गोरखा । गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व धुमधामका साथ मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा गए राति नेवार समुदायलगायत स्थानीयवासीले सामूहिकरूपमा लोपोन्मुख मकै सुकाउने पर्व मनाएका हुन् ।
ठूलो आँगनमा ठूलो प्लास्टिक ओछ्याएर त्यहीँमाथि भुटेको मकै, बदाम, भटमास, चना, केराउनलगायतका खाद्यान्न चन्द्रमाको प्रकाशमा सुकाएर पर्व मनाइएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । मकै सुकाउने पर्व मनाउनका लागि स्थानीयवासीले आ–आफ्नो घरबाट आफूखुसी मकैसहितका गेडागुडीलगायतका अन्नबाली ठूलो आँगनमा सुकाउन लगेका थिए । सुकाएको खानेकुरालाई प्रसादका रूपमा बाँडेर खाने प्रचलन छ ।
करिब ४० वर्ष जति मनाउन छाडिएको यो पर्व गत वर्षदेखि परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ सामूहिकरूपमा मनाउन थालिएको नेवार समुदायका अगुवा मोहनलाल श्रेष्ठले बताए ।
कार्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायत गेडागुडी, फलफूल, सखरखण्डका साथै अन्य खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ मकै सुकाउने पर्व मनाउने गरिएको उनको भनाइ छ । शुक्ल पूर्णिमाका दिन चन्द्रमाको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने विश्वाससमेत रहेको अगुवा श्रेष्ठले बताए ।
परम्परागतरूपमा नेवार समुदायले घर–घरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिकरूपमा मनाउन थालिएको उनले जानकारी दिए । उनले परम्परा र संस्कतिलाई पुस्ता हस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको केही वर्षदेखि पुनः मनाउन थालिएको जानकारी दिए ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु