‘प्रधानमन्त्रीले सभापतिलाई थुने वा सभापतिले टेकओभर गरी प्रधानमन्त्री भए आश्चर्य मान्नु पर्दैन’

राजनीति

‘प्रधानमन्त्रीले सभापतिलाई थुने वा सभापतिले टेकओभर गरी प्रधानमन्त्री भए आश्चर्य मान्नु पर्दैन’

Former finance minister Barshaman Pun. Photo/Hemanta Shrestha

Former finance minister Barshaman Pun. Photo/Hemanta Shrestha

सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीचको विवाद चर्किँदै गएको विपक्षी नेकपाका सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले बताएका छन् । सरकार प्रमुख र सत्तारुढ दल प्रमुखबीचको विवादले मुलुक अस्थिरतामा जाने अवस्थामा पुगेको पनि पुनको भनाइ थियो ।

नेकपाका संगठन विभाग प्रमुख समेत रहेका पुनले पार्टीको ‘राष्ट्रिय जागरण अभियान’का क्रममा दैलेखमा आयोजित कार्यक्रममा सरकारको सम्बन्धमा उक्त दाबी गरेका हुन् । प्रधानमन्त्री शाह र सभापति लामिछानेबीचको शक्ति संघर्षले राज्यका निकाय कमजोर बनिरहेको पनि उनले बताए । ‘अहिले उनीहरूको संघर्ष एकपछि अर्को बढिराखेको छ । कुनै पनि बेला पार्टी फुट्यो भने आश्चर्य मान्नु पर्दैन, कुनै पनि बेला प्रधानमन्त्रीले सभापति रविलाई थुने भने आश्चर्य मान्नु पर्दैन, कुनै बेला प्रधानमन्त्रीलाई सभापतिले टेकओभर गरेर आफू प्रधानमन्त्री भएपनि आश्चर्य मान्नु पर्दैन । यस्ता खालका चलखेल भइरहेका छन्,’ पुनले भने ।

शाह र लामिछानेबीचको शक्ति संघर्षले एकअर्काका पक्षमा लाग्नेमाथि कारबाही भइरहेको पनि पुनको दाबी थियो । ‘अहिले देखिराख्नुभएको छ कि रास्वपामा संघर्ष छ, प्रधानमन्त्री र सभापतिबीचमा । त्यो संघर्ष कहाँ पुग्यो भन्दा अदालतमा पुगेको छ, प्रहरीमा गएर आईजीपी फेर्नेमा, मिडियामा कसलाई पकड्ने र कसलाई थुन्नेमा, दलहरूमा पनि सभापति नजिक भयो भने थुनिदिने, पक्राउ गरिदिने, तर्साउनेमा पुगेको छ । प्रधानमन्त्री नजिक भयो भने छोडिदिने भएको छ । यो निरंकुशता बढेर गइराखेको छ,’ पुनले भने ।

स्थिरताका लागि जनताले रास्वपालाई प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ मत दिएको तर दुई नेताबीचको शक्ति संघर्षले समस्या ल्याएको पुनको भनाइ थियो । ‘स्थिरताका कुरा गरेको होइन ? पाँच वर्षका लागि जनताले स्थिरताका लागि दिएको हो, किन अस्थिर बनाउन लागेको यो प्रश्न गर्नुपर्ला नि । खै स्थिरता भनेर,’ पुनले भने, ‘एउटै पार्टीको बहुमत पाएर पनि खै त स्थायित्व ? नीतिगत अस्थिरता, संरचनागत अस्थिरता, झन-झन अनिश्चयतिर देश गइरहेको छ ।’

मुलुकमा भूराजनीतिक द्वन्द्व बढ्दै गएको पनि पुनको भनाइ थियो । प्रधानमन्त्रीले आन्तरिक द्वन्द्व व्यवस्थापन गर्नका लागि मुलुकलाई झन् अस्थिरतामा लैजाने कदम चाल्ने आशंका रहेको पनि उनले बताए ।

सरकारले राज्य प्रणालीलाई कमजोर पारिरहेको पनि पुनको भनाइ थियो । सरकारका निकायले स्वेच्छाचारी ढंगले काम गरिरहने क्रम बढिरहेको उनले बताए । ‘हिजो हामी जवाफ दिने ठाउँमा थियौं, आजका नयाँ भन्नेहरू प्रश्न गर्ने ठाउँमा थिए । आज त उनीहरू जवाफ दिने ठाउँमा पुगिसके,’ पुनले भने, ‘सबै प्रणाली भत्किँदै गएका छन् अनि सिस्टमले काम गरेन, खै त सिस्टम ? अख्तियारका मान्छेलाई प्रधानमन्त्रीको सल्लाहकारले थुनेर लान्छ र फलानालाई मुद्दा लगाउ भन्छ । जबकी स्वतन्त्र निकाय हो । संवैधानिक निकाय हो, जहाँ कार्यकारी प्रधानमन्त्रीलाई पनि आवश्यक पर्दा पक्राउ गरेर छानबिन गर्ने अख्तियार हो । अख्तियारलाई प्रधानमन्त्री पनि होइन पीएले ल्याएर फलानो-फलानोलाई थुन भन्छ अनि कहाँ रह्यो ?’

संवैधानिक अंग र प्रहरी प्रशासनमाथि कार्यकारीको हस्तक्षेप हुने गरेको पुनले बताए । प्रहरी प्रशासनले स्वतन्त्र रूपमा आफ्नो काम गर्न नसकेको पनि उनको भनाइ छ ।

पुनले वामपन्थीहरूबीच सहकार्य र ध्रुवीकरण गर्ने र संविधान मान्नेहरूका बीचको सहकार्य आवश्यक रहेको बताए । एमालेसँग नेकपाले सहकार्य गर्नुपर्ने पनि उनको भनाइ थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ