फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार

दुर्घटना

फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार

fewatal indian

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु भएको छ । कारमा सवार अन्य दुई जनाको भने जीवितै उद्धार गरिएको छ । आज बिहान करिब ४:५० बजे पोखराको गैरीचौतारा घुम्तीमा भारतीय कार दुर्घटनामा परेको हो । सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबि ६७५९ नम्बरको कार अनियन्त्रित भई सडकबाट २० मिटर तल तालमा खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा भारतको बिहार प्रदेशका २६ वर्षका नवदीप कुमार यादव रहेका छन् । उनको पहिचान आधार कार्डका आधारमा खुलेको हो । अर्का एक अन्दाजी ४०-४५ वर्षका पुरुषको पनि मृत्यु भएको छ । उनको नाम र ठेगाना भने खुल्न सकेको छैन । चिकित्सकले बिहान ६:२१ बजे उनीहरु दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसअघि नै नेपाल प्रहरी र स्थानीयको सहयोगमा दुई जनालाई सकुशल बाहिर निकालिएको थियो । उद्धार गरिएका २७ वर्षका अनमोल कुमार यादव र ३३ वर्षका सुरज यादवको अवस्था मध्यम रहेको छ । उनीहरु दुवै भारत बिहारको रक्सोलका बासिन्दा हुन् । उनीहरु अहिले बोल्न सक्ने अवस्थामा रहेको र जिएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले तालको २० फिट गहिराईबाट दुई जनालाई अचेत अवस्थामा फेला पारेको थियो । बिहान ६:१० बजे सशस्त्र प्रहरी जवान जनक बुढा र देवराज खनालले उनीहरुलाई पानी भित्रबाट निकालेका हुन् । उनीहरुलाई तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनीहरुलाई मृत घोषित गरे ।

दुर्घटनाको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्य बहादुर बोगटीको नेतृत्वमा १५ जनाको टोली खटिएको थियो । त्यसैगरी सशस्त्र प्रहरी बल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा १३ जनाको टोली पुगेको थियो । उक्त टोलीमा ६ जना गोताखोर र ७ जना विपद् व्यवस्थापन विज्ञ सहभागी थिए ।

सशस्त्र प्रहरीको टोली बिहान ५:१० बजे घटनास्थल पुगेर उद्धारमा जुटेको थियो । दुर्घटना भएको स्थान सशस्त्र प्रहरीको गणबाट करिब ४ किलोमिटर पश्चिममा पर्छ । तालमा खसेको कारलाई बिहान ६:२० बजे क्रेनको सहयोगमा बाहिर निकालिएको छ । अहिले उक्त कारलाई वडा प्रहरी कार्यालय बैदामको हातामा ल्याएर राखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds