काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोक्न नमान्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको आरोप लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सहकारी घोटालाको समाचार लुकाउन आफूहरूलाई गरेको धेरैपटकको आग्रहलाई अस्वीकार गर्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका सिरोहियालाई नागरिकता कसुरमा पक्राउ गरिएको जिकिर सम्भवले गरेका हुन् ।
नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालयले जिल्ला अदालत धनुषा दिएको अनुमतिका आधारमा गत जेठ ८ गते सिरोहियालाई कान्तिपुरको थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको थियो । उनी धनुषा प्रहरीमा चार दिन, जनकपुरस्थित काब्या अस्पतालमा तीन दिन र मेडिसिटी अस्पताल ललितपुरमा २ दिन बसेर जेठ १६ गते रिहा भइसकेका छन् ।
सम्भवले सहकारी घोटाला जनतामाझ ल्याउने क्रममा गृहमन्त्री लामिछानेले धेरै ‘रिक्वेस्ट’ गरेर समाचार लुकाइदिन भनेको पनि जिकिर गरेका छन् ।
उनले उक्त समाचार नलेखेर आफ्नो आग्रह अनुसार मिलाइदिन रविले गरेको आग्रह नमानेपछि प्रतिशोध साँधेर मन्त्री पद दुरुपयोग गरेर आफ्ना बुवालाई पक्राउ गराएको दाबी गरेका छन् ।
‘हामीले कहिल्यै कान्तिपुरलाई व्यापारका रुपमा हेरेनौँ । माओवादी, एमाले, कांग्रेस, राप्रपा कुनै पनि दलका र भ्रष्टाचारविरुद्ध कान्तिपुरले जहिले पनि स्ट्यान्ड लिएको छ, लिइराख्ने छ,’ उनले भनेका छन्, ‘यसैगरी आज एउटा अर्को नयाँ दलको भ्रष्टाचार देखिँदा कान्तिपुरले लुकाउन सक्दैन । सत्यलाई जनतामाझ लिएर आउनुपर्छ । यसपाली गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेको सहकारी घोटाला जनतामाझ ल्याउने क्रममा उहाँले धेरै ‘रिक्वेस्ट’ गर्नुभयो। समाचार लुकाइदिन र मिलाइदिन भन्नु भयो । उहाँले आफूले गरेको पत्रकारिता जस्तै सोच्नुभयो । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ भन्ने सोच्नुभयो । उहाँलाई कति बुझाउन खोजियो व्यवस्थापनले समाचार लेख्दैन र कान्तिपुरमा सम्पादकीय समूह स्वतन्त्र छ । उहाँले यो कुरा बुझ्न सक्दै सक्नुभएन ।’
सम्भवले गृहमन्त्रीको अनुरोध नमानेकै कारण बुवा पक्राउ परेको दाबी गरेका छन् । ‘गृहमन्त्रीको ‘रिक्वेस्ट’मा कान्तिपुरले सेटिङ गरेन । अनि उहाँ तल्लोस्तरमा उत्रिनुभयो । पदको दुरुपयोग गरेर झुटो मुद्दामा कान्तिपुरका अध्यक्ष एवम् मेरो बुवा कैलाश सिरोहियालाई पक्राउनु भयो ।’
जिल्ला अदालत धनुषाको अनुमतिपछि जिल्ला प्रहरी कार्यालयले पठाएको पत्रका आधारमा पक्राउ परेका सिरोहिया ९ दिन हिरासत र अस्पतालमा बसेर हाजिरी जमानीमा छुटिसकेका छन् ।
तर उनीविरुद्ध नागरिकता कसुरसम्बन्धी मुद्दा जिल्ला अदालत धनुषामा विचाराधीन छ । कैलाशविरूद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दाको एउटा पक्षलाई गम्भीर आरोप लगाउँदै सम्भवले यो भिडियो सार्वजनिक गरेपछि पक्ष-विपक्षमा फेरि बहस सुरु भएको छ ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु