गण्डकीसहित तीन प्रदेश प्रमुखले लिए शपथ

शपथ

गण्डकीसहित तीन प्रदेश प्रमुखले लिए शपथ

pradesh-pramukh-sapath

काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि नियुक्त भएका तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतलनिवासमा भएको एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिएका हुन् ।

शपथ लिनेमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ, मधेश प्रदेश सुमित्रा भण्डारी सुवेदी र गण्डकी प्रदेशमा डिल्लीराज भट्टले रहेका छन् ।

उनीहरुलाई सोमबारको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको थियो ।

को हुन् प्रदेशका नयाँ प्रमुख भट्ट ?

गण्डकीका प्रदेश प्रमुखमा सिफारिस डिल्लीराज भट्ट सुदूरपश्चिमकै पुराना वामपन्थी नेताका रूपमा चिनिन्छन् । उनी दुई वर्ष अघि राष्ट्रियसभा निर्वाचनमा एमालेबाट उम्मेदवार पनि थिए ।

जित्ने अवस्थामा राष्ट्रिय सभाको उम्मेदवारको सूचिमा नअटाएका एमालेका तिनै पुराना नेता भट्ट हार्ने बेला भने पार्टी नेतृत्वको पहिलो रोजाइमा परे । र, उम्मेदवार बनाइए । परिस्थिति प्रतिकुल भए पनि पार्टी निर्णय उनले सहर्ष स्वीकार गरे । अन्ततः पराजित पनि भए ।

हाल केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका उनै ७६ वर्षीय भट्टलाई अध्यक्ष केपी शर्मा ओलीले अहिले प्रदेश प्रमुख बनाएर न्याय गरेका छन् ।

वि.सं. २००४ सालमा डोटीको जोरायल गाउँपालिका रिठामा जन्मिएका भट्ट हाल धनगढी उपमहानगरपालिका बस्दै आएका छन् ।

२०२६ सालमा पार्टी सम्पर्क पुगेका भट्टले २०२८ सालमा पार्टीको सदस्यता लिए । २०३० देखि ०४६ सालसम्म भूमिगत भएर नेकपा मार्क्सवादीमा सक्रिय रहेका उनी २०४८ सालमा नेकपा एमालेसँग एकीकरण भएपछि डोटी जिल्ला संयोजक भए । एकीकरणपछि गठन भएको नेकपा एमालेको पहिलो जिल्ला संयोजकका रूपमा एक वर्ष काम गरेका भट्ट त्यसपछि भएको निर्वाचनमा जिल्ला कमिटीको उपसचिव भए ।

त्यही क्रममा २०५१ सालमा सुकुम्वासी समाधान आयोगको डोटी जिल्ला अध्यक्ष भए । पछि उनी पार्टीको जिल्ला सचिवमा निर्वाचित भए ।

२०५६ सालमा एमालेले भट्टलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनायो । तर उनी नेपाली काँग्रेसका उम्मेदवार सिद्धराज ओझासँग पराजित भए । उनी निरन्तर पार्टीका लागि खटिइरहे ।

भट्टले नेकपा एमालेको सेती अञ्चल कमिटी स्कुल विभाग प्रमुखको भूमिका पनि निर्वाह गरेका थिए । नेकपा एमाले र माओवादी केन्द्र बीच एकीकरण भएपछि गठन भएको नेकपाका उनी सुदूर पश्चिम अनुशासन आयोग प्रमुख समेत भए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds