आइजीपीको जिब्रो थुत्नुपर्ने भनेको विषयमा प्रधानमन्त्री ओलीले ‘सचेत’ गराउनुभयोः सञ्चारमन्त्री गुरूङ

आइजीपीको जिब्रो थुत्नुपर्ने भनेको विषयमा प्रधानमन्त्री ओलीले ‘सचेत’ गराउनुभयोः सञ्चारमन्त्री गुरूङ

ps gurung rss

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी समायोजनबारे दिएको अभिव्यक्तिलाई लिएर उनको जिब्रो थुत्नुपर्ने भनी अभिव्यक्ति दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन् ।

आफूलाई सचेत गराएको खुलासा स्वयं सञ्चारमन्त्री गुरुङले गरेका हुन् । राष्ट्रिय समाचार समितिद्वारा २४ घण्टा समाचार सेवा आरम्भका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले आफूलाई त्यस्तो शब्द नबोल्न प्रधानमन्त्री ओलीले सचेत गराएको र आफू पनि सचेत भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै गुरुङले ओलीसँग विविध विषयमा कुरा हुने क्रममा अन्त्यमा जिब्रो थुत्नुपर्ने भनी दिएको अभिव्यक्तिबारे कुरा भएको बताए । ‘उहाँले त्यस शब्द कुन सन्दर्भमा भन्नुभयो भनेर सोध्नुभयो, मैले त्यसबारे बताए । अनि तपाईंले भनेको त ठिकै हो । तर तपाईं जिम्मेवार र सरकारको प्रवक्ता समेत रहेकाले बोल्दा अबदेखि त्यस्ता शब्द नबोल्नु होला र लामो पनि नबोल्नु होला भनेर सचेत गराउनुभयो । मैले सचेत भए भनेको छु’ गुरुङले भने ।

गुरुङले शनिवार पोखरामा आयोजित पत्रकार भेटमा प्रहरी महानिरीक्षकले प्रहरी समायोजनमा असहयोग गरेको आरोप लगाएका थिए । उनले वर्तमान प्रहरी महानिरीक्षकले प्रहरी समायोजनसम्बन्धी कानुन आए मान्दिनँ भनेको आफैँले कतै सुनेको भन्दै मन्त्री गुरुङले आक्रोश पोखेका थिए।

‘अहिले प्रहरीको आइजिपीले के भन्नु भो , म यो कानुन लागू नै गर्दिनँ भन्नुहुन्छ । त्यस्तो बोल्न पाउने कि नपाउने  ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी । सरकारको नीतिको, व्यवस्थाको विरुद्धमा एउटा संस्थाको प्रमुखले बोल्न पाउँदैन नि । प्रहरी ऐन ल्याउँदै ल्याउँदिन भन्ने टाइपको बोल्यो रे भन्ने सुनेको मैले । सङ्घीय प्रहरी ऐन सङ्घीय सापेक्ष कानुनअनुसार ल्याउनुपर्छ । हामी त्यो प्रक्रिया अगाडि बढाउँछौँ,’ गुरुङले भनेका थिए ।

सङ्घीय प्रहरी ऐन लागू गर्दिनँ भनेर प्रहरी प्रमुखले भनेको भन्दै उनको जिब्रो थुत्नुपर्ने गुरुङको भनाई छ । गुरुङले सोमबार पनि निजामती ऐनको कर्मचारीबाट र प्रहरी ऐनको प्रहरीबाट विरोध भइरहनु जायज नभएको तर्क गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ