स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. धनञ्जय रेग्मी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकाललाई १० हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ढकालले १८ हजार ८५७ मत पाए। यस निर्वाचन क्षेत्रमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
भूवैज्ञानिक तथा हिमनदी अध्ययनका विज्ञका रूपमा परिचित रेग्मी स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का स्थायी बासिन्दा हुन् । उनले जापानको होक्काइडो विश्वविद्यालयबाट सन् २००६ मा ‘माउन्टेन इन्भारोमेन्टल जियोसाइन्स एन्ड जियोलोजी’ विषयमा विद्यावारिधि गरेका छन् । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उनले लामो समय पर्यटन क्षेत्रको नीति तथा व्यवस्थापनमा काम गरेका छन् ।
बोर्डमा रहँदा नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवर्द्धन गर्ने, नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने र निजी तथा सरकारी क्षेत्रबीच सहकार्य बढाउने काममा उनले नेतृत्व गरेका थिए । कोभिड–१९ पछि पर्यटन क्षेत्र पुनर्जीवनका लागि तयार पारिएको रणनीतिमा पनि उनको सक्रिय भूमिका रहेको बताइन्छ । हाल उनी तालको पानी घटाएर जलविद्युत् उत्पादन गर्ने नयाँ प्रविधिमा समेत काम गरिरहेका छन् ।
करिब छ महिनाअघि मात्रै सक्रिय राजनीतिमा प्रवेश गरेका रेग्मी चुनावअघि स्याङ्जाका गाउँ–गाउँ पुगेर स्थानीय समस्या बुझ्ने अभियानमा व्यस्त थिए । पर्यटन क्षेत्रका जानकार र शिक्षित उम्मेदवारका रूपमा उनी सुरुदेखि नै बलिया प्रतिस्पर्धी मानिएका थिए ।
निर्वाचन अभियानका क्रममा उनले स्याङ्जा–१ लाई कृषि र पर्यटनको सम्भावना उपयोग गर्दै रोजगारी सिर्जना गर्ने समृद्ध क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेका थिए । ग्रामीण पर्यटन विस्तार, होमस्टे प्रवर्द्धन, युवालाई उद्यमशीलतामा जोड्ने तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने उनको एजेन्डा थियो । साथै सिद्धार्थ राजमार्ग स्तरोन्नति, मल कारखाना सञ्चालन र ढुंगा उद्योग स्थापना जस्ता योजनाको पनि उनले चर्चा गरेका थिए ।
यस पटकको परिणामलाई स्याङ्जा–१ को राजनीतिक इतिहासमा विशेष रूपमा हेरिएको छ । बहुदलपछिको निर्वाचन इतिहासमा यहाँ कांग्रेस र एमाले बाहेकका उम्मेदवारले पहिलो पटक जित निकालेका हुन् । यसअघि भएका सबै निर्वाचनमा यी दुई दलका उम्मेदवारले मात्रै विजय हासिल गर्दै आएका थिए ।
२०७९ सालमा कांग्रेसका राजु थापा निर्वाचित भएका थिए भने त्यसअघि २०७४ मा एमालेका नारायण मरासिनी विजयी भएका थिए । त्यसअघि २०७० मा कांग्रेसका राजु थापा, २०६४ मा एमालेका हितकाजी गुरुङ, २०५६ मा पनि गुरुङ, २०५१ को मध्यावधि निर्वाचनमा एमालेका त्रिलोचन ढकाल र २०४८ मा कांग्रेसका गोपालमान श्रेष्ठ निर्वाचित भएका थिए ।
निर्वाचन जितेपछि रेग्मीले जनताले उठाएका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उनले खानेपानी, सडक, बिजुली तथा बाँदर आतंकजस्ता स्थानीय समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्याङ्जा–१ मा हरिनास, अर्जुनचौपारी, आँधीखोला र फेदीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका (वडा १–४) तथा वालिङ नगरपालिका (वडा ३ र ४) का मतदाताले मतदान गरेका थिए ।
निर्वाचन कार्यालय स्याङ्जाका अनुसार यस क्षेत्रमा कुल १ लाख ३० हजार ८८६ मतदाता रहेकामा ७० हजार ९४४ मत खसेको थियो । त्यसमध्ये २ हजार ९०८ मत बदर भएको जनाइएको छ ।
सम्बन्धित खबर
भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित
मतदानको मौकामा लुकेर आएका फरार कसूरदार स्याङ्जामा पक्राउ
स्याङ्जाका दुई क्षेत्रमा १८ उम्मेदवारको जमानत जफत
स्याङ्जामा पाँच हजारभन्दा बढी मत बदर
स्याङ्जा–२ मा रास्वपाका झविलाल डुम्रेको जित
स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
सुमनाले भनिन्- गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले थाहा पाउनुपर्यो
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान