पोखरा । नेकपा एमाले पर्वत जिल्ला कमिटीले गण्डकी प्रदेश कमिटीद्वारा जारी विज्ञप्तिप्रति कडा आपत्ति जनाएको छ ।
जिल्ला कमिटी सचिव सुवासचन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा घटनाको यथार्थ बुझ्न नसकी प्रदेश कमिटीले सार्वजनिक रूपमा धारणा सार्वजनिक गर्नु गम्भीर र पार्टीविरुद्धको कार्य भएको बताएको छ । उक्त विज्ञप्तिले तथ्य तोडमोड गरी भ्रम सिर्जना गरेको जनाइएको छ ।
पार्टी जिल्ला कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको यथार्थ विवरण जिल्ला नेतृत्वसँग नबुझी तथ्य विपरित वक्तव्य प्रकाशित गर्नुले आम पार्टी कार्यकर्ता र शुभेच्छुकहरूमा भ्रम फैलाएको छ। यस्तो विज्ञप्तिले पार्टी हित होइन, अराजक गुटगत प्रवृत्तिलाई मलजल पुर्याउँछ।’

पोखरामा जेठ ९ देखि ११ गतेसम्म राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय महाधिवेशन हुँदै छ । केन्द्रीय महाधिवेशन मिति तय भइसक्दा पनि पर्वतको नवौँ जिल्ला अधिवेशन हुन सकेको थिएन ।
पार्टी जिल्ला कमिटीको पटक–पटकको आग्रह र पहल पश्चात युवा सङ्घका केन्द्र, प्रदेश तथा जिल्लास्तरीय नेताहरूको सहभागितामा यही वैशाख २४ गते अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको थियो। तथापि, पार्टी एकता र संवादलाई मध्यनजर गर्दै विस्तारित भेला आयोजना गरेर त्यसै भेला मार्फत अधिवेशन आयोजक कमिटी गठन गर्ने सहमति भएको थियो।
राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना तथा उपमहासचिव पृथ्वीसुब्बा गुरूङसँग निकट अर्जुन निर्जन पौडेलसहित युवा संघ जिल्ला अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीलगायत अधिवेशन नगर्ने पक्षमा थिए ।
भेला चलिरहेकै बेला गण्डकी प्रदेश कमिटी सदस्य पौडेल नेतृत्वको समूहले कार्यक्रम स्थलमा आएर मञ्चमा चढी होहल्ला, ब्यानर च्यात्ने, माइक र कुर्सी तोडफोड गर्ने कार्य गर्दै जिल्ला अध्यक्ष गोविन्द पहाडीमाथि साङ्घातिक आक्रमण गरेको आरोप जिल्ला कमिटीले लगाएको छ ।
जिल्ला कमिटीले फेसबुक स्टाटस तथा सामाजिक सञ्जालको भरमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति पनि आपत्ति जनाउँदै ती सबै भ्रामक र एकपक्षीय भएको दाबी गरेको छ ।
पार्टीभित्र अनुशासन र विधिको पालना हुनुपर्नेमा जोड दिँदै जिल्ला कमिटीले जिल्ला अध्यक्षमाथिको हमला कदापि क्षम्य हुन नसक्ने बताएको छ । पार्टीको अनुशासन र मर्यादालाई कुल्चेर भएको यस्ता गतिविधिमाथि तत्काल कडा कारवाही गर्न केन्द्रसमक्ष आग्रह गरिएको छ ।
जिल्ला कमिटीले आक्रमणमा परेका जिल्ला अध्यक्ष गोविन्द पहाडी, प्रदेश सदस्य अर्जुन पौडेलसहित घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको विज्ञप्तिमा विधिसम्मत विवाद हल गर्नुको साटो जिल्ला कमिटीकै उपस्थितिमा कुटिएको भनेर अध्यक्ष गोविन्द पहाडीलाई दोषी देखाइएको छ । जिल्ला कमिटीको विज्ञप्तिमा भने घटनाको यथार्थ विवरण जिल्ला नेतृत्वसँग नबुझी प्रदेश कमिटीले तथ्यविपरीत विज्ञप्ति निकालेर भ्रम सिर्जना गरेको उल्लेख छ ।
जिल्ला अधिवेशनदेखिकै गुटबन्दीको उत्कर्ष बुधबारको झडप र कुटपिट प्रकरण भएको नेताहरु बताउँछन् । पर्वतमा गणेश तिमल्सिना, विकास लम्साल, कल्पना चापागाईँ, पदमपाणि शर्मालगायतका नेताहरू एकातिर छन् भने पदम गिरी एक्लै भारी परेका छन् ।
बुधबार कुटाइ खाएर घाइते भएका अर्जुन पौडेल तिमल्सिना पक्षका हुन् । पौडेल पक्षले हातपात गरेका जिल्ला अध्यक्ष पहाडी पदम गिरी पक्षका हुन् । त्यसैले एउटै पार्टीका कार्यकर्ताहरूबीच भएको एउटै घटनालाई पनि गुटबन्दीकै कारण प्रदेश र जिल्लाले फरक फरक विज्ञिप्त र फरक तरिकाले व्याख्या गरेका छन् ।
सम्बन्धित समाचारः
प्रदेश कमिटी सदस्य पौडेलमाथि आक्रमण गर्नेलाई कारबाही गर्न एमाले गण्डकीको माग
युवा संघ पर्वतको भेलामा दुई गुटबीच कुटाकुट, एमाले गण्डकी सदस्य पौडेल अस्पताल भर्ना
सम्बन्धित खबर
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु