पोखराको गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध वन मुद्दा दायर

पोखराको गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध वन मुद्दा दायर

Gandaki-bording-school

पोखरा । विद्यालय परिसरभित्र रहेका रूख काटेर बिक्री गरेको आरेपमा गण्डकी बोर्डिङ स्कूलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

पोखरा–१६ स्थित सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालय परिसरभित्रका सिसौ, सल्लालगायतका रुखहरु काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

बोर्डिङ स्कुलभित्रका रूखहरू कटान गरी बाहिर फर्निचरमा बिक्री गरेको भन्ने उजुरीपछि जाँचबुझ एवं अनुसन्धान गर्दा स्कुल परिसरको खेलकुद ग्राउण्ड, छात्राबास र कम्पाउण्ड बालसँग जोडिएका सिसौ, सल्लालगायतका विभिन्न २५ वटा रूखहरू काटिएको पाइएको जनाएको छ ।

वन नियमावली, २०७९ को दफा ३७ बमोजिमको प्रक्रिया पूरा नगरी कटान गरेको, रुखहरूबाट उत्पादित दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले कोटेशनबाट लिलाम बढाबढ गरी ६० हजारमा बिक्री गरेको अभियोग छ । गण्डकी प्रदेश वन ऐन, २०८० को दफा ६६ कोसमेत उल्लंघन गरेको अनुसन्धानबाट पुष्टि भएको पाइएको हो ।

सिनियर म्यानेजमेन्ट टिम भनिएका प्रधानाध्यापक वीरेन्द्र खड्कासमेतले रूख हटाउने स्वीकृती नलिई रूख कटान गरी दाउरा बेचबिखन गरेको भन्दै ३ लाख ७९ हजार ४०० बराबरको वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा उल्लेख छ ।

खड्कासहित ८ जनालाई १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजाय माग दाबी गरिएको छ । पोखरा–१६ का खड्कासहित लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र शुक्लागण्डकी–९ का यज्ञराज शर्माविरुद्ध गत २७ गते मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ