कास्कीको रुपा गाउँपालिकाको स्थापना दिवसमा अध्यक्ष कप भलिबल, उपाधि राशी डेढ लाख

स्थापना दिवस

कास्कीको रुपा गाउँपालिकाको स्थापना दिवसमा अध्यक्ष कप भलिबल, उपाधि राशी डेढ लाख

झाँकी प्रदर्शन, माला प्रतियोगिता र रुपा रत्न सम्मान

rupa p meet (1)

पोखरा । कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसका अवसरमा यस वर्षपनि अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितालाई निरन्तरता दिएको छ । २०७५ सालदेखि नै स्थापना दिवस मनाउँदै आएको पालिकाले यो वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो ।

भलिबलसँगै झाँकी प्रदर्शन, माला प्रतियोगिता, रुपा रत्न सम्मान लगायतका विविध कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

गाउँपालिकाले आज (मंगलबार) पोखरामा पत्रकार सम्मेलन गरी स्थापना दिवस फागुन २४ देखि २७ गतेसम्म कार्यक्रम गरी मनाउने जानकारी दिएको हो ।

अध्यक्ष ओझाले कला संस्कृति, स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्न झाँकी प्रदर्शनी, माला प्रतियोगितासँगै कृषकलाई उत्प्रेरित गर्न रुपा रत्न पुरस्कार प्रदान गरिने बताए ।

उनका अनुसार फागुन २४ देखि सञ्चालन हुने अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुषभलिबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने टिमले ४० हजार र सान्त्वना हुने टिमले २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही २÷२ हजारसहित ट्रफि प्राप्त गर्नेछन् । हाल कायम भएको नयाँ वडा अनुसार वडास्तरीय प्रतियोगिता गर्न लागेको हो ।

यस्तै, रुपा गाउँपालिकास्तरीय झाँकी प्रदर्शन प्रतियोगितामा ३५ जनाको समूहमा ५ जना ३० वर्ष भन्दा कम उमेरको अनिवार्य हुनुपर्ने अध्यक्ष ओझाले बताए ।

झाँकी प्रदर्शन प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, माला प्रतियोगिताको विजेताले ६ हजार, उपविजेताले ४ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । मालामा स्थानीय सामाग्रीहरुमात्र प्रयोग गर्नुपर्ने बताइएको छ । बाह्य जरि, फूल लगायतका अन्य कुनै पनि वस्तु प्रयोग गर्न पाइने छैन ।

गाउँपालिकाले प्रदान गर्दै रुपा रत्न पुरस्कार २०८० यसपटक गाउँपालिका भित्र कृषकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले कृषि पेशामा उत्कृष्ट रहेका कृषकहरुलाई ५ हजार नगदसहित ताम्रपत्र र दोसल्लासहित सम्मान गर्ने अध्यक्ष ओझाले जानकारी दिए ।

रुपा गाउँपालिकाले अध्यक्ष स्थापना दिवसका अवसरमा गाउँपालिकालाई सहयोग गर्ने र रुपामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वलाई पनि रुपा रत्नबाट सम्मान गर्दै आएको छ ।

कार्यक्रमको उद्घाटन फागुन २४ गते हुने र मुल समारोह फागुन २७ गते हुनेछ । उक्त दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुति समेत रहने आयोजक रुपा गाउँपालिकाले जनाएको छ।

कार्यक्रम सम्पन्नार्थ वडा अध्यक्षहरुको संयोजकत्वमा उपसमिति गठन गरी तयारीलाई तीब्रता दिइएको छ । पत्रकार सम्मेलनमा उपाध्यक्ष लालसुबा गुरुङ लगायत वडा अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

अध्यक्ष कप २०८०

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds