सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउँछन् । आठ वर्षअघि ट्याक्सी चलाउन थालेका उनले बिरामीलाई निःशुल्क सेवा दिएर पुण्यार्जन गरिरहेका छन् ।
गलकोट नगरपालिका–१० पाण्डवखानीका उनले गलकोट नगर अस्पतालसम्म ट्याक्सीमा निःशुल्क बिरामी बोक्न थालेको सोमबार वर्ष दिन पुग्यो । सो अवसरमा उनलाई गलकोट नगरपालिका र अस्पताल व्यवस्थापन समितिले सम्मान पनि गर्यो । मगरले हरेक सोमबार गलकोट–३ हटियाबजारबाट गलकोट–५ हरिचौरस्थित नगर अस्पतालसम्म बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिँदै आएका छन् ।
करिब चार किमी दूरीको उक्त सडकखण्डमा एक दिन भए पनि निःशुल्क यात्रा गर्न पाउँदा बिरामी र उनीहरूका आफन्त खुसी छन् । भाडाको सवारीसाधनमा महँगो शुल्क तिरेर अस्पताल जानुपर्ने बाध्यता केही हदसम्म भए पनि कम भएको छ । उनले हरेक सोमबार बिहान ९ देखि दिउसो ४ बजेसम्म निःशुल्क ट्याक्सी सेवा सञ्चालन गर्दै आएका छन् ।
“नगर अस्पताल जाने बरामी, उनीहरूका सहयोगी र भेट्न जाने आफन्तलाई निःशुल्क सेवा दिने गरेको छु”, उनले भने, “सरकारी अस्पतालप्रति सर्वसाधारणको आकर्षण र विश्वास बढोस् भनेर मैले साताको एक दिन ट्याक्सी सेवालाई निःशुल्क बनाउने निर्णय गरेको हुँ ।”
गत एक वर्षमा झण्डै चार हजार बिरामी र उनीहरूका आफन्तलाई निःशुल्क सेवा प्रदान गरेको मगरले बताए । “कोहीले धेरैपटक सेवा लिनुभएको हुनुसक्छ, अस्पताल ल्याउने र लैजाने गर्दा सङ्ख्यात्मक रूपमा झण्डै चार हजारलाई निःशुल्क सेवा दिएको मेरो आकलन छ”, मगरले भने, “यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन्छु ।”
साताको छ दिन कमाइ गर्ने र एक दिन सेवामा समर्पित हुने सोचअनुसार बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिइरहेको मगरले बताए । उनी आफैँ ट्याक्सी व्यवसायी र चालक हुन् । उनले एकैदिनमा कम्तीमा ४० देखि ८० जनासम्मलाई निःशुल्क सेवा दिएको बताए ।
गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले मानवीय सेवाप्रति मगरले देखाएको सर्मपण भाव प्रशंसनीय रहेको बताए । “उहाँको सेवाबाट सर्वसाधारण बिरामीलाई राहत मिलेको छ, उहाँको योगदान कदरयोग्य छ”, प्रमुख गैरेले भने, “सडक स्तरीय बनाउने काम भइरहेकाले अस्पतालसम्मको आउजाउ अझै सहज हुन्छ ।” स्वास्थ्यचौकीलाई नगर अस्पतालका रूपमा स्तरोन्नति गरेपछि सेवाको गुणस्तर थपिएको र अस्पतालप्रति जनविश्वास पनि बढेको उनले बताए ।
यसअघि नगरपालिकाले स्थापना दिवसमा समाजसेवीका रूपमा मगरलाई सम्मान गरेको थियो । नेपाल मगर सङ्घ गलकोट नगर समितिद्वारा पनि उनी सम्मानित भइसकेका छन् । सम्मान र हौसलाले सामाजिक सेवाप्रति थप क्रियाशील हुने उनी बताउँछन् ।
सम्बन्धित खबर
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
सरकार असफल भएको कांग्रेसको दाबी, भन्यो – ‘जनविश्वासको संकटमा घेरिएको सरकार विषयान्तर गर्न माहिर छ’
‘सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू’: शंकर पोखरेल
कांग्रेस पूर्वसभापति देउवा दम्पति साउन २३ गते फर्किने
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण