‘गहिरो चोटमा परेको मानिसले भगवानलाई त सराप्छ यो सरकार र रास्वपा के हो ?’- रवि लामिछाने

राजनीति

‘गहिरो चोटमा परेको मानिसले भगवानलाई त सराप्छ यो सरकार र रास्वपा के हो ?’- रवि लामिछाने

'विपदमा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन ।'

rabi lamichhane

काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटेकोशी बाढीले पीडितहरूलाई सरकारमाथि आक्रोश व्यक्त गरेकै भरमा सामाजिक संजालमार्फत होच्याउने कार्य गर्ने व्यक्तिहरूलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले पीडामा रहेका नागरिकले राज्यप्रति प्रश्न र आक्रोश व्यक्त गर्न पाउनुपर्ने बताए । त्यसरी आक्रोश पोख्दा सरकार र रास्वपाका समर्थकले कुनै पनि माध्यमबाट प्रतिकार गर्न नहुने उनको भनाइ छ ।

पीडामा रहेका नागरिकले भगवानलाई समेत प्रश्न गर्ने भन्दै सभापति लामिछानेले सरकार र रास्वपा केही नभएको बताए । उनले प्रश्न गरे, ‘जब मानिस गहिरो चोटमा पर्छ जब उसले अप्रत्यासित शोक भोग्छ, उसले भगवानलाई त सराप्त छ भने यो सरकार के हो ? रास्वपपा के हो ?’

यस सम्बन्धमा सभापति लामिछानेको भनेको कुरा जस्ताको तस्तै : 

यस्तो कहालीलाग्दो विपद र विध्वंशपछि हामीकहाँ एउटा रोग देखिन्छ, विपदलाई अवसर बनाएर एकापसमा आरोप-प्रत्यारोपको खेल खेल्ने र कसलाई कसरी तल खसाल्ने भनेर रमाउने, राजनीतिको रोटी सेक्ने समय यो हुँदै होइन । आज यो अकल्पनीय प्रकोपको मारमा हजारौं परिवार परेका छन् । उनीहरूले केवल घरबार गुमाएका छैनन्, जायजेथा, बस्ती, छिमेक, खेतबारी, आफ्नो जीवनको सम्पूर्ण कमाइ र सर्वस्व गुमाएका छन् । त्योभन्दा माथि आफ्ना प्राणभन्दा प्यारा परिवारका सदस्य गुमाएका छन् । ती नागरिकको छातिमा परेको चोट र भत्किएको मनको गहिराइ हामी यहाँ सुरक्षित कुर्सीमा बसेर, यो कोठाभित्र सायदै नाप्न सकौंला । 

बिहानै विद्यालय गएका छोराछोरी अब फर्किन्छन् कि भनेर बाटो हेरिरहेका आमाबाबु, मृत्युको अँध्यारो सुरुङभित्र कतै प्रियजनको सास अझै बाँकी छ कि भनेर छट्पटाउँदै बगरमा भड्किइरहेका आफन्त, लेदो र हिलोले पुरिएको घरभित्रबाट अझै आवाज आउँछ कि भनेर चिच्याइरहेका ती पुकारहरू अनि बेपत्ता आफन्त पर्खेर प्रत्येक सेकेन्ड सास रोकिएला जसरी सुखद् समाचार सुन्न आफन्तजनको अवस्था र मनस्थिति कल्पनाभन्दा बाहिर छ । सोच्दा पनि मुटु काँप्छ, आङ सिरिङ्ङ हुन्छ, भोग्नेलाई कस्तो भएको होला ? 

यस्तो अकलपनीय विध्वंशमा सर्वस्व गुमाएका र मृत्युसँग पौँठेजोरी खेलिरहेका नागरिकबाट राज्यमाथि आक्रोश पोखिनु एकदमै स्वाभाविक हो । आफन्तको सास खोजिरहेका ती आत्तिएका आँखालाई यो प्राकृतिक विध्वंशको आयतन कति विशाल छ भनेर नाप्ने फुर्सद हुँदैन । 

सरकारले देशमा उपलब्ध सम्पूर्ण स्रोत साधन परिचालन गरेको छ कि छैन, हाम्रा सेना र प्रहरी जवान ज्यानै हत्केलामा राखेर त्यो मृत्यु सुरुङको कति गहिराइसम्म पुगेका छन्, यी तथ्यहरूले उनीहरूलाई सान्तावना दिँदैनन् । उनीहरूलाई त केवल एउटा कुरा चाहिएको छ, मेरो प्रियजनको सास बाँकी छँदै राज्य त्यहाँ पुगिदिओस्, उद्धार गरिदेओस् । यो आशा निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नैसर्गिक अधिकार हो । 

त्यसैले, म सरकारका सम्पूर्ण संयन्त्र, नेतृत्व र पार्टी सदस्यहरूलाई यही रोष्ट्रमबाट स्मरण गराउन चाहन्छु, जब मानिसक गहिरो चोटमा पर्छ, जब उसले अप्रत्यासित शोक भोग्छ, उसले भगवानलाई त सराप्त छ भने यो सरकार के हो ? रास्वपपा के हो ?

नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन हामीप्रतिको अपेक्षा, राज्य गुहार्ने अन्तिम चित्कारको रूपमा बुझ्नुपर्छ । त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँशु पुछ्ने फराकिलो छाति नै आजको साँचो राज्यसत्ता हो ।

उनीहरूको अवस्था र मनस्थितिलाई सहानुभूतिसाथ महसुस गर्नु हाम्रो दायित्व हो । सरकार र दलका सम्पूर्ण सुभेच्छुकहरूलाई एउटा गम्भीर अपील गर्न चाहन्छु, यो महाविपत्तिको समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक संजाल वा चोक चौतारोमा चुत्छ टिकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौं ।

सरकारलाई मेरो स्पष्ट आग्रह छ, पीडामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने त्यसका विरुद्ध हामी निर्मम हुन्छौं भनेर विज्ञप्ति मात्रै निकाल्ने होइन, राज्य साच्चिकै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाउने हो, देखाइदिनुहोला । 

राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपदमा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्ध समर्थक चाहिएको छैन । हामीलाई त शोक र पीडामा परेका भुँइमान्छेको पक्षमा उभिने र उनीहरूको आशुँ पुछ्ने सदस्यहरू चाहिएको छ । 

नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक संजालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन । यदि, रास्वपाको कुनै पनि तहको सदस्य, पदाधिकारी विपदमा परेका नागरिकमाथि सामाजिक संजालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइयो भने त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिनेछ । विपदमा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ