देशभर १४ महिला उम्मेदवार विजयी, रास्वपा कै १३ जना

राजनीति

देशभर १४ महिला उम्मेदवार विजयी, रास्वपा कै १३ जना

female-candidatemain

पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा १४ जना महिला उम्मेदवार निर्वाचित हुन भएका छन् । तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै १३ छन् । अर्का एकजना काँग्रेस उम्मेदवार हुन्।

नेपालमा २०१५ सालको पहिलो आमनिर्वाचनमा ७ उम्मेदवारमध्ये १ जनामात्र निर्वाचित हुन सफल भएका थिए । त्यसयता संसद्मा महिलाको कहिले खुम्चिदै त, कहिले फराकिलो उपस्थिति देखिन्छ ।

यसपालिको निर्वाचनमा देशैभरि विभिन्न पार्टी र स्वतन्त्र गरी ३ सय ३८ महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकामा रास्वपा र काँग्रेसबाट १४ जना महिला उम्मेदवार विजयी भएका हुन् । रास्वपाले १६ र काँग्रेसले ११ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारहरू खडा गरेको थियो ।

त्यसैगरी, नेकपा (एमाले) ले १० र नेपाली कम्युनिष्ट पार्टीले ११ महिलालाई उम्मेदवार उठाएको थियो ।

रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा रानामगर झापा–२ मा ६० हजार ११० मतसहित विजयी भइन् । यस्तै चितवन–३ मा ५९ हजार २७७ मत ल्याएर सोबिता गौतम निर्वाचित भएकी छन् । झापा–१ बाट ४५ हजार ६८० मतसहित निशा डाँगी र सर्लाही–१ बाट ४४ हजार १८१ मतसहित नीतिमा भण्डारी कार्की विजयी भए ।

यसैगरी, डा. तोसिमा कार्की ललितपुर–३ बाट ४३ हजार ९६ मतसहित निर्वाचित भइन् । आशिका तामाङ धादिङ–१ बाट ३९ हजार १२८ मत ल्याएर विजयी हुँदा सप्तरी–१ बाट विजयी पुष्पाकुमारी चौधरी ३८ हजार १९५ मत, कास्की–३ बाट विजयी बिना गुरूङले ३७ हजार ७५० मतसहित निर्वाचित भए । बिना गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा रास्वपाबाट प्रत्यक्षमा एकमात्र महिला उम्मेदवार थिइन् ।

यसैगरी, रास्वपानेतृ आशा झा मोरङ–५ र गौरीकुमारी महोत्तरी–४ बाट विजयी भएका छन् । उनीहरूले क्रमशः ३० हजार ४३४ र ३० हजार १३२ मत पाए । रास्वपानेतृ कोमल ज्ञवाली कैलाली–१ बाट १७ हजार ८२६ मत र रञ्जु दर्शना न्यौपाने काठमाडौं–१ बाट १५ हजार ४५५ मत पाएर निर्वाचित भए । मोरङ–६ बाट रुबिना आचार्यले ५५ हजार ५१३ मतसहित चुनाव जितिन् ।

नेपाली काँग्रेसबाट महिला उम्मेदवारमा बासना थापाले मात्रै जित हासिल गरेकी हुन् । उनी दैलेख–१ बाट १२ हजार ३७२ मत ल्याएर प्रतिनिधिसभा सदस्य बनिन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७६९ मत पाए ।

२०४८ को आमनिर्वाचनमा ८ जना, ५१ को मध्यावधि निर्वाचनमा ७ जना, २०५६ को आमनिर्वाचनमा १२ जना महिला प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

सबैभन्दा धेरै २०६४ सालको पहिलो संविधानसभा चुनावमा ३० जना, ०७० को दोस्रो संविधानसभा चुनावमा १० जना, २०७४ को प्रतिनिधिसभा सदस्य चुनावमा ६ जना र २०७९ को प्रतिनिधिसभा सदस्य चुनावमा ९ जना महिलाले प्रत्यक्षतर्फ चुनाव जितेर संसदमा उपस्थिति जनाएका थिए । यसपालि कुल ३ सय ३८ जना उम्मेदवार रहेकामा १४ जनामात्र निर्वाचित हुन सफल भएका हुन् । गत २०७९ को चुनावमा २ सय २७ जना महिला उम्मेदवार थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ