काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन् ।
सोमबार पदभार ग्रहण गर्दै उनले सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने बताइन् ।
‘पहिलाभन्दा अहिले हामीसँग धेरै सूचना छ । अहिले जीआईएस छ, स्याटेलाइट इमेजरी छ,’ उनले भनिन्, ‘बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुपर्दैन, तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुन्छ ।’
कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या कसरी समाधान गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समस्या समाधान गर्न सकिने बताइन् । उनले आफू जादु र चटकमा विश्वास नगर्ने भन्दै भूराजनीतिक विषय जटिल हुने धारणा राखिन् ।
मन्त्री राणाले विदेशमा बसोबास गर्ने नेपालीका लागि धेरै काम गर्न आवश्यक रहेको बताइन् । ‘हामो नागरिक अरुको देशमा बसिरहेका छन्, कतिले नागरिकता लिए, कतिले व्यापार गरेर बसेका छन्, कोही पढ्दैछन् । उनीहरूका लागि हामीले के गर्न सक्छौं, हामीले रिभ्यू र रिथिंक गर्नुपर्नेछ,’ उनले भनिन् ।
विगतमा आफूले क्यानेडियन दूतावासमा काम गर्दा उनीहरूले आफ्ना नागरिकको संरक्षणका लागि के गर्छन् भन्ने थाहा पाएको परराष्ट्रमन्त्री राणाले बताइन् ।
अन्तर्राष्ट्रिय निकायहरूमा नेपालीको उपस्थिति कम रहेको भन्दै उनले अहिले आफ्नो व्यक्तिगत क्षमतामा मात्र नेपालीले अन्तर्राष्ट्रियस्तरमा उचाइ हासिल गरेको बताइन् । त्यसमा राज्यको स्तरबाट पहल गर्ने उनको भनाइ छ ।
पहिलो निर्णय : राष्ट्रिय दिवसमा मित्र राष्ट्रलाई सन्देश पठाउने
पदभार ग्रहणपछि उनले राष्ट्रिय दिवसमा मित्र राष्ट्रका राष्ट्र प्रमुखलाई सन्देश पठाउने निर्णय गरेकी छिन् । यो उनको पहिलो निर्णय हो । यसअघि राजतन्त्र हुँदासम्म मात्रै यो प्रचलन थियो ।
त्यसअघि उनले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर स्व. नेता बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेकी थिइन् । नेपाली कांग्रेसकी नेत्री डा. देउवा लामो समयदेखि नेपाली कांग्रेसको नेतृत्व तहमा रहेर काम गर्दै आएकी छन् । उनी संविधान सभा सदस्य, नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेकी छन् ।
उनीसँग सामाजिक क्षेत्रमा रहेर महिला, बालबालिकाको हकहितका क्षेत्रमा पनि निरन्तर काम गर्दै आएको अनुभव छ । प्रतिनिधि सभा सदस्य डा. राणाको जन्म वि.सं. २०१८ माघ १३ गते भएको हो । उनी एक वर्षदेखि कृषि, सहकारी र प्राकृतिक स्रोतसम्बन्धी संसदीय समितिको अध्यक्षका रूपमा कार्यरत छिन् ।
सन् १९९६ मा कांग्रेसमा प्रवेश गरेकी डा. राणा २०२१ डिसेम्बरदेखि पार्टीको निर्वाचित केन्द्रीय सदस्य हुन् । उनी २०१० देखि नेपाली कांग्रेसको पार्टी महाधिवेशन र केन्द्रीय समिति सदस्य छिन् । उनले सन् २०१० देखि २०२० सम्म दश वर्ष नेपालको संविधानसभा र संसद्को सदस्यको रूपमा कार्य गरिन् ।
यसैगरी, उनी संविधान मस्यौदा समितिको सदस्य र महिला संसदीय समन्वय समितिको अध्यक्ष भइन् । उनले संविधान लेखन कार्यमा सबै तहमा महिलाको हक, विशेषगरी प्रजनन अधिकार, समान नागरिकता, समान सम्पत्तिको हक, महिलामाथि हुने हिंसा र समतामूलक तथा समान राजनीतिक प्रतिनिधित्वको विषयमा आवाज उठाइन् ।
उनी लैङ्गिक अभियन्ता र सामाजिक कार्यकर्ता हुन् । डा. राणाले नेपालमा आरयुडब्लूयुसी, साथी, एसएमएनएफ लगायत महिला तथा बालबालिकासँग सम्बन्धित गैरसरकारी संस्था स्थापना गरेकी छन् । उनी नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु