ‘एउटा बाचा गर्छु’, ‘तिम्रै तस्वीर प्यारो लाग्छ सानु’, ‘आत्महत्या गर्छु भन्दा नि’ लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ