पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ ।
‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत सुरु भएको प्रतियोगिता दुई दिनसम्म चल्नेछ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फुटसल प्रतियोगिता सुरु गरेको हो ।
प्रतियोगिताको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जीतले उद्घाटन गरेका थिए । प्रतियोगिताका संयोजक तथा प्रतिभा माविका प्लस टु इन्चार्ज राकेश जोशीका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका २८ वटा टीमले सहभागिता जनाएका छन् ।
एसइइ परीक्षा दिएर फुर्सदिला बनेका विद्यार्थीलाई खेलकुद गतिविधिमा सक्रिय बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको जोशीले बताए । जोशीका अनुसार प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः २० र १० हजार रुपैयाँ पुरस्कार राशी सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ ।

प्रमुख अतिथि रञ्जीतले खेलाडी पहिचान गर्नका लागि यस्ता प्रतियोगिता उपयुक्त अवसर भएको बताए । ‘विद्यालय तहमा अध्ययन गरिरहँदा कतिपय विद्यार्थीले आफ्नो क्षमता देखाउने अवसर पाएका हुँदैनन,’ रञ्जीतले भने, ‘फुटसलका यस्ता प्रतियोगिता नयाँ खेलाडी पहिचान गर्ने अवसर हो । बेलैमा उनीहरुको क्षमता पहिचान गर्न सकियो भने त्यसले भविश्यमा अब्बल खेलाडी उत्पादन गर्न सघाउँछ ।’ फुटबल खेलाडी चन्द्र गुरुङले विद्यार्थीका लागि फुटसलको मैदान क्षमता देखाउने अवसर बनेको बताए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले फुटसल प्रतियोगिताले युवापुस्ताको पछिल्लो खेल चासोलाई सम्बोधन गरेको बताए । ‘अहिले टोलटोलमा फुटसल मैदान तयार छन । खेलका यी पूर्वाधारले स्वास्थ्यमा पनि लाभ दिलाएको छ । त्यस्तै, यसले नयाँ खेलाडी पहिचान र उत्पादनमा पनि योगदान दिएको छ,’ सापकोटाले भने, ‘खेलाडीले क्षमता देखाउने अवसर पनि पाएका छन् ।’ कतिपय खेलाडीमा खेलकौशल भएपनि अवसर नपाउँदा उनीहरुको प्रतिभा लुक्ने गरेको उनले बताए । ‘खेलाडीलाई सक्षमता प्रर्दशन गर्ने अवसर पनि यस्तै प्रतियोगिता हुन,’ उनले भने ।

विद्यालयले ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत गत असार १ देखि विभिन्न खेलकुद तथा रचनात्मक गतिविधिका प्रतियोगिता संचालन गरिरहेको छ । प्राचार्य सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि संचालन भएका थिए । शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । शनिबार हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।
यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिवल, टेवलटेनिस, ब्याडमिन्टन प्रतियोगिता सकिएका छन् । ‘यो खेल प्रतियोगिता मात्र होइन, एउटा फरक खालको महोत्सव पनि हो,’ प्राचार्य सापकोटाले भने, ‘यसले विभिन्न जिल्लाबाट आएका सहभागी विद्यार्थीलाई एकअर्कासँग सम्बन्ध बिस्तार गर्ने अवसर पनि दिएको छ । नयाँ साथी पहिचान गर्ने अवसर पनि यसले दिलाएको छ ।’
विद्यालयले अघिल्ला वर्ष पनि एसइइ दिएका विद्यार्थीका लागि यस्तै कार्यक्रम गर्दै आएको थियो । उनका अनुसार विद्यालयले खेलकुद र रचनात्मक गतिविधिमा सबै प्रतियोगितामा उत्कृष्ट हुनेलाई सबैगरि २ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार दिइने पनि विद्यालयले बताएको छ ।
सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?