पोखरा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नको लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले त्यसको लागि राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास गरिने बताए । अब चुनाव अगाडि गठबन्धन समेत नबनाइने उनको दावी छ ।
केन्द्रमा पनि चुनाव अगाडि गठबन्धन नबनाउने, एकल चुनावमा प्रतिष्पर्धा गर्ने हो, यसमा नेपाली कांग्रेस सहमत हुने देखियो, हाम्रो त माओवादी केन्द्रलाई समेत सहमत गराएर राष्ट्रिय सरकार बनाउने प्रयत्न हो’ – उनले भने ।
हरेक पटक केपी ओली प्रधाननमन्त्री हुँदा मात्र संविधान संशोधन हुने गरेको भन्दै भूगोल र जनसंख्या नमिलेर चुनाव नहुने अवस्थाको सिर्जना हुँदा तथा नेपालको भूभाग समेटेर नक्सा प्रकाशित गर्दा भएको संविधान संशोधनको स्मरण उनले गराए ।
‘७ सय ५३ वटा स्थानीय तह छन्, सातवटा प्रदेश तह छन्, सबैलाई सानो नपारिकन स्थायी सरकार पनि हुने भएन, जनतामा आर्कषण पनि हुने भएन त्यसैले हामी संविधान संसोधन गर्न चाहन्छौ’ अधिकारीले प्रष्ट पारे ।
यसैगरी समानुपातिक तर्फको प्रदेशको संख्या काटेर प्रत्यक्ष मात्र राख्ने र सानो साइजको प्रदेश सरकार बनाइने बताए ।
गण्डकी प्रदेशमा १२ वटा मन्त्रालयको पुगेर खर्च बढेको अवस्थामा आफूले सिधै ७ वटामा झारेको र यो कदमले जनतामा त्यतिबेला आशाको सञ्चार जगाएको सुनाए । हाल सातवटै प्रदेशमा रहेका प्रदेश प्रमुखको संख्या समेत जम्मा एक जनामा झारिने खुलाए ।
‘समानुपातिकतर्फकोलाई एउटा संख्यामा पु¥याएर राष्ट्रिय सभामा पु¥याउने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रदेश प्रमुख पनि सात वटाबाट घटाएर एकैजनाले सबैतर्फ काम गर्ने अवस्था ल्याउने तयारी छ ।’ उनले भने ।
एमाले अध्यक्ष केपी ओलीसँग शेरबहादुर देउवाले असार १५ गते छलफल गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्रीले देउवालाई भेटेर जुल्फी हल्लाएको कारण सरकार परिवर्तनको अवस्था आएको बताए ।
यो चक्र घुमिरहने भएकोले यसलाई सामान्य रुपमा लिन उनको आग्रह छ । जनताले व्यवस्थाप्रति प्रश्न चिन्ह उठाइरहेकोले पुरानै राजनीतिक दलमा सुधार ल्याएर जनताको विश्वास जित्ने प्रयास समेत रहेको उनको भनाई छ ।
’प्रतिशोध साँधेर हुँदैन, हामी कसैलाई आरोप लगाउँदैनौ कसैप्रति विरोध पनि गर्दैनाैँ । हामी सबै मिलेर देश बनाउँछौँ ।’ – उनले भने । यो व्यवस्थामाथि अराजकता आउँदाखेरी व्यवस्था सुदृढ गर्ने कुराको पहल भएको उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी, नेकपा एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री लगायतले बोलेका थिए ।
राष्ट्रिय युवा संघ नेपालले ३ लाख विरुवा रोप्ने लक्ष्य राखेकोले सोही अनुसार ७३ औं मदन जयन्तीको अवसरमा कार्यक्रम गरिएको कास्की अध्यक्ष शंकर पौडेलले बताए ।

शिवशक्ति आधारभुत विद्यालयको प्राङ्गणमा भएको वृक्षारोपण कार्यक्रममा कुल ४ सय ८४ वटा फलफुलका विरुवा रोपिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन