नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन्। शुक्रबार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचितलाई सपथ कार्यक्रममा पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको भन्दै पार्टीका आफ्ना उद्देश्य र नीति नछोडीकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता रहेको बताए।
उनले देशलाई राम्रो बाटोमा लैजाने अभिभारामा आफूहरु सफलतापूर्वक अघि बढेको जिकिर गरे। उनले केही समयअघि एमाले बिनाको नेपाल र ओली बिनाको एमालेको कल्पना गरेको भन्दै उनीहरुप्रति दया लागेर आउने बताए। उनले एमाले र देशलाई ठिक बाटोमा अघि बढाउन अझै २० वर्ष आफूले सक्रिय भएर काम गर्ने बताए। उनले देशबाट गरिबी, भोकमरी हटाएपछि मात्रै नेकपा एमालेले सुस्केरा हाल्न सक्ने बताए।

उनले भने- ‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमालेबिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोर परार भनेको थिए । जुँगा कालाकाला भएका छन् । मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफैले पलाउन थालेको छ । अस्ति नै मैले भने २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ ।’
‘नेकपा एमाले र यस देशलाई ठिक बाटोमा बढाएर, यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर अनि मात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ,’ उनले भने, ‘अहिले हामीलाई समय छैन । हामी व्यस्त छौँ ।’
उनले भने, ‘नेकपा एमाले अहिले नयाँ समीकरणको सरकारमा छ। तर पार्टी आफ्नाआफ्ना छन्। पार्टीका आफ्नाआफ्ना नीति छन्। पार्टीका आफ्नाआफ्ना उद्देश्य छन्। आफ्ना उद्देश्य नछोडिकन, आफ्ना नीति नछोडिकन अहिलेको अवस्थामा सरकारमा सँगै बसेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने, अपसंस्कृति र सांस्कृतिक अधोपतनलाई फेरि सुबाटोमा फर्काउनुपर्ने अभिभारा छ। हामीले कदम चालेका छौँ। ‘

ओलीले पूर्व पार्टी प्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने गलत परिपाटी बसाइएको बताए । उनले आफूले अध्यक्ष छोडेपछि वरिष्ठ नेता भएर अध्यक्षको छेउमा बसेर यो चाहियो, त्यो पनि चाहियो भनेर नबस्ने बताए ।
उनले माधव नेपाल र झलनाथ खनालको नाम लिएर उनीहरूले जस्तो आफूले नगर्ने बताएका छन । उनले भने, ‘माधव नेपालले १५ वर्ष पार्टी अध्यक्ष भएर चलाए, प्रधानमन्त्री पनि भए । अनि भन्छन्, मलाई खोइ, मेरो के भयो त रु मैले के पाएँ ?’ ओलीले भने, ‘अहिले समीकरणमा हुनुहुन्छ । त्यो पनि ख्याल गर्नुपर्नेछ फेरि मैले झण्डै–झण्डै बिर्सिएछु ।’ उनले झलनाथ खनालले पनि १३ वर्ष पार्टी प्रमुख र प्रधानमन्त्री भए । त्यसपछि मेरो भाग खोइ त भनेर खोजे ।
ओलीले भने, ‘म त्यस्तो गर्दिनँ ।’ उनले पूर्व पार्टी प्रमुख स्वतः वरिष्ठ नेता भएर अध्यक्षकै छेउमा बस्ने, दोस्रो वरीयताको नेता बन्ने अनि झन्झट दिने काम गलत भएको अब एमालेमा त्यस्तो नहुने ओलीको बताएका छन । उनले भने, ‘म तपाईंहरूलाई अहिल्यै भन्न चाहन्छु । म अध्यक्ष छोडेपछि अध्यक्षको छेउमा बसेर यो पनि चाहियो, त्यो पनि चाहियो भन्दिनँ ।
मागेको सहयोग दिने हो, मेरो हैसियत के भनेर त्यहाँ लफडा गर्न जाने होइन,’ म सकुन्जेल काम गर्छु, अध्यक्ष छोडेपछि अर्काले मजाले काम गर्न पाउनुपर्छ । फेरि वरिष्ठ नेता बनेर छेउमा बसेर खिचिखिचिखिचि हुँदैन । म गर्दै गर्दिनँ ।’
एमालेलाई एक्ल्यायौं भन्नेहरूलाई एउटा धक्का दिएको ओलीको भनाइ थियो । ओलीले कांग्रेसलाई संकेत गर्दै एमालेलाई एक्ल्याइयो भनेर उत्सव मनाउन व्यस्त हुनेहरूले ढलेपछि यसरी ढाल्न पाइन्छ भनेर कराएको बताएका छन ।
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?