सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ: प्रचण्ड

राजनीति

सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ: प्रचण्ड

'हामीले फेरि प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध एउटा नयाँ पहलकदमी, एउटा नयाँ प्रतिवाद, एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ'

prachanda

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसैँ र तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

तथाकथित नयाँ भनिएको सरकारले सुकुमबासी, अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप उनले लगाए। सरकारका गतिविधि र कार्यशैलीविरुद्ध प्रतिपक्षी दलहरूलाई एकै ठाउँमा ल्याउने कार्य भइरहेको उनले जानकारी दिए।

चाडपर्वपछि देशको परिस्थितिको मूल्याङ्कन गर्दै सरकारका गतिविधिहरूविरुद्ध सशक्त आन्दोलनमा उत्रिने तयारी भइरहेको उनले बताए। सरकारका कदमहरूका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको र पुनः पुराना तथा स्थापित राजनीतिक दल, नेता र उनीहरूका एजेन्डाप्रति आकर्षण बढ्दै गएको दाबी उनले गरे।

अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले भने, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। सरकारले सुकुमबासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ।’

आन्दोलनको तयारीबारे स्पष्ट पार्दै उनले थपे, ‘त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ। चाडपर्वपछिको देशको परिस्थिति हेरेर हामीले फेरि प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध एउटा नयाँ पहलकदमी, एउटा नयाँ प्रतिवाद, एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ।’

जनतामा जागेको चेतनाबारे बोल्दै उनले भने, ‘हामीलाई विश्वास छ, अहिले केही महिनाभित्रै यो नयाँ भनिएका सरकारका क्रियाकलापले जनतामा जुन दिग्भ्रमजस्तो भएको थियो, त्यो अब चिरिँदै छ। जुन भ्रम थियो त्यो च्यातिँदै छ। र एउटा नयाँ ढङ्गले फेरि स्थापित पार्टीहरू, स्थापित नेताहरू र उनीहरूको एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै छ।’

आफ्नो पार्टीप्रतिको जनलहरबारे चर्चा गर्दै उनले भने, ‘हामी मधेस, बागमती वा देशका जुनसुकै क्षेत्रमा जाँदा मैले के महसुस गरेको छु भने, जनतामा फेरि नेपाली कम्युनिस्ट पार्टीप्रतिको आकर्षण बढ्दो छ। हामी सबै आ-आफ्नो ठाउँबाट जनतामा गयौँ र जनतालाई बुझाउन सक्यौँ भने जनता छिट्टै हाम्रो आन्दोलनमा आउनसक्ने अवस्था छ।’

वर्तमान सरकारले नागरिकका आधारभूत समस्या समाधान गर्न र उनीहरूको पक्षमा काम गर्न पूर्ण रूपमा नसकेको आरोपसमेत संयोजक दाहालले लगाए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ