उदीयमान खेलाडीमा बादल, जितबहादुर र रचनाको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड?

उदीयमान खेलाडीमा बादल, जितबहादुर र रचनाको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड?

emerging player nominee

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ ।

यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ। यसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी रचना चौधरी, भलिबलका जितबहादुर सार्की र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् ।

बादल कार्की (एथलेटिक्स)

एथलेटिक्स खेलाडी बादल कार्की २०८१ सालमा वर्षभरी नै व्यस्त रहे । बागलुङ काठेखोला गाउँपालिका ७ का १८ वर्षीय बादलले डोमेस्टिक प्रतियोगितादेखि नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याए । उनले यु–२० साउथ एसियन क्रस कन्ट्री प्रतियोगितामा टिम इभेन्टमा काश्य पदक जिते । यस्तै भारतमा भएको साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा १५ सय मिटर र ३ हजार मिटरमा चौथो स्थान हासिल गर्न सफल रहे ।

युएईमा भएको एसियन यु–२० एथ्लेटिक्स च्याम्पियनसिपमा १५ सय मिटमार १३औं र ८ सय मिटरमा ९औं स्थान हासिल गरे । पोखरा सञ्चालन हुने सफल पोखरा म्याराथनमा ३ वर्ष अघि नै भाग लिएका थिए । सानै उमेरमा उनले ४२ किलोमिटर दुरी पूरा गरे । यसपालिको पोखरा म्याराथनमा १० किलोमिटरमा काश्य र पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्रीमा ५ किलोमिटरतर्फ स्वर्ण पदक जिते । यसबाहेक पनि बादल विभिन्न प्रतियोगितामा सहभागी भए र पदक पनि ल्याए ।

गत वर्षको सुरुआतमा भएको १४ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथ्लेटिक्स खेलमा दुई स्वर्ण पदक जिते । उनले १५ सय र ८ सय मिटर इभेन्टमा पहिलो हुँदै स्वर्ण जितेका हुन् । दौडमा लाग्नका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका सोमबहादुर कुमालबाट प्रभावित भए । सोमले टिकटकमा हालेको भिडियोहरु देखेर बादललाई पनि त्यस्तै धावक बन्ने इच्छा जागेको थियो र त्यसलाई फलो गर्दै दौडमा लागेको बताइन् ।

जितबहादुर सार्की (भलिबल)

स्याङ्जाका जितबहादुर सार्कीले गएको शनिबार एपिएफविरुद्ध गण्डकी प्रदेशको सिनियर टोलीबाट डेब्यु गरे । प्रथम लायन्स कप भलिबल प्रतियोगिताअन्तर्गतको उक्त खेलमा गण्डकी एपिएफसँग स्तब्ध हुन पुग्यो । तर, डेब्यु गरेका जितबहादुर भने सबैको नजरमा पार्न सफल भए । उमेर समूहमा नेपालकै प्रतिनिधित्व गरिसकेका जितबहादुर गण्डकीको सिनियर टोलीबाट भने पहिलोपटक अवसरमा पाएका हुन् । उक्त अवसरलाई उनले सम्भावनामा बदल्न सफल रहे ।

सानैदेखि भलिबल खेल्ने इच्छा भएका जितबहादुर ‘दाईहरु’ खेलेको लुकीलुकी हेर्ने गर्थे । त्यहि लगावका कारण उनलाई दाईहरुले बेलाबखत खेल्ने मौका दिन्थे । मौकालाई जितबहादुरले भरपुर सदुपयोग गर्थे । सोही कारण गत असारमा भएको प्रथम सहाना प्रधान स्मृति यू–१९ भलिबल प्रतियोगितामा स्याङ्जा जिल्ला हुँदै प्रदेशबाट छनोटमा परे ।

पहिलोपटक राष्ट्रिय स्तरको प्रतियोगिता खेलेका जितबहादुरले टोलीलाई च्याम्पियन मात्र बनाएनन् । आफु प्रतियोगिताकै वेष्ट लिविरो घोषित भए । सोही प्रदर्शनका आधारमा उनी गत असोजमा श्रीलंकामा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीमा पर्न सफल भए । पहिलोपटक देशको प्रतिनिधित्व गर्ने अवसर पाए । उक्त प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । त्यसमा उनले उत्कृष्ट प्रदर्शन गरे ।

जितबहादुर अहिले गण्डकीको मात्र होइन राष्ट्रिय टोलीकै हिस्सेदार बन्न सफल भएका छन् । उनलाई विभागीय टोलीबाट समेत अफर आइसकेको छ । तर, केही समय गण्डकी प्रदेशबाट खेल्ने उनको योजना छ ।

रचना चौधरी (क्रिकेट)

स्कुलको खेल मैदानबाट सुरू भएको रचना चौधरीको क्रिकेट यात्रा यू–१९ विश्वकपसम्म आइपुगेको छ । सुदूरपश्चिमको कैलाली जिल्लामा जन्मिएकी उनी बाल्यकालमै पोखरा बसाइँसरेकी थिइन् । मजदुरी गर्ने बुबाआमाले उनलाई स्कुल भर्ना गराएका थिए । तर, रचनाको क्रिकेटप्रतिको रुचि भने लुकेको थियो । क्रिकेट खेल्न चाहिएको सामान किन्न पैसा मागेपछि मात्रै उनका अभिभावकले थाहा पाए—रचना खेलाडी बन्दैछिन् । पोखराका स्कुलमा मेरिलिबोन क्रिकेट क्लबअन्तर्गत सञ्चालन भएको एमसीसी फाउन्डेशन कार्यक्रमले उनलाई क्रिकेटमा थप नजिक बनायो । स्कुलस्तरमै देखिएको उनको प्रतिभा प्रशिक्षकहरूको नजरमा प¥यो र उनले जिल्ला हुँदै गण्डकी प्रदेशको टिममा स्थान बनाइन् । प्रधानमन्त्री (पीएम) कपमा राम्रो प्रदर्शन गरेपछि उनी यू–१९ विश्वकप छनोटको लागि क्लोज क्याम्पमा परिन् ।

छनोट प्रतियोगितामा एकै खेलमा चार विकेटसहित ११ विकेट लिँदै उनी नेपालकी सर्वाधिक सफल बलर बनिन् । त्यसपछि एसिया कप र विश्वकपमा पनि अवसर पाइन् । नेपाली महिला टोलीले पहिलोपटक विश्वकप खेल्दा उनी पनि त्यसमा सामेल भइन् । एसिया कप र विश्वकपमा औषत प्रदर्शन गरेकी उनीले गत माघमा घरेलु मैदानमा भएको त्रिदेशीय महिला टी–२० आई सिरिजमा नेपालको सिनियर टोलीबाट डेब्यु गरिन् । डेब्यु खेलमै उनले थाइल्याण्डविरुद्ध विकेटसमेत लिन सफल भइन् । उनले नेपाली महिला राष्ट्रिय टोलीबाट ९ खेल खेलिसकेकी छन् । त्यसयता उनी सिनियर टोलीबाट पनि खेल्दै आएकी छन् ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने अध्यक्ष मगरले बताए । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्ने मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ