मन्त्रालय र मन्त्री बाँडफाँट टुंग्याउन दलहरू छलफलमा, गृह र अर्थमा सबैको दाबी

मन्त्रालय र मन्त्री बाँडफाँट टुंग्याउन दलहरू छलफलमा, गृह र अर्थमा सबैको दाबी

UML-RSP-and-Maoist-Center-1024×683

सत्ता गठबन्धन दलका नेताहरू गठबन्धनमा सामेल हुने दल र मन्त्रालय बाँडफाँटको टुंगो लगाउन आन्तरिक छलफलमा छन् । पार्टीभित्र क–कसलाई सरकारमा सामेल गराउने भन्ने विषयमा पनि दलहरूभित्र छलफल चलिरहेको छ ।

गठबन्धनमा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल छन् । प्रदेशको समेत सत्ता समीकरणलाई लिएर चार दलले नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीसहित अन्य साना दलहरूलाई समेत गठबन्धनमा सामेल गराउने प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सामेल गराएर अघि बढ्न जोड दिएका छन् । गठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार साँझ दोस्रोपटक भेट गरे । बुधबार बिहानै उनले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका छन् ।

मंगलबार साँझको भेटमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीसहित नेताहरूलाई लिएर कोटेश्वरस्थित नेपाल निवास कोटेश्वर पुगेका थिए । प्रधानमन्त्री दाहालको आग्रहमा एकीकृत समाजवादीले बुधबार मध्यान्हसम्मको समय मागेको छ । नागरिक उन्मुक्ति पार्टीले पनि त्यतिञ्जेल समय माग गरेको नेताहरूले जनाएका छन् । सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल गर्न एकीकृत समाजवादीको सचिवालयको बैठक बस्दैछ ।

सत्ता गठबन्धनको मन्त्रालय बाँडफाँट कार्यदल पनि छलफलमै छ । मंगलबार कार्यदलमा केहीबेर छलफल भए पनि गृह मन्त्रालय कसले लिने भन्नेमा सहमति भएको छैन ।

‘सबैको चासो गृह र अर्थमा छ । अझ मुख्यगरी गृह मन्त्रालयमा सबैको दाबी परेको छ,’ कार्यदलका एक सदस्यले भने । बुधबारसम्म गठबन्धनमा सामेल हुने दलहरूको टुंगो लाग्ने र त्यसपछि मन्त्रालय बाँडफाँटको टुंगो लगाउने तयारी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds