पोखरा । पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले गरे ।
पोखरा महानगरपालिका ३ स्थित नदीपुर खेलमैदानमा भएको उद्घाटन खेलमा जनकल्याण पोखरा–११ ले विजयी सुरुवात गरेको छ ।
जनकल्याण पोखरा–११ ले माछापुच्छ्रे गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित गर्याे ।
जनकल्याणले पहिलो सेट २५–१५ ले जिते पनि दोस्रो सेट १७–२५ ले गुमाएको थियो । तेस्रो तथा निर्णायक सेटमा सुरुवाती अङ्कमा पछाडी परेको जनकल्याणले उत्कृष्ट पूनरागमन गर्दै माछापुच्छ्रेलाई २६–२४ ले पराजित गर्याे र २ अंक जोड्यो । यता पराजित बनेको माछापुच्छ्रेले १ अङ्क प्राप्त गर्याे ।
कुल ९ टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए ।
उनका अनुसार ९ टिमलाई २ समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ तर्फ माछापुच्छ्रे गाउँपालिका भलिबल संघ, जन कल्याण पोखरा–११, फ्रेन्स युथ क्लब, मादी–११ रहेका छन् । यस्तै समूह‘बी’तर्फ जिभिपि युके लण्डन, अन्नपूर्ण गाउँपालिका भलिबल संघ, माछापुच्छ्रे गुराँसे भूमि घाचोक,शान्तिदेवि युथ क्लब शिशाघाट र माछापुच्छ्रे गाउँपालिका–२ रहेको छ ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भएको क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए ।
राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिकौंः उपसभापति गुरुङ
प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिक्नपर्ने बताए ।
‘हामी राजनीतिककर्मीहरु पछिल्लो समय अनुशासनविहिन बन्न थालेका छौं । खेलाडीबाट अनुशासन सिक्न जरुरी छ, उपसभापति गुरुङले भने, ‘खेलकुदमा जसरी रेफ्रीले सिठ्ठी बजाएपछि त्यो सिठ्ठीलाई आधार मानेर अनुशासनमा रहेर खेल्छन् तर राजनीतिक खेलाडीहरु बेलगाम भएका छन् । बेलगाम भएका हामीहरुले खेलाडीबाट अनुशासन सिक्न जरुरी छ ।’
उनले वर्तमान राजनीति अनुशासनविहिन भएकै कारण फरक शिराबाट अगाडि बढिरहेको दोहोर्याए । ‘अहिलेको नेपाली राजनीति अनुशासनमा रहेको छैन । खेलाडीबाट अनुशासन सिक्न पर्छ, उनले भने, ‘वर्तमान राजनीति विडम्बना ढङ्गबाट अगाडि बढेको छ । प्रजातन्त्र भनेको लुटतन्त्र, मनपरीतन्त्र जस्तो देखिएको छ, त्यसैले राजनीतिकर्मीहरुले अनुशासन सिक्न जरुरी छ ।’
नेपाल लोकतान्त्रीक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले संघको दशौं स्थापना दिवसको अवसरमा देशको विभिन्न जिल्लाहरुमा प्रतियोगिता आयोजना गरेर स्थापना दिवस मनाइरहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवशमान प्रधानाङ्ग र नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ यस प्रतियोगिताले भलिबल र खेलाडीहरुलाई चलायमान बनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रम नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनको अध्यक्षता, कोषाध्यक्ष एवम् प्रतियोगिता संयोजक लामा अमृत गुरुङको स्वागत र सचिव प्रितम गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
सदनमा झण्डै दुई तिहाई बहुमत हुँदाहुँदै अध्यादेशको बाटोमा बालेन सरकार