काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।
उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि थापा फरार थिए ।
उक्त प्रकरणमा थापाले विचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो । भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो ।
यस प्रकरणमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए ।
प्रतीकलाई आइतबार अदालतमा पेश गरिने भएको छ ।
भोलि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार उनलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनी अदालतबाट पक्राउ पुर्जी जारी भएको झण्डै १४ महिनामा शुक्रबार पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुुसार, पूर्वगृहमन्त्री पुत्र प्रतीक कहिले भारतको देहरादुन त कहिले सिलगढी बस्दै आएको खुलेको थियो । ‘कहिलेकाहीँ नेपालमा पनि आइरहेका छन् भन्ने सूचना थियो’, स्रोतले भन्यो, ‘त्यहीक्रममा नेपाल आएको थाहा पाएपछि पक्राउ गरेका हौं ।’
पक्राउ पुर्जी जारी भएलगत्तै थापाले प्रेस वक्तव्य जारी गरेर ‘संवेदनशील विषय भएकाले अनुसन्धानलाई सहयोग गर्ने’ बताएका थिए । तर हालसम्म फरार थिए ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।
दुलाल र भण्डारीको बयानबाट यो प्रकरणमा हाई–प्रोफाइलहरूको संलग्नता खुलेको थियो । त्यसक्रममा पूर्वगृहसचिव, मन्त्रीदेखि नेताहरूका छोराहरूले रकम लिएकोसम्म उनीहरूले बयान दिएका थिए ।
के थियो प्रतीकको संलग्नता ?
भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार पीडित प्रेमराज पन्थीले जाहेरीमा आफूले रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई जोरपाटीको एक रेष्टुरेन्टमा भेटेको उल्लेख गरेका छन् ।
‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २०७७ सालको असोज महिनाको ८/१० गतेतिर मलाई जोरपाटीमा बोलाएका थिए, त्यहाँ केशवप्रसाद दुलाल, प्रतीक थापासँगै बसेका थिए,’ उनले भनेका छन्, ‘त्यतिबेला प्रतिक थापाले म, रामशरण केसी र सागर राईलाई तपाईंहरूको काम अब अगाडि बढ्छ, रकम जम्मा गरेर केशव दुलाललाई दिनु भनेका थिए ।’
त्यसअनुसार चिरञ्जीवी आचार्यमार्फत आएको १ करोड रुपैयाँ रातो–सेतो रंगको जेब्रा झोलामा होलेर स्कुटरमा नगद लिएर आउ भनेको स्थानमा गएको उनले उल्लेख गरेका छन् ।
‘त्यसरी भनेको निलगिरि रेष्टुरेन्टमा जाँदा त्यहाँ प्रतीक थापा र केशवप्रसाद दुलाल दुवै जनाले नगद भएको झोला गाडी पार्किङमा रहेको कारमा राखिदिनु भनेका थिए,’ उनले भनेका छन्, ‘त्यसपछि म र रामशरण केसीले नगद भएको झोला झिरेर राखिदिएको हो ।’
काम हुन्छ/हुन्छ भन्दाभन्दै झुलाएकोमा पछि संसद् विघटन भएपछि भण्डारीले नेता टोपबहादुर रायमाझीसँग कुरा गरेको उनले भनेका छन् । त्यतिबेला टोपबहादुरले ‘फेरि हाम्रो सरकार आएपछि मात्र तपाईंहरूको काम हुन्छ भनेको’ जाहेरीमा उल्लेख छ ।
यसपछि भण्डारी र दुलाललाई रकम फिर्ता गर्न दबाब दिन थालेको भन्दै उनले भनेका छन्, ‘यसपछि रकम फसेको र काम पनि नहुने भएपछि मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि निवदेन दिएको थिएँ ।’
रकम फिर्ता गर्न दबाब दिंदा प्रतीक थापाले इन्द्रजीत राई (तत्कालीन सुरक्षा सल्लाहकार) को सुनाकोठीमा भएको फ्याक्ट्री आफूलाई पास गरिदिनुपर्ने र आफूले ६० प्रतिशत रकम फिर्ता गर्ने बताएको भनिएको छ ।
प्रतिवादी सानु भण्डारीले प्रतीक थापाले भनेअनुसार उनकी आमा नैनकला थापालाई समेत पैसा दिन भनेको खुलाएका थिए । बादलका छोरा प्रतीक र अर्का प्रतिवादी सन्देश शर्मा साथी भएकाले उनीसँग भेट भएको प्रतिवादीहरूको भनाइ थियो ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन