पोखरा । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्याली सम्पन्न भएको छ।
बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचारप्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित यो र्यालीमा सयौं मोटरसाइकल चालकहरू सहभागी भए।
र्याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको थियो। र्यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, शितलादेवी, कुँडहर, मियापाटन, अमरसिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्तिले मोटरसाइकल र्यालीले पोखरावासीमा धार्मिक जागरण र सामाजिक एकताको सन्देश प्रवाह गरेको बताए। “यो र्यालीले महायज्ञप्रतिको उत्साहलाई अझै बढाएको छ। पोखरेली जनताको सहभागिताले हामीलाई थप प्रेरणा मिलेको छ,” उनले भने ।
र्यालीमा सहभागी मोटरसाइकल चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर, प्लेकार्ड र झण्डाहरू प्रदर्शन गरे। धार्मिक भजन र सन्देशमूलक नाराहरूले र्यालीको वातावरणलाई उत्साहपूर्ण बनाएको थियो। स्थानीय बासिन्दा र दर्शकहरूले र्यालीलाई हौसला प्रदान गर्दै स्वागत गरे।
आजको अतिथिको विशेष आकर्षणमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा होन्डा मोटरसाइकल बिक्रेता चन्द्र कुँवरको सहभागिता रहेको थियो। उनले मोटरसाइकल र्यालीको आयोजनाले सामाजिक एकता र धार्मिक उत्साहलाई प्रोत्साहन गरेको भन्दै आयोजकलाई धन्यवाद दिए ।
मानवसेवा फाउण्डेशनले महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरूको आयोजना गरिरहेको छ। फाउण्डेशनका अनुसार बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली र बैशाख १६ गते बृहत् कलशयात्रा आयोजना हुनेछ। यसअघि बैशाख ११ गते साइकल र्याली र बैशाख १२ गते ट्याक्सी र्याली सम्पन्न भइसकेका छन्।
र्यालीको सफलताले पोखरेली जनतामा महायज्ञप्रति थप उत्साह जागेको आयोजकको ठहर छ। फाउण्डेशनले आगामी कार्यक्रमहरूमा सहभागी भई महायज्ञलाई भव्य र सभ्य बनाउन सबैमा अपिल गरेको छ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो