बागलुङ । बागलुङका ग्रामीण सडक सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती भएको छ । वर्षाका कारण गत असारदेखि अवरुद्ध भएका सडक दसैँमा पनि सञ्चालन नहुँदा सामान ढुवानी तथा यात्रा गर्न समस्या भएको हो ।
जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, बडिगाड गाउँपालिकासहित १० वटै पालिकाका ग्रामीण सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । दसैँअगावै सबै सडक सञ्चालन गर्ने भनिए पनि अविरल वर्षाका कारण खुलाउन नसकिएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । यहाँका मुख्यमुख्य सडक सञ्चालन भए पनि केही सडक चाँडै खुलाउने तयारी भइरहेको उनले जानकारी दिए । अध्यक्ष घर्ती भन्छन्, “गाउँपालिकाभित्रका सबै सडक दसैँमा सञ्चालन गर्ने योजना थियो तर अविरल वर्षाका कारण केही सडक खुलाउन सकिएन । अब केही दिनमा सञ्चालन हुने गरी काम गर्छौँ ।”
बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले दसैँअघिको वर्षाले बडिगाडमा ठुलो क्षति पुर्याएको हुँदा वडा ९ र १० का विभिन्न स्थानका सडक सञ्चालन गर्न नसकिएको बताए । पालिकाले वर्षात्का कारण अवरुद्ध सडक खुलाउनका लागि रु ६० लाख विनियोजन गरे पनि त्यसले केही ठाउँका सडक मात्र सञ्चालनमा गर्न सकिएको उनले बताए । गाउँपालिकाभित्र रहेका दर्लिङ, नयाँगाउँ, मालारानी, आरुपाटा, निगलपानी पुग्ने सडक पूर्ण रूपमा ठप्प भएको अध्यक्ष अधिकारीको भनाइ छ ।
दसैँमा गाउँमा मोटरबाटो सञ्चालन नहुँदा बोकेरै सामान ढुवानी गर्नुपरेको स्थानीय चन्द्रकान्त बुढामगरले गुनासो गरे । साउन महिनामा पहिरोले सडकको ट्र्याक नै बगाएपछि यातायातका साधन चल्न छोडेको भन्दै दसैँमा टाढाटाढाबाट आउने आफन्तहरूले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।
“साउनदेखि नै समस्या थियो तर दसैँमा त समस्या समाधान होला सोचेका थियौँ, यहीबेला वर्षाले धेरै ठाउँमा पहिरो गएर थप समस्या भयो । सडक नखुल्दा दसैँसमेत खल्लो हुनुपुग्यो”, बुढामगरले भने ।रासस
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा