सुत्केरी बेथा लागेर मंगलबार राति राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल आएकी राजविराज नगरपालिका-१४, पर्साहीकी ३० वर्षीया बबिताकुमारी पासवान सडकपेटीमै सुत्केरी भइन् ।
रगत जाँचका लागि खर्च अपुग हुँदा अस्पताल भर्ना हुन नसकेर भौंतारिरहेका बेला उनले अस्पतालको १० मिटर पश्चिमतिर सडकपेटीमै छोरा जन्म दिएकी हुन् ।
उपचार सुरु हुनुअघि गर्नुपर्ने भनिएको स्वास्थ्य परीक्षणको शुल्क जुटाउन नसक्दा उनी अस्पतालबाट बाहिरिनुपर्यो । केही समयमै अस्पतालको प्रवेशद्वारनजिकै सडक किनारमा उनले छोरालाई जन्म दिइन् ।
मंगलबार राति करिब २ बजे प्रसव पीडा बढेपछि बबितालाई उनका श्रीमान् हरेराम पासवानले गजेन्द्रनारायण सिंह अस्पताल पुर्याएका थिए । मजदुरी गरेर जीविका चलाउँदै आएका हरेरामका अनुसार बबितालाई प्रसूति विभागमा भर्ना गरिएपछि स्वास्थ्यकर्मीले केही परीक्षण गराउन पुर्जा दिएका थिए । पुर्जा लिएर परीक्षणका लागि जाँदा एउटै परीक्षणका लागि करिब २ हजार ५ सय रुपैयाँ लाग्ने जानकारी पाएपछि हरेराम दम्पती समस्यामा परे । तत्काल त्यति रकम जुटाउन नसक्ने अवस्था रहेको हरेरामले बताए ।
‘औषधि र परीक्षण गर्ने पैसा थिएन । बिहानसम्म केही व्यवस्था गरेर आऊँला भनेर श्रीमतीसँग कुरा गर्दै थियौँ,’ हरेरामले भने, ‘त्यही बेला उनलाई फेरि धेरै पीडा भयो ।’ अस्पतालभित्र उपचारको प्रतीक्षामा रहेकी बबिता अन्ततः अस्पतालको प्रवेशद्वारनजिकै सडक किनारमा पुगिन् । आफन्त महिलाको सहयोगमा उनलाई त्यहीँ राखिएको केही बेरमै प्रसव भयो । बिहान करिब ४ बजेतिर उनले छोरालाई जन्म दिइन् ।
घटनाको दृश्यनजिकैको औषधि पसलमा रहेको सीसीटीभी क्यामेरामा कैद भएको थियो । सार्वजनिक भएको फुटेजमा बबिता प्रसव पीडाले छटपटाइरहेको र आफन्त महिलाले उनलाई सम्हालिरहेको देखिन्छ । बच्चा जन्मिएपछि घटनाबारे अस्पतालमा जानकारी पुगेको र स्वास्थ्यकर्मीले तत्काल आमा तथा नवजात शिशुलाई अस्पतालभित्र लगेर उपचार गरेको अस्पताल प्रशासनले जनाएको छ । पछि भने बबिता र उनका श्रीमान् बच्चासहित घर फर्किएका थिए ।
घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनमाथि लापर्वाहीको आरोप लाग्यो । सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म अस्पतालको कार्यशैलीमाथि प्रश्न उठ्यो ।
घटनाको सत्यतथ्य पत्ता लगाउन स्थानीय प्रशासनले पनि छानबिन समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा अस्पतालको अनुगमनपछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतीशकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।
बबिताले यसअघि तीन सन्तानलाई सामान्य रूपमा जन्म दिएकी थिइन् । यसपटक भने अस्पताल पुगेपछि आवश्यक भनिएको परीक्षणका लागि तत्काल पैसा जुटाउन नसक्दा उनको प्रसूति अस्पतालको बेडमा होइन, अस्पतालकै प्रवेशद्वारबाहिर सडक किनारमा भयो । घटनामा स्वास्थ्यकर्मीको गल्ती थियो वा परिवारले आवश्यक प्रक्रिया पूरा नगरी अस्पताल छोडेको हो भन्ने कुरा छानबिनपछि मात्र स्पष्ट हुनेछ ।
तर, एउटा विपन्न गर्भवती महिला प्रसवको अन्तिम अवस्थामा अस्पतालको ढोकासम्म पुगेर पनि सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु आफैँमा सरकारी स्वास्थ्य सेवाको पहुँच र संवेदनशीलतामाथि गम्भीर प्रश्न हो ।
सम्बन्धित खबर
बालेनलाई आशिकाको प्रश्न- मन्त्रीहरू परिवर्तन गरेर मात्र देश परिवर्तन हुन्छ ?
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबारको पुनःनिर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुन्छ भन्ने कसरी पत्याउने ?
रास्वपा सांसद अमरेश सिंहले भनेः ‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालयको गुण्डा शैलीको शासन’
सरकारको चर्को विरोधमा सत्ताधारी रास्वपाकै नेताहरू, पार्टी महामन्त्रीदेखि सांसदहरू असन्तुष्ट
प्रचण्ड बहुमतको बालेन सरकारबाट पाँच महिनामै दुई मन्त्री आउट
जब २५ सय तिर्न नसक्दा सरकारी अस्पतालबाटै निकालिएकी बबिताले सडक छेउमै छोरा जन्माइन्
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम