पोखरा । मानव अधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना तथा यसको कार्यान्वयनको वर्तमान अवस्थाबारे अन्तरक्रिया कार्यक्रम गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन महाशाखा, राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा भएको कार्यक्रममा प्रदेश तथा स्थानीय तहमा मानव अधिकार कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको भन्दै सरोकारवालाले आगामी कार्ययोजनालाई थप प्रभावकारी बनाउनेतर्फ जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशसभा सभामुख कृष्णप्रसाद धितालले कारागारमा अझै पनि कैदीबन्दीलाई कोचाकोच गरेर राख्ने गरिएको उल्लेख गर्दै सुधार आवश्यक रहेको बताए ।
कार्यक्रमको सञ्चालन शिवप्रसाद खकुरेलले गरेका थिए । उनले मानव अधिकारको विश्वव्यापी घोषणापत्रले जन्मसिद्ध एवं नैसर्गिक अधिकारलाई मानव अधिकारका रूपमा परिभाषित गरेको बताउँदै संयुक्त राष्ट्रसंघको पहलमा बनेका महासन्धि र अनुबन्धहरूले त्यसलाई थप स्पष्ट पारेको उल्लेख गरे ।
कार्यक्रममा कानुन महाशाखाका उपसचिव सुरण शर्मा पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सभाध्यक्षता कानुन सचिव रामजी दनाईले गरेका थिए । उनले मानव अधिकार विश्वव्यापी अधिकार भएको उल्लेख गर्दै राज्यले यसको प्रत्याभूति दिलाउनु पर्ने बताए । ‘आगामी कार्ययोजना परिष्कृत बनाएर ल्याउँछौं, छलफल गर्छौं,’ उनले भने ।
राष्ट्रिय मानव अधिकार आयोगकी गण्डकी प्रदेश प्रमुख नीतु गर्तौलाले मानव अधिकारको प्रवद्र्धन तथा संरक्षणका लागि कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘मानव अधिकार कार्यान्वयनको आधारभूत उद्देश्य स्रोत साधनको अधिकतम उपयोगसहित संरक्षण र प्रवद्र्धन गर्नु हो ।’
उनले नेपाल सात वटा मुख्य मानव अधिकार महासन्धीको पक्ष राष्ट्र भएको स्मरण गराउँदै नागरिक समाज र निजी क्षेत्रको सहभागितामा आगामी कार्ययोजना बनाउनु पर्ने बताइन् । सामाजिक विकास तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकालले मन्त्रालयको तर्फबाट मानव अधिकार कार्यान्वयनमा चासो दिइएको बताए । प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रकारले मानव अधिकार उल्लंघनका घटना बाहिर ल्याउने भूमिका निर्वाह गरेको बताइन् । ‘पत्रकारितामार्फत पत्रकारहरुले मानव अधिकारको पक्षमा आवाज उठाएकी छौं,’ उनले भनिन् । कार्यक्रममा सहभागी विभिन्न सरोकारवालाले जमीनीस्तरका अनुभव सुनाउँदै राज्य र स्थानीय तहको भूमिकाबारे प्रश्न उठाएका थिए ।
मानव अधिकार समूह माछापुच्छ«ेका कुलप्रसाद अधिकारीले विद्यालयस्तरमा मानव अधिकार विषय पठनपाठनमा समावेश गरिनु पर्ने धारणा राखे । विष्णुप्रसाद बरालले राज्य सत्तामा जनताको प्रतिनिधिभन्दा पनि मालिकको शासन भइरहेको आरोप लगाए । ‘आँखामा छारो हान्ने काम भइरहेको छ,’ उनले भने । गोपाल खड्काले आफूजस्ता गैरसरकारी संस्थाहरूको भूमिकाबारे स्पष्टीकरण खोजे । रजनी थकालीले कार्ययोजनाको प्रभावकारिताबारे केही प्रश्नहरू उठाइन् भने मञ्जिला विश्वकर्माले आफू दलित भएकै कारण विभिन्न ठाउँमा विभेद र अपमान सहनु परेको अनुभव सुनाइन् ।
जिल्ला समन्वय समिति कास्कीका नवराज बरालले चौथो कार्ययोजना बनाउँदा सबैको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पाँचौँ कार्ययोजना सफल बनाउन स्थानीय तह सक्रिय हुनुपर्ने धारणा राखे । कोपिला नेपालकी कार्यकारी निर्देशक विना सिल्वालले जातीय विभेदका घटनाहरू अझै जारी रहेको बताउँदै नागरिक समाजको भूमिका अझ सशक्त हुनुपर्ने बताइन् ।
कार्यक्रममा मानव अधिकारको कार्यान्वयनमा देखिएको कमजोरीको समिक्षा गर्दै आगामी कार्ययोजना प्रभावकारी बनाउने विषयमा सुझावहरू संकलन गरिएको थियो । मानव अधिकारका सवालमा स्थानीयदेखि प्रदेश तहसम्मको समन्वय अपरिहार्य रहेकोमा सहभागीहरूले जोड दिएका थिए । अधिकांश पालिकामा कार्यान्वयन समितिहरू गठन नहुनु कार्ययोजनाको कमजोर पक्षका रूपमा उठाइएको थियो । तथापि, अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा केही अपेक्षित उपलब्धिहरू हासिल भएको निष्कर्ष पनि कार्यक्रममा निकालिएको थियो ।
सम्बन्धित खबर
रेडियो अन्नपूर्ण “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न
र्यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै
स्याङ्जाको केरा गाउँ ‘बाँस्टारी’
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा