धादिङ पोखरा सम्पर्क समाजले कल्लेरी माविमा स्थापना गर्‍यो झण्डै ८ लाखको अक्षयकोष

विद्यालयमा अक्षयकोष

धादिङ पोखरा सम्पर्क समाजले कल्लेरी माविमा स्थापना गर्‍यो झण्डै ८ लाखको अक्षयकोष

धादिङका विभिन्न ६ वटा विद्यालयमा अक्षयकोष स्थापना, अहिले हालसम्मकै सर्वाधिक

dhading achhekosh (4)

पोखरा । धादिङ-पोखरा सम्पर्क समाजले धादिङको गल्छी गाउँपालिका वडा नं. २ स्थित कल्लेरी माविमा ७ लाख ९७ हजार ७ सय २० रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

शुक्रबार पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरको उपस्थितिमा समाजका अध्यक्ष रामप्रसाद पाण्डे राजुले विद्यालयलाई अक्षयकोषको रकम हस्तान्तरण गरे ।

कार्यक्रममा पूर्व शिक्षामन्त्री तुलाधरले कुनै पनि बालबालिका पैसाकै अभावले शिक्षा पाउनबाट बञ्चित हुन नहुने बताए । धादिङ समाजको अक्षयकोष विद्यालयका लागि निकै महत्वपूर्ण हुने भन्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबैले पहल गर्नुपर्नेमा उनले जोड दिए ।

गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले कल्लेरी मावि पालिकाभित्रै उत्कृष्ट विद्यालय भएको दावी गरे । गल्छी-२ का वडाध्यक्ष षडानन्द खनालले शैक्षिक गुणस्तर बढाउन विशेष ध्यान दिइँदै आएको बताए ।

समाजका अध्यक्ष पाण्डेले पोखरासहित स्वदेश-विदेशमा रहेका धादिङवासीले आफ्नो गाँस काटेर अक्षयकोषका लागि सहयोग गरेको बताए ।प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको उनले बताए ।

कार्यक्रम संयोजक एवं समाजका वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठले जिल्लाका विभिन्न ६ वटा विद्यालयमा अक्षयकोष स्थापना गरिसकेको जानकारी दिइन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, समाजका निवर्तमान अध्यक्ष गोकर्ण लम्साल, पूर्वअध्यक्ष कृष्णबहादुर लम्साल, सचिव दिनेश तुलाधर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवमान श्रेष्ठ, प्रधानाध्यापक पुनेश खतिवडा, शिक्षक-अभिभावक संघका अध्यक्ष डिलबहादुर तुलाधर लगायतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ