पोखराको ढुंगेसाँघु मेलामा भक्तजनको घुईंचो

ढुंगेसाँघुको मेलैमा, भेट भएको बेलैमा

पोखराको ढुंगेसाँघु मेलामा भक्तजनको घुईंचो

Dhungesanghu 3

ढुंगेसाँघुको मेलैमा, भेट भएको बेलैमा …..सदाबहार चर्चित गीत । माघे संक्रान्तिमा यहाँ भव्य मेला लाग्ने भएकाले नै यस थेगो बनेको भन्दा अत्युक्ति हुँदैन ।

प्रत्येक बर्ष माघे संक्रान्तिको दिन ढुंगाले बनेको प्राकृतिक पुलसँगको सम्बन्ध गाँसिएको ढुंगेसाँघु मेला यस वर्ष पनि अत्यधिक भिडभाडका बीच सकियो ।

महतगौंडा र टुटुङ्गाको मितेरी साइनो गाँस्ने सो पुलको नामबाट लाग्दै आएको मेला भर्न पोखरेलीका साथै कास्कीका विभिन्न गाउँ, स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दी लगायतका स्थानबाट समेत आउने गर्दछन् ।

पोखरा क्षेत्रको धार्मिक तथा ऐतिहासिक तीर्थस्थल सितापाईलामा रहेको सेतीनदी किनारमा दर्शन गर्नेहरुको माघ १ गते बिहानैदेखि भिड लागेको थियो । सेतीनदी किनारमा हुने मेला विना प्रचार–प्रसार वर्षेनी भव्य रुपमा आयोजना हुँदै आएको छ ।

वि.सं. १८६४ सालबाट निरन्तर रुपमा मेलाको आयोजना हुँदै आएको जानकारहरु बताउँछन् । भगवान राम र सिताले माघेसंक्रान्तिको दिनमा त्यहाँ बसेर खाजा खाएको धार्मिक विश्वास रहेकोले सख्खर, चिउरा, तरुल खानेगरी मेलाको आयोजना गर्न थालिएको किम्बदन्ती छ । सिताघाटमा स्नान गरेर सदाशिव हरिहर, अकलादेवी, सितापाईला लगायत विभिन्न देवदेवीको दर्शन गर्न सकिने उक्त पुण्यभुमीका प्राचिन कालदेखि ढुङेसाघुँ मेला लाग्दै आएको हो ।

मकर संक्रान्तिमा हरिहरको दर्शन गर्नको लागी व्रम्हा, विष्णु र महेश्वर लगायत सम्पुर्ण देवी देवता, यक्ष, गन्धर्व अप्सरा यस ठाँउमा आउँछन र उक्त दिन हरिहरको दर्शन गरी जान्छन भन्ने मान्यता रहेको छ । त्यसैले पनि भक्तजना अहिले यहाँ आएर सिता घाटमा गंगा स्नान गरी हरिहरको मन्दिरभित्र प्रवेश गरी विधी अनुसार पुजा गरी दर्शन गर्ने चलन छ ।

स्वर्गका अप्सरा यस ठाँउमा आइ नाचगान गरी रमाइलो गर्ने गरेको हुँदा विगतका समयमा यहाँ रोइला गाउने गरिन्थ्यो । रातभरी भजन किर्तन गरी विहान नुहाइ धुहाइ गरि हरिहरको दर्शन गरिन्थ्यो जुन ऐतिहासिक चलन अहिले हराएको छ । त्रेता युगमा रामसीता यहाँ आएको र आएको चिनोस्वरुप आफ्नो पैतालाको छाप छाडेको हुँदा यो ठाँउ सितापाइला नामले पनि परिचित छ ।

परम्परागत रुपमा लाग्दै आएको यो मेला हेर्न पुगेका दर्शकको भिडलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो । माघे संक्रान्तीको अवसरमा हस्तकलाबाट उत्पादित विभिन्न जातिहरुले आ–आफ्नो जातिय पेशामा आधारित भाडाकुँडा, डोको, नाङलो, माद्रो, मुडा लगायतका बस्तुहरु किन्न भिडभाड भएको थियो ।

निकै नै खचाखच भीड हुने यो मेलामा घरयसी सामानको किनमेल, खेलकुद प्रतियोगिता र मनोरञ्जनात्मक गतिविधि हुने गरेका छन् ।

यस ठाउँमा मकर संक्रान्तिको दिन यहाँको जात्रामा भेला भइ आ–आफ्ना सामान साटफेर गरी जिविकोपार्जन सहज बनाउने गर्दथे । अहिले पनि यहाँ घरायसी सामानको किनमेल नै हुने गरेको छ ।

यहाँ पोखरा बजारबाट मात्र नभई आसपासका क्षेत्रबाट समेत भक्तजन आउँछन् । त्यसको भीडले मकरसंक्रान्तिमा ढुंगे साँघु निकै नै खचाखच हुन्छ । दिनभर भजनकिर्तन सहित मनोरञ्जनात्मक गतिविधिले पनि यहाँको मौलिकता बढेको स्थानीयले बताउने गरेका छन् ।

मेलाको प्रमुख आकर्षण भनेको पोखराको मध्य भागबाट बगेको सेती नदीमाथि बनेको ढुंगाको प्राकृतिक साँघु हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ