कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मङ्गलबार रुपन्देहीमा बयानका लागि लगिने भएको छ ।
२४ दिनदेखि सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार लामिछानेलाई भोलि (मंगलबार) बिहान विमानबाट भैरहवा लगिनेछ । ‘आज सोमबार नै ल्याउने तयारी थियो तर प्लेनको फ्लाइट सेड्युल चेन्ज भएको रहेछ, भोलि बिहान (मंगलबार) ल्याउने निश्चित भएको छ,’ एसपी राठौरले भने ।
यद्यपि भैरहवाको विमानस्थल बिहानमा नखुल्ने भएका कारण ल्याउन ढिलाइ हुनसक्ने राठौरको भनाइ छ । विमानस्थलबाट लामिछानेलाई सिधै भैरहवामा रहेको जिल्ला प्रहरी कार्यालयमा राखिने छ । त्यसपछि जिल्ला सरकारी न्यायधिवक्ताको कार्यालयमा लगिने छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही प्रहरीले उनलाई कास्कीबाट लैजाने तयारी गरेको हो। यसका लागि रुपन्देही अदालतबाट प्रहरीले अनुमति लिइसकेको छ ।
कात्तिक २ गतेदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही पठाउन प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ।
प्रहरीले लामिछानेलाई रुपन्देही ल्याउँदा सहकारी पीडित र रास्वपा कार्यकर्ताको सम्भावित प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा समेत जिल्ला सुरक्षा संयन्त्रका बीचमा अनौपचारिक छलफल गरिएको छ ।
रुपन्देही जिल्ला अदालतबाट प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न हिरासतमा रहेका लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति लिइसकेको छ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन्। बञ्जाडेलाई यसअघि नै रुपन्देही ल्याएर बयान गरि कास्की पठाईसकिएको छ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ।
२ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेका छन्। ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष बञ्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ।
उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ। लामिछाने र बञ्जाडे दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ।
गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन्। केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ। रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन्।
संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु ९जीवी० राई र पूर्व उपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा अनुसन्धानमै रकम लगेको देखिएपछि लामिछानेलाई प्रतिवादी नबनाएको भन्दै सहकारी पीडितले प्रश्न उठाउँदै आएका थिए।
प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए। तर अहिले प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित खबर
पत्रकार महासंघमा यस्तो बन्यो चुनावी गठबन्धन, यूनियन र चौतारी एक ठाउँ
स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरी फर्किए भुटानका राजा
घाँटी छिनाएर एक महिलाको विभत्स हत्या
नेपाल प्रहरीको जवान पदमा भर्ना खुल्यो
भुटानका राजा–रानी आज काठमाडौँ आउँदै
आज विवाहपञ्चमी पर्व मनाइँदै
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ
दुई युवकमाथि आक्रमण गर्ने लमजुङका सुमित र सुशनसहित ४ पक्राउ