बसको अगाडिको साँघुरो भागले भुँई टेकेर ठडिएको एउटा तस्वीर शनिबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल बन्यो । कतिपयले बस यसरी अडिनै नसक्ने भन्दै पत्याउन नसकेको कमेन्ट पनि देखिए ।
पोखरा महानगरपालिका–२७ अर्चलेमा भएको दुर्घटनामा बस साँच्चै यसरी ठडिएको हो ? भनेर हामीले कास्की ट्राफिक प्रमुख प्रहरी निरीक्षक भानु शर्मासँग पनि सोध्यौँ । उनले तस्वीरमा देखिएझैं बस ठडिएको पुष्टि गरे । तर, बसमा चालक र सहचालक मात्र रहेको, उनीहरू सामान्य घाइते भएको र अन्य यात्रु नभएकाले मानवीय क्षति भने भएन ।
दुर्घटना दुःखद भएपनि मानवीय क्षति नभएकोले सडकमा असामान्य रूपले ठाडो परेको बसको तस्वीर रोचक देखिएपछि सामाजिक सञ्जाल तात्न पुग्यो ।
प्रहरीका अनुसार लेखनाथ यातायात प्रालिको ग १ ख ८६८० नम्बरको बस बिहान साढे ९ बजे आरुपाटाबाट पोखरा फर्किने क्रममा अर्चलेमा पल्टिएको थियो ।
दुर्घटनामा चालक पोखरा–२७ आरुपाटाका ४२ वर्षीय टीकाराम विक र सहचालक पोखरा–१४ चाउथेका ४१ वर्षीय शालिकराम सुवेदी घाइते भए । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार पछि डिस्चार्ज भइसकेका छन् ।
‘दुर्घटनाको प्रकृति हेर्दा बसमा यात्रु भएको भए ठूलो संख्यामा क्षति हुने रहेछ,’ प्रहरी निरीक्षक शर्माले भने, ‘शनिबार रिजर्भ गएर फर्किएको बसमा यात्रु रहेनछन् ।’
प्रहरीका अनुसार बस सोही रुटमा चल्ने गर्थ्यो । चालक टीकारामले ब्रेक फेल भएका कारण बस पल्टिएको बयान दिएका छन् । तर प्रहरीले प्राविधिकसहित चेकजाँच गर्दा गाडीको ब्रेक ठीक रहेको र चालकले घुम्ती मोड्न नसक्दा पल्टिएको पाइएको जनाएको छ ।
बस माथिल्लो सडकबाट २० मिटर तल खसेको छ । घुमाउरो अनि साँघुरो सडक भएकाले घुम्ती मोड्न चालकले नसकेको प्राविधिकले बताएका छन् ।
कास्कीका एसपी मोहनकुमार थापाले बस पल्टिँदा चालक र सहचालक गाडीबाट भाग्न सफल भएकाले मानवीय क्षति नभएको बताए । ‘गाडीका दुईपट्टि ढोका खुल्दा चालक र सहचालक भाग्न सफल भएछन् । ढोकाले गाडी ठड्याउन मद्दत गरेको देखिन्छ,’ एसपी थापाले भने, ‘बस दुई बल्ड्याङ खेलेपछि सडकमा ठडिएको रहेछ । साँघुरो, घुम्ती नै घुम्ती भएको सडकमा चालकले गाडी ओभरस्पिड चलाएपछि दुर्घटना भएको देखिएको छ ।’
केही घण्टापछि क्रेन लगेर बस सडकमा सिधा पल्टाइएको थियो ।

तस्वीरः सामाजिक सञ्जाल

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो