पोखरा । दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्। रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा सहभागिता जनाउनेछन्।
विजेता रानामगरले २५ लूप अर्थात् २५ घण्टामा १६७ दशमलव ५५ किलोमिटर दौड पूरा गरेका थिए। शनिबार बिहान ८ बजे सुरु भएको दौड आइतबार बिहान ९ बजेसम्म सञ्चालन भएको थियो। फिट नेपालको आयोजनामा पोखराको भलाममा सम्पन्न भएको यस प्रतिस्पर्धामा विभिन्न देशका ५२ जना धावकले सहभागिता जनाएको कुरा संयोजक सुवास चन्द्र बस्नेतले बताए।
आयोजक तथा दौडका निर्देशक जितेश प्रधानले ब्याकयार्ड अल्ट्रा अनौठो र चुनौतिपूर्ण दौड रहेको बताए। उनले बताएअनुसार, सहभागीहरूले हरेक घण्टामा ६ दशमलव ७०५ किलोमिटर दूरी तय गर्नुपर्छ। यो दूरी एक राउन्डको रूपमा लिइन्छ र प्रत्येक राउन्ड १ घण्टा भित्र सम्पन्न गर्न अनिवार्य हुन्छ। दौडको मुख्य विशेषता भनेको, यो कुनै निश्चित दूरी वा समयसम्म मात्र सीमित हुँदैन। दौड तबसम्म चलिरहन्छ जबसम्म अन्तिम एक जना धावक मात्रै बाँकी रहन्छ। त्यस्तै नगद पुरस्कार प्राप्त गर्नका लागि कम्तीमा १२ लूप अर्थात् १२ राउण्ड पार गर्नुपर्नेछ।

प्रतियोगितामा मिलन कुलुङले पनि २४ लूप पूरा गरेका छन्। उनी पनि अन्तर्राष्ट्रिय ब्याकयार्ड अल्ट्रा प्रतियोगितामा सहभागी हुने कुरा आयोजकले बताए। प्रतियोगितामा महिला धाविका पदम कुमारी सुनुवारले १२ लूप पूरा गरी २० हजार रुपैयाँ प्राप्त गरेकी छिन्। यस प्रतियोगितामा महिला र पुरुष एउटै समूहमा रहेको हुँदा, सुनुवारलाई प्रोत्साहन स्वरूप उक्त रकम प्रदान गरिएको आयोजक पक्षका इश्वर गुरुङले बताए।
यस किसिमको दौडमा सहभागीहरूले प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जंगली जनावर र चराचुरुङीको आवाज सुन्न पाउने कुरा फिट नेपालको राजीव श्रेष्ठले बताए। सन् २०१० बाट अमेरिकामा ग्रे सेन्ट्रेलले सुरु गरेको यो प्रतियोगिता नेपालमा पनि खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी खेलाडी नेपालबाट सहभागी हुन सक्ने गरी विकास गर्ने लक्ष्य लिएको श्रेष्ठले बताए।
ब्याकयार्ड अल्ट्रा नेपालको पहिलो संस्करण गत माघ महिनामा भक्तपुरमा आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा अर्जुन कुलुङ राईले २१ लूप पूरा गर्दै उपाधि जितेका थिए।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला