कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

NC-Flag-pic

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ मा भएको विवादित मतदान प्रक्रिया पुनः सञ्चालन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जिल्ला निर्वाचन अधिकृत फणिन्द्रराज कोइरालालाई पत्र पठाउँदै १३ असोजमा भएको मतदान पूर्ण रूपमा सम्पन्न नभएको र त्यस क्रममा १५ प्रतिशत मतदाताले समेत मतदान गर्न नपाएको भन्दै पुनः मतदान गराउन निर्देशन दिएका हुन् ।

समितिको पत्रमा बाँकी मतदातालाई समेत जानकारी गराएर पुनः मतदानको प्रक्रिया अघि बढाउन भनिएको छ । स्याङ्जा क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनको मतदान १३ असोजमा सुरु भएको थियो । तर मतदानका क्रममा निर्वाचन व्यवस्थापन र प्रक्रियालाई लिएर विवाद भएपछि मतदान स्थगित भएको थियो ।

वालिङमा भएको मतदानका क्रममा निर्वाचन अधिकृतको कार्यशैली र निर्वाचन व्यवस्थापनप्रति प्रश्न उठाउँदै केही पक्षले विरोध गरेका थिए ।

मतदान केन्द्रमा होहल्ला भएपछि केही समय प्रक्रिया रोकिएको थियो । पछि मतदान सुरु भए पनि विवाद समाधान हुन नसकेपछि निर्वाचन स्थगित गरिएको थियो ।

मतदानका क्रममा विभिन्न पक्षले मतको संख्यालाई लिएर समेत फरक–फरक दाबी गरेका थिए । क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश ‘क’ मा २७३ मत र प्रदेश ‘ख’ मा ४०२ मत गरी मतदान रोकिँदासम्म जम्मा ६७५ मत खसेको बताइएको थियो ।

यसैबीच क्षेत्रीय सभापतिका उम्मेदवार नेत्रप्रसाद पाण्डे र क्षेत्रीय सचिवका उम्मेदवार कमलचन्द्र गैह्रेले मतदान प्रक्रिया मर्यादित र निष्पक्ष नभएको दाबी गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए ।

उनीहरूले असोज १३ गतेको निर्वाचन प्रक्रिया रद्द गरी पुनः स्वच्छ तथा सबै पक्षलाई स्वीकार्य हुने गरी निर्वाचन गराउन माग गरेका थिए ।

विवादपछि निर्वाचन समितिले तत्कालका लागि मतदान स्थगित गर्दै बाँकी मतदाताको मतदान पछि गर्ने जनाएको थियो । तर पुनः मतदानको विषयमा समेत दुवै पक्षबीच सहमति जुट्न नसकेपछि केन्द्रीय निर्वाचन समितिको हस्तक्षेप भएको हो ।

केन्द्रीय निर्वाचन समितिको पत्रसँगै अब स्याङ्जा–२ मा यसअघि विवादित बनेको मतदानलाई निरन्तरता दिने नभई पुनः मतदान प्रक्रियाबाट निर्वाचन अघि बढ्ने भएको छ । यसले क्षेत्रीय तथा प्रदेश अधिवेशनअन्तर्गत बाँकी निर्वाचन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ