उपेन्द्र यादव नेतृत्वको जसपा फुट्यो, अशोक राईसहित ७ सांसदले दिए नयाँ दल दर्ताका लागि निवेदन

माधव नेपालको बार्गेनिङ पावर समाप्त

उपेन्द्र यादव नेतृत्वको जसपा फुट्यो, अशोक राईसहित ७ सांसदले दिए नयाँ दल दर्ताका लागि निवेदन

माधव नेपालको काँग्रेस र जसपासँग मिलेर प्रधानमन्त्री खाने रणनीति असफल पार्न जसपा विभाजन

ashok-rai-upendra-yadav

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएको छ । जनता समाजवादी पार्टी, नेपालका ७ जना सांसदहरुले पार्टीबाट अलग्गिएर नयाँ दल दर्ताको निवेदन दिएका छन्।

आइतबार निर्वाचन आयोगमा पुगेर पार्टीका वरिष्ठ नेता अशोककुमार राईसहितका नेताहरुले जनता समाजवादी पार्टी नामक दल दर्ताको निवेदन दिएका हुन्।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान विपरित काम गरेको भन्दै पार्टीबाट अलग्गिनुपरेको नेता राजेन्द्र श्रेष्ठ बताउँछन्।

उनले जसपा, नेपालमा रहेका १२ जना सांसदमध्ये ७ जना सांसद आफूहरुसँग रहेको दाबी गरे। उनले सरकारलाई समर्थन भने जारी रहने बताए।

राईलाई नवलकिशोर साह, रेणुकुमारी यादव, हसिना खातुन, डा. वीरेन्द्र महतोले साथ दिएका छन्। त्यस्तै प्रदीप यादव र सुशीला श्रेष्ठले राईलाई साथ दिएका छन्।

अध्यक्षमा राई रहेका छन् भने रेणुकुमारी यादव, नवलकिशोर साह, रणध्वज लिम्बू, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ।

संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन्। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ। सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन्।

हाल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने अमेरिकाको भ्रमणमा रहेका छन्।

नयाँ दलको नाम जनता समाजवादी पार्टी (जसपा) प्रस्तावित गरिएको छ । यसअघि उपेन्द्र यादव अध्यक्ष  रहेको जनता समाजवादी पार्टी नेपालबाट नेपाल भन्ने शब्द हटाएर आफूहरुले जनता समाजवादी पार्टी नामको दल दर्ताका लागि निवेदन दिएको सांसद प्रदीप यादवले बताए ।

माधव नेपालको काँग्रेस र जसपासँग मिलेर प्रधानमन्त्री खाने रणनीति असफल पार्न जसपा विभाजन

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको ‘कनेक्सन’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पछिल्लो सक्रियतासँग रहेको पाइएको छ ।

नेपालले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समेत साथमा लिएर वैकल्पिक गठबन्धनका लागि प्रयास गरिरहेका बेला जसपा विभाजन भएको हो ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अमेरिका उड्नुअघि नेपालले उनीसँग गोप्य छलफल गरेका थिए ।

‘माधव नेपाल र उपेन्द्र यादव मिलेर एक-एक वर्ष प्रधानमन्त्री बन्ने र यो गठबन्धन ढाल्ने खेल भइरहेको थियो, त्यसैविपरीत जसपा विभाजन भएको हो,’ विश्वस्त स्रोतले भन्यो ।

उपेन्द्रले यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि गोप्य छलफल गरेका थिए ।

प्रस्तावित नयाँ दलका कार्यकारिणी समिति अध्यक्ष अशोक राई ‘कम्युनिस्ट’ पृष्ठभूमिका हुन् । उनले सुनसरीबाट एमालेको समर्थनमा चुनाव जितेका थिए ।

संघीय परिषद् अध्यक्षमा प्रस्ताव गरिएका राजेन्द्र श्रेष्ठ पनि उस्तै पृष्ठभूमिका छन् ।

रञ्जु ठाकुर नेकपा एमालेबाट प्रतिनिधित्व गरिसकेकी पूर्व सभासद (वर्तमान सांसद) समेत हुन् ।

प्रस्तावित जसपाका महासचिव मोहम्मद ईश्तियाक राईले वर्तमान सरकारलाई समर्थन कायम रहने बताएका छन् ।

‘उपेन्द्र यादवको तानाशाही र अधिनायकवाद विरुद्ध विद्रोह भएको हो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहन्छ’, राईले  भने ।

दल विभाजनको निवेदन लिएर निर्वाचन आयोग पुगेका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले उपेन्द्र यादव वर्तमान सरकार ढाल्ने पक्षमा रहेकाले आफूहरूले विद्रोह गरेको बताए ।

के हुँदै थियो खेल ?

पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेससहितको वैकल्पिक गठबन्धनका लागि प्रयास गरिरहेका छन् ।

सके माओवादीसहितको पुरानो गठबन्धन ब्युँताउने, नसके कांग्रेस, राप्रपा, जसपा, एस, जनमत, लोसपा र नागरिक उन्मुक्ति समेत मिलाएर वैकल्पिक गठबन्धन बनाउने उनको प्रयास थियो ।

सोही खेल बिगार्न अहिले जसपा विभाजन भएको स्रोतको दाबी छ । जसपा विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको हात देखिन्छ ।

जसपा विभाजन गर्ने राई एमाले पृष्ठभूमिका हुन् । उनलाई धरानमा चुनाव जिताउन ओली आफैं खटिएका थिए ।

प्रतिनिधिसभामा १२ सीट रहेको जसपाका ७ सांसदले नयाँ दल दर्ताका लागि आइतबार निवेदन दिएपछि अब उपेन्द्रसँग ५ सांसद मात्र बाँकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds