बालेनलाई गगनको सुझाव: सचिवालयको मात्र भर नपर्नुस्, राष्ट्रसंघमा तथ्यसहित प्रस्तुत हुनुस्

राजनीति

बालेनलाई गगनको सुझाव: सचिवालयको मात्र भर नपर्नुस्, राष्ट्रसंघमा तथ्यसहित प्रस्तुत हुनुस्

'नागरिकको चित्कार समयमै सुनौं, उद्धारमा ढिलाइ नगरौं'

Gagan-Thapa

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्।

विदेश भ्रमणको तयारीका लागि उनले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न सुझाव दिएका छन्।

थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताए। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीजस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद नेपालले भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए।

थापाले आगामी केही दिन सरकार र सबै राजनीतिक दलहरू केवल उद्धार कार्यमा मात्रै केन्द्रित हुनुपर्ने बताए। फिल्डमा खटिएका प्राविधिक तथा विपद्‌मा परेका पीडित परिवारका सदस्यहरूले समयमा राज्यको सहयोग नपाएको भन्दै गुनासो गरिरहेको तर्फ उनले नेतृत्वको ध्यानाकर्षण गराए।

पीडितहरूको पीडा र आक्रोशलाई औंल्याउँदै सभापति थापाले भने, ‘प्रभावित परिवारका मानिसहरूले हाम्रो बारेमा सुनिएन, हामीलाई ठीक समयमा सुनिएन भन्ने आक्रोश छ। यो त सधैँभरि रहन्छ।’

समयमै राज्यको उपस्थिति नदेखिँदा जनतामा निराशा र आक्रोश पैदा भएको उनको भनाइ थियो। सभापति थापाले घटनाका कमजोरी र कमीकमजोरीबारे गरिने राजनीतिक समीक्षा र गम्भीर बहसलाई तत्कालका लागि थाती राख्नुपर्ने बताए।

‘अहिले आरोप-प्रत्यारोप होइन, तत्कालीन उद्धारको चरण सकिएपछि घटनाबारे गम्भीर बहस र छलफल गरौंला,’ उनले भने, ‘अहिलेको एकमात्र प्राथमिकता भनेको प्रभावित नागरिकको तत्काल उद्धार, द्रुत राहत र आवश्यक सहयोग पुर्‍याउनु नै हो।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds