यमपञ्चकसमेत भनिने तिहारको पाँचौ अर्थात् अन्तिम दिन आज भाइटीका । दिदीबहिनीले दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर भाइटीका पर्व मनाइन्छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनी पूर्व र दाजुभाई पश्चिम फर्किएर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ ।
राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणहरुले भने बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
तिहारको टीकाको दिन दिदीबहिनीले दाजुभाईलाई तथा दाजुभाईले दिदीबहिनी एकाअर्कालाई टीका लगाइदिएर सुखी, खुशी, दीर्घायु र समृद्धिको कामना गर्ने गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । टीका लगाएपछि दाजुभाईले दिदीबहिनीलाई दान, दक्षिणा एवम् वस्त्र दिने परम्परा छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ ।
बालगोपालेश्वर खुलाइने
काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि आजैका दिन खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।
खञ्जनेश्वर महादेवमा भक्तजन
यसैगरी, जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवम् दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । “विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भिड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भिड लाग्छ”,उनले भने ।
विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेको जनाइएको छ ।
– राससको सहयोगमा
सम्बन्धित खबर
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु
आज बालाचतुर्दशी पर्व मनाइँदै
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
खुल्ला भजन चुड्का प्रतियोगिता हुने
आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र विशेष पूजा
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य