पर्यटन राजधानी पोखराको लोकप्रिय गन्तव्य पाताले छाँगो अर्थात् डेभिज फल्स पोखरा महानगरपालिका आफैंले सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाको आह्वानमा आइतबार बसेको सर्वपक्षीय बैठकले डेभिज फल्समा जारी अवरोध हटाई तत्काल सञ्चालन गर्ने निर्णय गरेको हो ।
डेभिज फल्समा महानगरपालिका आफैंले कानुन बमोजिम पर्यटन शुल्क उठाउने र महालेखा परीक्षक कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि प्रक्रिया थाल्ने निर्णय भएको छ । स्थानीय छोरेपाटन माविले सञ्चालन गर्दै आएको डेभिज फल्स विवादका कारण माघ १ गतेदेखि बन्द छ ।
बैठकको निर्णयमा भनिएको छ, “तत्कालै डेभिज फल्समा लगाएको ताला खोलेर महानगर आफैंले कानुन बमोजिम पर्यटन शुल्क उठाइ डेभिज फल्स सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखाले औँल्याएको बेरुजु फछ्यौटको लागि कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।”

डेभिज फल्समा परियोजना सञ्चालन गर्ने सम्बन्धमा बैठकले सरोकारवाला पक्षबिच छलफल गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नगर प्रमुख आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहित सुरक्षा निकायका प्रमुखहरू लगायतका सरोकारवाला सहभागी थिए ।
यहाँ प्रवेश टिकटबाट वर्षमा तीन करोड हाराहारी रकम सङ्कलन हुने गरेको छ । गत वर्ष झण्डै साढे चार करोड रकम सङ्कलन भएको बताइन्छ ।
महानगरपालिकाले छाँगोमा सिसाको पुल लगायतका पूर्वाधार निर्माण गर्ने र सञ्चालन गर्न निजी कम्पनीलाई दिने सम्झौता गरिसकेको छ । छोरेपाटन माविले २०३४ चैत ३१ देखि छाँगो सञ्चालन गर्दै आएको थियो । तत्कालीन नगर योजना समितिले छाँगो छोरेपाटन माविलाई हकभोग गर्न दिएको थियो । अहिले छाँगोवरिपरि तीन दर्जन व्यावसायिक सटरसमेत छन् ।
महानगनरले सेती क्यान्योन प्रालिलाई २०७८ साउन १४ गते छाँगोमा सिसाको पुल निर्माण र अन्य पूर्वाधार विकास आयोजना सञ्चालनका लागि ४० वर्षका लागि जिम्मा दिने सम्झौता थियो । सम्झौताबारे विवाद भएपछि त्यो कार्यान्वयन हुन सकेको छैन ।

सम्बन्धित खबर
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा