स्याङ्जाको भीरकोट नगरपालिका–१ बयरघारी बजारमा जडान गरिएका सिसिटिभी क्यामराको नियन्त्रण प्रहरीको हातमा पुगेपछि बजार क्षेत्रको निगरानी थप कडा हुने भएको छ । यसअघि वडा कार्यालयमा रहेको कन्ट्रोल रुम दहथुम प्रहरी चौकीमा सारिएपछि बजार र सिद्धार्थ राजमार्गको गतिविधि अब प्रहरीले प्रत्यक्ष निगरानी गर्न सक्ने भएको हो ।
बयरघारीका मुख्य बजार, व्यस्त चोक, सार्वजनिक स्थल र सिद्धार्थ राजमार्गलाई लक्षित गरी हाल नौवटा सिसिटिभी क्यामरा जडान गरिएको छ । प्रहरी चौकीमा राखिएको कन्ट्रोल रुमबाट क्यामराको दृश्य हेर्न सकिने र फुटेज सुरक्षित राख्न पासवर्डको समेत व्यवस्था गरिएको छ ।
प्रहरीका अनुसार सिसिटिभीले चोरी, झैझगडा, तोडफोडलगायतका घटना नियन्त्रण र अनुसन्धानमा सहयोग पुग्नेछ । राजनीतिक दल तथा विभिन्न समूहका सभा, जुलुस र सम्मेलनका क्रममा हुन सक्ने अवाञ्छित गतिविधिको निगरानीमा समेत यसको उपयोग गर्न सकिने अपेक्षा गरिएको छ ।
दहथुम प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक पुष्कर पोखरेलले सीमित जनशक्तिबाट बजारका सबै क्षेत्रमा प्रत्यक्ष निगरानी गर्न कठिन हुने अवस्थामा सिसिटिभी प्रभावकारी माध्यम बनेको बताए । प्रहरी चौकीमै कन्ट्रोल रुम आएपछि विभिन्न स्थानको गतिविधि एउटै ठाउँबाट हेर्न सहज भएको उनको भनाइ छ ।
दुर्घटना र ट्राफिक नियम उल्लङ्घनमा पनि निगरानी
सिसिटिभीले अपराध नियन्त्रणसँगै ट्राफिक व्यवस्थापनमा समेत सहयोग गर्ने भएको छ । मुख्य चोक र राजमार्ग क्षेत्रमा हुने दुर्घटना, ट्राफिक नियम उल्लङ्घन तथा दुर्घटनापछि फरार हुने सवारीसाधन र चालक पहिचानमा क्यामराको फुटेज उपयोगी हुने अस्थायी ट्राफिक प्रहरी पोस्ट दहथुममा कार्यरत ट्राफिक प्रहरी सहायक हवल्दार ज्ञानबहादुर थापाले बताए ।
तर अहिलेको प्रणालीमा एउटा कमजोरी पनि छ । कन्ट्रोल रुममा विद्युत् आपूर्ति बन्द हुँदा तत्काल चलाउन सकिने वैकल्पिक विद्युत् व्यवस्था छैन । विद्युत् अवरुद्ध हुँदा २४ घण्टे निगरानी प्रभावित हुन सक्ने भएकाले यसको विकल्प आवश्यक देखिएको छ ।
जडानभन्दा ठूलो चुनौती नियमित सञ्चालन
सिसिटिभी जडान भएपछि अब यसको दीर्घकालीन व्यवस्थापन चुनौती बनेको छ । घाम, पानी, हावाहुरी र अन्य प्राविधिक कारणले सडकमा राखिएका क्यामरा बिग्रन सक्ने भएकाले नियमित मर्मतसम्भार र समयमै उपकरण स्तरोन्नति गर्नुपर्ने देखिन्छ ।
भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्यालले नियमित मर्मतका लागि नगरपालिकाले बजेट सुनिश्चित गर्नुपर्ने बताए । उनका अनुसार प्रहरीको प्रत्यक्ष निगरानीमा सिसिटिभी पुगेपछि बजारवासी भने उत्साहित भएका छन् ।
नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले दशैँ–तिहारअघि बयरघारीका थप क्षेत्रमा सिसिटिभी विस्तार गर्ने तयारी भइरहेको बताए । नगर प्रवक्ता दिपेन्द्र केसीका अनुसार कोरोनाकालअघि नै सार्वजनिक शौचालयको माथिल्लो तलामा कन्ट्रोल रुम राख्ने योजना भए पनि भवन पहिरोले भत्किएपछि प्रणाली वडा कार्यालयमा सारिएको थियो । अहिले प्रहरी प्रशासनमा जनशक्ति थपिएपछि नगरपालिकाकै पहलमा कन्ट्रोल रुम प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
निवर्तमान नगरप्रमुख छायाराम खनालले आफ्नो कार्यकालमा बजार सुरक्षाका लागि सिसिटिभी जडानको सुरुआत गरिएको बताउँदै अब यसलाई प्रत्येक टोलसम्म विस्तार गर्नुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी भीरकोटका सभापति मिनबहादुर केसीले बयरघारीमा मात्रै सीमित नराखी हेलुदेखि छाङछाङदीसम्मका महत्वपूर्ण स्थानमा यसको पहुँच विस्तार गर्नुपर्ने बताए । नेपाली कांग्रेस भीरकोटका सभापति लक्ष्मण अधिकारीले पनि बजार सुरक्षाका लागि सिसिटिभी आवश्यक रहेको भन्दै प्रत्यक्ष निगरानीबाट यसको अधिकतम उपयोग गर्नुपर्ने बताए ।
बयरघारीमा प्रहरीको प्रत्यक्ष निगरानी सुरु भएपछि अपराध नियन्त्रण, अनुसन्धान र ट्राफिक व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ । तर क्यामरा जडान गरेर मात्रै सुरक्षा बलियो हुँदैन । त्यसलाई २४ घण्टा चलाइराख्ने विद्युत्, नियमित मर्मत, प्राविधिक जनशक्ति र पर्याप्त बजेटको दीर्घकालीन व्यवस्था गर्न सके मात्रै सिसिटिभीको वास्तविक प्रभाव देखिनेछ ।
सम्बन्धित खबर
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम
वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ
पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी