सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
पोखरा रंगशालामा आजदेखि सुरु पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सरकारको सपना पोखरालाई सबै हिसाबले समृद्ध बनाउने रहेको उल्लेख गरे।
‘गण्डकी प्रदेश स्रोत र साधनले सम्पन्न छ। मानवीय प्रयासले अझ शान्त र सभ्य, समृद्ध बनाउने हाम्रो सपना छ । पर्यटकीय राजधानीसँगै पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्दछ’, सञ्चारमन्त्री गुरुङले भने। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पोखरालाई खेलकुद राजधानीसँगै शिक्षा र स्वास्थ्यको राजधानी बनाउनका लागि भौतिक पूर्वाधार निर्माण सरकारको योजनामा रहेको बताए।
टाइगर कप भलिबलसहित, आहा रारा गोल्डकप फुटबल, अन्तर्राष्ट्रिय म्याराथनलगायतका प्रतियोगिताले यहाँको खेलकुदको विकासमा सहयोग गरेको उनको भनाइ थियो। मन्त्री गुरुङले पोखरामा ‘आइटी पार्क’ र ‘डाटा सेन्टर’ बनाउने सरकारको योजना रहेको सुनाए।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले खेलकुद विकासलाई महानगरले प्राथमिकतामा राखेको बताए। खेल र खेलाडीका लागि महानगरले सहयोग गर्दै आएको समेत उनले जानकारी दिए।
पोखरा रंगशालामा आजदेखि सुरु प्रतियोगिता यही माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ छ गरी कूल १२ टोलीको सहभागिता छ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले गण्डकी प्रदेशमा लोकप्रिय भलिबल खेल विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग पुग्ने बताए।
प्रतियोगितामा विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी छन्। पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाएका छन्।
महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन्।
प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पाउनेछन्। दोस्रो हुनेलाई रु दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेलाई रु एक लाख ८५ हजार पाँच सय ५५ ट्रफी र पदक प्रदान गरिनेछ।
महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउनेछन् भने दुवैतर्फ विधागत उत्कृष्ट खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो