३२ मानव अधिकारकर्मीले लेखे बालेनलाई खुला पत्र, तानाशाही र निरंकुश बाटो परित्याग गर्न सुझाव

मानव अधिकार

३२ मानव अधिकारकर्मीले लेखे बालेनलाई खुला पत्र, तानाशाही र निरंकुश बाटो परित्याग गर्न सुझाव

जननिर्वाचित नयाँ पुस्ताका प्रतिनिधिको यस्तो विप्ल्याटो व्यवहार र प्रवृत्ति आश्चर्यको विषय

balen
मानव अधिकारकर्मीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई खुला पत्र लेखेका छन्।

उनीहरूले सडक व्यापारी नागरिकहरू विरूद्ध महानगरका अधिकारीबाट श्रृंखलाबद्ध ज्यादती हुँदै आएको उल्लेख गरेका छन्।

‘संघीय राजधानी सहर प्रमुख तपाईं सबैभन्दा बढी उदार लोकतान्त्रिक हुनुपर्ने हो। तर सरोकारवालाहरूसँग परामर्शका सबै ढोका बन्द गर्दै आएको र आफ्नो कार्यशैली र व्यवहारबाट अलोकतान्त्रिक छवि स्थापित गर्दै लगेको सन्दर्भमा तपाईंसँग हाम्रो सन्देश पुर्‍याउन यो खुलापत्रको सहारा ल्याएका छौं,’ उनीहरूले पत्रमा उल्लेख गरेका छन्।

गत फागुन १६ गते साँझ काठमाडौंका नगर प्रहरी सुन्धारा क्षेत्रमा व्यापारीहरूमाथि जाइलागेको थियो।

‘सडक व्यापारीमाथिको श्रृंखलाबद्ध ज्यादती दर्शाउने श्रव्यदृश्य सामाग्री विश्वव्यापी रूपमा निरन्तर साझा भइरहँदा हस्पिटेबल सिटी मानिएको काठमाडौंको अन्तराष्ट्रिय छविमा कालो पोतिने र पर्यटन व्यवसायमा समेत उल्लेख्य नकारात्मक असर पर्ने तर्फ पनि सचेत हुन त्यतिकै जरुरी छ,’ उनीहरूले भनेका छन्, ‘त्यसतर्फ पनि तपाईं लगायतका महानगर अधिकारीले उचित हेक्का राखका लागि हामी आग्रह गर्दछौं।’

सर्वसाधारण जनताप्रति मानवअधिकार मैत्री व्यवहार, समग्र जनसमुदाय र जनहितकारी प्रवृति, सभ्यताका न्यूनतम मापदण्डको पालना समेतका विषयमा नगरप्रहरीलाई विशेष तालिमको खाँचो रहेको मानव अधिकारकर्मीहरूको भनाइ छ।

‘त्यसतर्फ पनि तपाईं लगायत अन्य पालिका प्रमुखहरूको ध्यान जाओस् भन्ने हाम्रो अनुरोध छ। नेपाल प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीको कार्यक्षेत्रको सीमा, अधिकारको दायरा र अन्तर्सम्बन्ध स्पष्ट पार्न सङ्घीय कानुन संशोधनका लागि पनि हाम्रो पहल रहने नै छ,’ उनीहरूले भनेका छन्।

उनीहरूले आफ्नो सोच र कार्यशैलीलाई आवश्यक परिमार्जन र समायोजन गरेर तानाशाही, निरङ्कुश र मानवअधिकार उल्लंघनकर्ताको खराब छवि निर्माण तर्फको बाटो परित्याग गर्न पनि आग्रह गरेका छन्।

कानुनको शासनको मातहतमा चल्ने लोकतान्त्रिक नेताको रूपमा स्थापित हुने बाटोमा अग्रसर हुन तर्फ आफ्नो ध्यान केन्द्रित गर्न उनीहरूले मेयर शाहलाई आग्रह गरेका छन्।

मानव अधिकारकर्मीहरू अनिता न्यौपाने थपलिया, इला शर्मा, कनकमणि दीक्षित, कमल बिक, कृष्ण गौतम, कुन्दन अर्याल, चरण प्रसाईं, जेबी विश्वकर्मा, दिनेश त्रिपाठी, धनबहादुर मिजार, नितु पोख्रेल, निराजन थपलिया, बिदुर सुवेदी, प्रकाश महर्जन, प्रकाशमणि शर्मा, प्रेम सापकोटा, विकास बस्नेत, भक्त विश्वकर्मा, भगवती अधिकारी, भावना भट्ट, मनोग्य शर्मा, मारिसा टेलर, रमेशप्रसाद तिमिल्सिना, राजुप्रसाद चापागाईं, रेनु अधिकारी, लक्ष्मण बस्नेत, शर्मिला श्रेष्ठ, सरोज फुयाल, सुरेन्द्र सिं, सुशील प्याकुरेल, सोम निरौला, हरि शर्माले मेयर बालेनलाई खुला पत्र लेखेका हुन्।

खुला पत्र यस्तो छ:

An-open-letter-to-Mayor-Balendra-Shah.NEP-1709457240

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ