गण्डकी र लुम्बिनी दुई प्रदेशका स्याङ्जाको चापाकोट नगरपालिका–८ दामाचौर र पाल्पाको रामपुर नगरपालिका–६ जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल ट्रस पुल निर्माण सम्पन्न भएको छ । तीन वर्षभित्र सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजना विभिन्न प्राविधिक समस्याका कारण १५ वर्षपछि पूरा भएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका अनुसार २०६८ असार २६ गते एमएस इलाइट एसबिए जेभी, कपन काठमाडौंसँग १५ करोड ६८ लाख १३ हजार २६६ रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो । तीन स्पानमा निर्माण गरिएको पुल १८१.६९ मिटर लामो र ११ मिटर चौडा रहेको छ ।
सुरुमा वेल फाउन्डेसन डिजाइनअनुसार निर्माण थालिएको थियो । नदीका दुवै किनारमा पिल्लर निर्माण सम्पन्न भए पनि बीच भागमा पिल्लर निर्माणका क्रममा समस्या देखिएपछि काम रोकिएको थियो ।
डिजाइनअनुसार १५–१५ मिटर गहिराइसम्म वेल फाउन्डेसन पुर्याउनुपर्ने भए पनि करिब पाँच मिटरमै चट्टान भेटिएपछि सोही डिजाइनअनुसार निर्माण सम्भव नभएको भन्दै निर्माण कम्पनीले काम स्थगित गरेको थियो ।
पछि पुल महाशाखाले २०७८ सालमा पुरानो डिजाइन परिवर्तन गर्दै वेल फाउन्डेसनको सट्टा पाइल फाउन्डेसनमा पुल निर्माण गर्ने निर्णय गरेको थियो । नयाँ डिजाइन स्वीकृत भएपछि निर्माणको जिम्मेवारी पुनः सोही निर्माण कम्पनीलाई दिइएको र त्यसपछि मात्रै निर्माण कार्यले गति लिएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका निमित्त प्रमुख पवित्रमणि आचार्यका अनुसार निर्माण कम्पनीले आठौँ पटक थपिएको म्याद साउन ३० गतेसम्म पाएको भए पनि पुलको निर्माण कार्य अहिले नै सम्पन्न भइसकेको छ ।
उनका अनुसार डिजाइन परिवर्तन गर्नुपर्दा आयोजनाको लागत २२.०५ प्रतिशतले बढेको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको पुल १५ वर्षमा सकिँदा भ्याटसहित कुल लागत २१ करोड ६२ लाख ६१ हजार ३६८ रुपैयाँ पुगेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि श्याम केसीले प्रारम्भिक डिजाइन असफल हुँदा लामो समय आयोजना रोकिएको र त्यसबाट कम्पनीले करिब सात करोड रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको दाबी गरे ।
पुल सञ्चालनमा आएपछि स्याङ्जा र पाल्पाबीचको आवागमन सहज हुने विश्वास गरिएको छ । साथै भारतबाट ज्याग्दी खोला करिडोर हुँदै आँधीखोला करिडोर, पर्वत र मुक्तिनाथसम्म पुग्ने मार्गलाई थप सहज बनाउने तथा उत्तरतर्फ चीनसँगको सम्पर्क विस्तारमा समेत यो पुल महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ पुल निर्माण
स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण
दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
२१ वर्षपछि कालोपत्रे भयो खिलुङ कालिका जोड्ने सडक
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो