पोखरा, २० असार । गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु हुन् ।
प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई जनही ५० हजार राशि, ताम्रपत्र र दोसल्लाले सम्मान गरे । ३ दिनअघिमात्र निधन भएका स्व. पराजुलीको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरु कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले सम्मान ग्रहण गरे । सम्मानित व्यक्तित्वको बारेमा लेखिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि सोही अवसरमा विमोचन गरियो ।
गत १६ असार राति ९१ वर्षको उमेरमा निधन भएका पराजुली जनमत दैनिकका संस्थापक एवं सम्पादक हुन् । पोखरेली नवरत्नबाट सम्मानित उनी स्वतन्त्रता सेनानी पनि हुन् । उनले लेखेको समाचारकै कारण पृथ्वीनारायण क्याम्पसले जग्गा पाएको इतिहास छ ।
अर्का सम्मानित व्यक्तित्व गुभाजू आदर्श समाज राष्ट्रिय दैनिकका अतिथि सम्पादक हुन् । पत्रकारिता उनका लागि पेसा मात्र भएन, दर्शन बन्यो । २०२५ सालमा ‘नेपाल पर्यवेक्षक’ पत्रिका हुँदै उनी ‘राष्ट्र पुकार’ साप्ताहिकबाट पत्रकारिता थालेका हुन् । बौद्ध दर्शनका अध्येता अग्रज पत्रकार गुभाजूलाई गत वर्ष पोखरेली नवरत्न सम्मान गरिएको थियो ।
२०१४ सालमा जन्मिएका अग्रज पत्रकार प्रेमचन्द्र रौनियारलाई ‘सीमामा उभिएको पत्रकार’को रुपमा चिनिन्छ । उनी तीन दशकदेखि नवलपुरमा रहेर पत्रकारिता गरिरहेका छन् । दर्जन बढी मिडियामा काम गरिसकेका उनी हाल एभिन्यूुजका संवाददाता हुन् ।
तनहुँका विश्वबन्धु भण्डारी पोखरा हुँदै तनहुँमा रहेर ५ दशकदेखि पत्रकारिता गर्दै आएका छन् । उनको सम्पादनमा ‘भञ्ज्याङ’ पत्रिका (२०३९ सालदेखि) निरन्तर प्रकाशित छ । उनले समाचार मात्र लेखनन्, इतिहास पनि लेखे ।
सरस्वती शर्मा जिज्ञासु समाज परिवर्तनकी अभियन्ता एवं साहित्यकार पनि हुन् । पर्वतमा उनले स्थापना गरेको माधुरी साहित्य प्रतिष्ठानबाट आजपर्यन्त साहित्यिक पत्रिका निस्कन्छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले संघीयताको जडको विवेचना नगर्ने हो भने ढिलोचाडो मुलुक द्वन्द्वमा फस्ने दाबी छ । विगत ३५ वर्षमा केही नभएको भन्नु गलत हो भन्दै उनले देशले पछिल्लो समय शिक्षा, स्वास्थ्य तथा प्रविधि क्षेत्रमा ठूलो फड्को मारेको बताए ।
‘प्रेस स्वतन्त्र हुनुपर्छ भन्नेमा दुईमत छैन । सत्य बोल्ने र सत्य लेख्न कसैले छेक्न पाइँदैन,’ उनले भने, ‘आज प्रविधिसँगसँगै आमसञ्चारजगत् फड्को मारेको र त्यत्तिकै चुनौती पनि थपिएको छ ।’ सामाजिक सञ्जाल र मेनस्ट्रिम पत्रकारिताबीच जनतालाई फरक हो भन्ने बुझाउन सक्नुपर्नेमा जोड दिए । उनले सरकारका कमीकमजोरीबारे पनि मिडियाले औंल्याइदिनुपर्ने बताए ।
प्रेस रजिष्ट्रार बिमला भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै इतिहास अभिलेखीकरणबाट मात्र बाँच्दछ भन्दै अग्रज पत्रकारको सम्मानको थालनी गरिएको प्रस्ट पारिन् । उनले भनिन्, ‘यदि संघर्ष, अनुभव र योगदान दस्तावेजीकरण गरिएन भने एउटा पुस्ताको सम्पूर्ण अनुभव हराउँदै र बिर्सदै जान्छ । त्यसैले अग्रज पत्रकारको जीवन, संघर्ष, अनुभव र योगदानलाई पुस्तक तथा डिजिटल अभिलेखका रुपमा सुरक्षित गर्ने अभियान प्रारम्भ गरेका हौं ।’ उनले सत्य, निष्पक्ष, व्यावसायिकता र उत्तरदायित्वमा आधारित पत्रकारितालाई सुदृढ बनाउन प्रेस रजिष्ट्रारको कार्यालय लागिपरेको बताइन् ।
सम्मानित पत्रकारतर्फबाट विश्वबन्धु भण्डारीले सम्मानप्रति खुसी व्यक्त गर्दै शासक र जनताबीच रहेर काम गर्ने पत्रकार हुन् भने ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले अहिलेको मिडिया संकटबाट गुज्रिरहेको भन्दै सरकारी विज्ञापन सरकारी मिडियामा मात्र सीमित गर्ने सरकारको नीतिको महासंघले निरन्तर विरोध गर्दै आएको बताए । पत्रकारलाई स्वास्थ्य बिमामा अपेक्षाकृत बजेट काटेर आएकोमा गुनासो गरे । नवीकरण फेल भएका संचारमाध्यमलाई एकपल्ट छुट गरेर नवीकरणको सुविधा दिन उनले माग गरे ।
अग्रज पत्रकार सम्मानका लागि गण्डकी प्रदेशका कानुन तथा सञ्चार सचिव कृष्णप्रसाद लम्सालको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, महासंघ गण्डकीका पूर्व अध्यक्ष नारायण शर्मा, प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेल र प्रेस रजिष्ट्रार बिमला भण्डारी थिए ।
सञ्चारसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता प्रेस रजिष्ट्रार बिमला भण्डारीले गरेकी थिइन् । स्वच्छ प्रेस ः समुन्नत गण्डकी प्रदेश नाराका साथ आयोजित कार्यक्रमको संचालन पत्रकार अमृत सुवेदीले गरे ।
सोही अवसरमा २ सेसन मिडियाको अर्थतन्त्र र पत्रकारितामा एआई विषयमा वक्ताले गहन छलफल गरे ।
‘मिडियाको अर्थतन्त्र’ बारे छलफल
नेपालका मिडिया यतिखेर आर्थिक दृष्टिकोणले धराशायी बन्दै गएका छन् । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यम मात्रै प्रकाशन गर्नुपर्ने सरकारको नीति त छँदैछ, डिजिटल मिडियाका कारण परम्परागत मिडियाको अस्तिस्व थप संकटमा छ ।

यसै सन्दर्भमा शनिबार पोखरामा ‘मिडियाको अर्थतन्त्र’ बारे गहन छलफल भयो । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश आयोजनामा गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा यसबारे छलफलमा सञ्चारसम्बद्ध ४ जना वक्ता थिए ।
बाह्रखरीका सम्पादक हरिबहादुर थापा, सञ्चारविज्ञ डा. भूमिराज चापागाईं, वान उपाध्यक्ष दुर्गा अधिकारी र विज्ञापन व्यवसायी उजय शाक्यसँग संवादमा जुटेका थिए–सहजकर्ता पवन पौडेल ।
उक्त सेसनका वक्ताले मिडियामा लगानीका लागि राज्यले नै नीति बनाउनुपर्ने, मिडियाले पनि प्रविधिको आत्मसात गर्दै अघि बढ्नुपर्ने र लगानीका नयाँ–नयाँ स्रोत खोज्नुपर्नेमा जोड दिए । अडियन्स र इकोनोमी सँगसँगै जानुपर्ने उनीहरुको सुझाव छ ।
पत्रकार हरिबहादुर थापाले लिगेसी मिडियाले भाइरल हुने नाममा व्यक्ति–व्यक्तिले चलाएको मिडियासँग प्रतिस्पर्धा गर्न नहुने बताए । लिगेसी मिडियाबाटै खोजीका कुरा आउँछन्, तिनीहरु खुम्चिए भने भोलिका दिनमा अराजकता निम्तिने भएकाले लिगेसी मिडिया बचाउनुपर्ने उनको तर्क छ ।
उनका अनुसार प्रविधिको आत्मसात गर्दै जान लिगेसी मिडियाले ढिलो गरिसकेको उनको भनाइ छ । उनले मिडियामा नयाँ–नयाँ लगानी भित्र्याउ सबैजना एकजुट हुनुपर्ने पनि बताए । थापाले भने, ‘सबैलाई गरौं–गरौं भन्ने गराउनुपर्छ । चारजना मानिसले एउटा कोठामा बसेर गरौं भनेर मात्र हुँदैन ।’
‘बैंकमा थुप्रिएको पैसा लगानी गर्ने वातावरण आयो भने त्यसको प्रचारमा पनि मिडिया त चाहिन्छ नि । एकपटक सबैले पोजेटिभ माहोल सिर्जना गर्ने हो भने त्यसको लाभ मिडियाले पनि पाउँछ,’ उनले भने, ‘लगानीका लागि राज्यले नै नीति बनाउनुपर्छ ।’
निजी सञ्चारमाध्यमलाई राज्यले सरकारी विज्ञापनमा रोक लगाएको विषयमा उनले जुन निकायले विज्ञापन दिने हो, त्यसले सिधैँ मिडियाको खातामा हाल्यो भने भ्रष्टाचार नहुने तर्क गरे । निजी मिडियाले ठूलो रोजगारी सिर्जना गरेको विषय राज्यले बिर्सेको टिप्पणी गरे । ‘यो भनेको राज्यको उदार अर्थनीति हो । कि राज्यले हामीहरु पञ्चायतको नीतिमा फर्कियौं भन्नुप¥यो,’ उनले भने, ‘कुनै संस्थामा ५ जना बेरोजगार हुनु पनि चिन्ताको विषय हो । दुईतिहाइको भाष्य भोलिको दिनमा निरंकुश हुन नजाला भन्न सकिन्न । राज्यले हरेक कुरामा नियन्त्रण गर्दै गयो भने अर्को अराजकता निम्तिने डर हुन्छ ।’
अर्का वक्ता डा. चापागाईंले लिगेसी मिडिया तुलनामा डिजिटल मिडिया डेटासहित उपस्थित हुन सकेकाले लोकप्रिय बनेको बताए । उनका अनुसार अडियन्स नम्बरलाई हेर्न खोज्छ, मैले बजाएको विज्ञापन कति अडियन्ससम्म पुग्यो भन्ने कुरा डिजिटल मिडियाले अंकमा जानकारी दिन सक्छ, जबकि लिगेसी मिडियाले दिन सक्दैन ।
अडियन्स कन्टेन्ट कुन फरम्याटमा कन्ज्जुम गर्न चाहिरहेको छ, त्यो ध्यान दिनुपर्नेमा उनको सुझाव छ । उनले भने, ‘सेरोफेरो सबै मेरो दिन खोजिरहेका छौं । सबैको हुन खोज्दा कसैका पनि हुन सकेका छैनौं ।’ लम्बेतानभन्दा १५ सेकेण्डको रिलमा कन्टेन्ट झरिसकेको उनले यथार्थ पस्के । उनले मिडियाको आयस्रोतका निम्ति विविधीकरण ध्यान दिनुपर्ने सुझाव दिए । सरकारी स्रोतलाई मात्र ध्यान नदिइ पब्लिक डिस्कोर्सका कार्यक्रम गर्नुपर्नेमा तर्क गरे ।
उनले भने, ‘बिग हाउसमा बिजनेस हेर्ने छुट्टै ब्युरो होला, तर साना मिडियामा मार्केटिङ हेर्ने युनिटमा पनि लगानी सक्यौं भने अगाडि बढ्न सकिन्छ । अहिले नै सम्भावना सकिएको छैन, थप रिसोर्सको विकास गर्न सक्नुपर्छ ।’ उनले १ वर्षको रिभिन्यू प्लान, ३ वर्षको डिजिटल प्लान र ५ वर्षको सस्टेनबिलिटी प्लान हुनुपर्छ सुझाव दिए ।
विज्ञापन व्यवसायी शाक्यले कोरोनायता मिडिया झन् संकटमा परेको भए पनि विज्ञापनको साइज समग्रमा नघटेको दाबी गरे । नेपाल विज्ञापन संघका प्रथम उपाध्यक्ष समेत रहेका शाक्यले लिगेसी मिडियाले पनि मेजरमेन्ट ल्याउनुपर्ने तथा प्रविधि र नवीनतम् सँगसँगै आउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘आजको दुनियाँमा सबैभन्दा गाह्रो भनेको मानिसको ध्यानाकर्षण हो । ग्लोबलाइजेसनको दुनियाँमा लोकलाइजेसनलाई बिर्सन हुँदैन । समसामयिक र पारदर्शीतामा ध्यान दिनुपर्छ ।’ एउटा ग्रोसरी दोकान तथा रेष्टुरेन्टको कम्प्युटर पनि टेक्नोलोजीमा छ भने मिडिया त्यसबाट भाग्ने कुरा हुँदैन ।
वान उपाध्यक्ष दुर्गा अधिकारीले मिडिया क्षेत्र यतिखेर अभिभावकविहीत अवस्था रहेको गुनासो गरिन् । पोखरामा विगतमा ३९ रेडियो रहेकामा घटेर आधामात्र संचालित रहेको उनको भनाइ छ । मिडिया टिकाइराख्न क्वालिटी र कन्टेन्टलाई ध्यान दिनुपर्ने अधिकारीले सुझाव दिइन् । भनिन्, ‘कहिलेकाहीँ साथीहरु उत्साहित भएको र कहिलेकाहीँ निराश भएको पाउँछु । यसखालका फोरममा गयौं भने सुधार हुन सक्छ । समुदायलाई जोड्नुपर्छ । रेडियोमा पनि इन्गेज हुने कार्यक्रम ल्याउनुपर्छ ।’
पोखराको रेडियो सफलताकी सञ्चालकसमेत रहेकी अधिकारीले १० घण्टा/१२ घण्टा बजाएर केही हुँदैन, थोरै तर उत्कृष्ट बजाउनुपर्नेमा सुझाव दिइन् । एक तथ्यांकअनुसार गण्डकीमा अझै पनि ७२ प्रतिशत मानिसले कुनै न कुनै माध्यमबाट समाचार पढ्ने गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रेस रजिष्ट्रार बिमला भण्डारीको अध्यक्षतामा भएको हो । सो अवसरमा ‘पत्रकारितामा एआई’ विषयमा पनि पहिलो सेसन हुनुका साथै अग्रज ५ जना पत्रकारलाई जनही ५० हजारसहित सम्मान गरिएको थियो ।
गण्डकीमा प्रेस रजिष्ट्रारको कार्यालय स्थापना भएयता पहिलोपल्ट यसखालको कार्यक्रम भएको हो । आगामी दिनमा पनि यस्ताखालका कार्यक्रमलाई निरन्तरता दिने प्रेस रजिष्ट्रार भण्डारीले बताइन् ।
‘पत्रकारितामा एआई’ बारे संवाद
पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे पोखरामा शनिबार घनीभूत संवाद भएको छ । सेसनका वक्ताले एआईबिनाको न्यूज रुमको कल्पना गर्न नसकिने तर्क गरे ।

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश आयोजनामा गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा ‘पत्रकारितामा एआई’ सेसन भएको हो ।
सेसनमा वक्ता थिए–अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, एआईका विज्ञ दोभान राई र सञ्चार उद्यमी एवं कन्टेन्ट क्रियटर महेश भण्डारी ।
सञ्चारकर्मी रघुनाथ वाग्लेले सहजीकरण गरेको कार्यक्रममा वक्ताले एआई प्रविधि अहिले दू्रत गतिमा विकास हुँदै गएको र भविष्यमा यसले मानिसलाई छाडेर अघि बढ्न सक्ने पनि संकेत गरे ।
पत्रकार बस्नेतले अब एआई बिनाको न्यूजरुम परिकल्पना गर्न नसकिने उल्लेख गरे । उनले आफ्नो मिडियामा एआई प्रयोग गर्न थालेको एकडेढ वर्ष बितिसकेको स्मरण गरे । समाचारको सत्यापन छुट्याउने काममा विश्वास गरेर सम्पूर्ण रुपमा एआईलाई छोड्न नसकिने, तर अदृश्य निर्णयकर्तामा मानिस नै हुने बताए । उनले भने, ‘एआईले जहिलेसुकै राइट जजमेन्ट दिन्छ भन्ने पनि भ्रममा बस्नु हुँदैन । अदृश्य निर्णयकर्तामा मानिस नै हुने गर्छ ।’
एआई विज्ञ राईले ५ वर्षअघि एआई ‘सुगा चराजस्तो’ मनोरञ्जनको रुपमा लिइने गरिएकामा अहिले आएर बाघको सवार जस्तो भएको तर्क गरिन् । उनले भनिन्, ‘एआई प्रविधि अहिले दू्रत गतिमा विकास हुँदै गएको छ । हाम्रो समाज, हाम्रो अर्थव्यवस्था, व्यवासायिक कार्यव्यवस्था दुवै परिवर्तन हुँदै गएको छ ।’ उनले भोलिका दिनमा एआई मान्छेलाई छाडेर अघि जान सक्ने संकेत गरिन् । ‘एआई यस्तो पावरफुल भइसकेको छ, हरेक कुरा निकै रियालिटी हुँदै आएको छ,’ उनले भनिन्, ‘एआई गरेको छुट्टि नै नसक्ने पनि अवस्था छ । हाम्रो काम, हाम्रो सम्बन्ध, क्रियसन भनेको बाहिर देखाउन मात्र होइन, भोलिका दिनमा खोक्रोपना ल्याउन सक्ने जोखिम छ ।’
अर्का वक्ता सञ्चार उद्यमी एवं कन्टेन्ट क्रियटर भण्डारीले एआईको प्रयोग हुनु सकारात्मक हो भने । आफूले स्क्रिप्ट तथा कन्टेन्ट क्रियट गर्दा एआई प्रयोग नगरेको दाबी गरे पनि आफ्ना सम्पादक एआईबाट टाढा नरहेको प्रस्ट पारे । उनले हालसम्म ९ सय कन्टेन्ट क्रियट गरिसकेको जानकारी पनि दिए । उनले अगाडि भने, ‘एआईले न्यारेटिभ क्रियट गर्न सक्दैन, व्यक्तिले नै गर्ने हो ।’
यसैबीच, पत्रकार बस्नेतले एआईको प्रयोग लिए पनि सबै कुरामा आश्रित हुन नहुनेमा सचेत गराए । कतिपय सबालमा सत्यलाई भ्रामक बनाउने काम भएकाले यस विषयमा गम्भीर बन्नुपर्ने सुझाव दिए । जतिसुकै गर्दा पनि न्यूज रुममा कहिलेकाहीँ गल्ती हुन सक्ने स्वीकारे ।
अर्को प्रसंगमा उनले एआईले श्रम विस्थापित गरिरहेको भए पनि नयाँ–नयाँ रोजगार पनि विकास गरेको बताए । ‘लेटरप्रेसदेखि अहिलेको दुनियाँ हेर्न पाएँ । यो त अभूतपूर्व फरक छ,’ उनले भने । उनले अल्गोरिदम एउटा परम्परा हा भने । पत्रकार कसैको ‘झोले’ बन्न नहुने जनाउँदै उनले एकबारको जुनीमा हामी आफैँ पालिन सक्छौं भने ।
एआई विज्ञ राईले सूचना प्रविधि विकासले मानिस सामाजिकीकरण हुनबाट बिस्तारै पन्छिदै गएको गुनासो गरिन् । उनले भनिन्, ‘विगतमा हाम्रो घरमा कोही आयो भने वरिपरि बसेर पाहुनाको कुरा सुन्ने चलन थियो । अहिले त्यो प्रचलन हराउन थालेको छ ।’ उनका अनुसार एआई जुन तरिकाले अघि बढेको छ, त्यसमा सौन्दर्य चेत र भ्यालु बुझ्न जरुरी छ । ‘विगतमा पढ्न सजिलो थियो, लेख्न गाह्रो थियो । अहिले एआईको प्रयोगसँगै लेख्न सजिलो भयो, पढ्न गाह्रो भयो । टेक्नोलोजी पावरफुल हुँदै गयो ,’ राईले भनिन् ।
रास्वपाका नेतासमेत रहेका महेश भण्डारीले कन्टेन्ट क्रियट गर्दा राजनीतिक विषय जोडेर कसैलाई सहीलाई गलत र गलतलाई सही भनिएको भए सच्याउन तयार रहेको उल्लेख गरे । एआईबारे पत्रकार जानकार हुनुपर्ने बताउँदै उनले एआईसँग पत्रकार डराउन नहुने जनाए । ‘हाम्रो पहिचान भनेको हाम्रो रहनसहन, भेषभूषा हो । हाम्रो बिरासत पावरफूल छ,’ भण्डारीले भने, ‘एआईसँग डराउनुपर्दैन । जनतामा के छ भन्ने प्रकटीकरण सोसल मिडियामा हुन्छ ।’
करिब १ घण्टा चलेको उक्त सेसनमा प्रताप बानियाँ, आनन्द भट्टराई, विनोद लामिछाने र मन क्षत्रीले जिज्ञासा राखेका थिए ।
सम्बन्धित खबर
प्रेस रजिष्ट्रारको कार्यालयबाट अग्रज ५ पत्रकार सम्मानित
कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
पाेखराकाे शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्दै ‘प्रतिभा बिजनेस स्कुल’ स्थापना, बीआइटी कोर्स सञ्चालन
फेवातालमा बेपत्ता युवकको शव फेला
पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
यो पनि पढौँ
पाेखराकाे शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्दै ‘प्रतिभा बिजनेस स्कुल’ स्थापना, बीआइटी कोर्स सञ्चालन
समूह विजेता अर्जेन्टिना, अपराजित रहँदै नकआउटमा
पिआर लिएका ४ कर्मचारीलाई सरकारी सेवाबाट ‘अयोग्य’ ठहरिने गरी बर्खास्त गर्ने तयारी
उच्च वृद्धिको लामो समयपछि पेट्राेल, डिजेल र ग्यासकाे मूल्य घट्याे